पलायन हुँदै युवा वर्ग

नेपाल विश्वमै सुन्दर र प्राकृतिक सम्पदाले भरिपूर्ण मुलुक मानिन्छ । भौगोलिक, सामाजिक, सांस्कृतिक र धार्मिक रूपले विविधता र मानवीय सद्भावले उन्नत नेपाल राजनीतिक हिसाबले भने संकटपूर्ण अवस्थामा छ । राणाशासन, पञ्चायतकाल, बहुदलीय प्रजातान्त्रिक चरण र गणतन्त्र भोग्दै गरेका नेपाली जनताले सुशासन साथै स्थिर राजनीति भोग्न पाएनन् जसले गर्दा युवा वर्ग निकै निराश र हतास बन्न पुगेको छ । प्राकृतिक स्रोतको समुचित उपयोग, उद्योग कारखानाको स्थापना र मानवसंसाधनको प्रयोग हुनै पाएन । पुरानै ढर्राको कृषि प्रणाली, बेरोजगार युवाको बढ्दो संख्या र सहरी क्षेत्रको विकासलाई अस्थिर राजनीतिले झन् तहसनहस बनायो । जसले गर्दा नेपालको युवा शक्ति कामको खोजीमा बिदेसिन बाध्य भयो । अहिले सरदर दिनको एक हजारभन्दा बढी नेपाली युवा तेस्रो मुलुकतर्फ गइरहेका छन् । यो मुलुकका लागि दुर्भाग्यपूर्ण र कहाली लाग्दो अवस्था हो । आफ्नो राष्ट्र बनाउने दिमागमा सोच र पाखुरामा शक्ति भएको युवा वर्ग पलायन भएपछि मुलुकको भविष्य अन्धकार बन्न सक्छ । यसतर्फ अहिलेसम्म कसैले ध्यान दिएको पाइँदैन । यो कहाली अवस्थाप्रति सबैले सचेत भएर सोच्न जरुरी छ ।
हाम्रो अदक्ष युवा वर्गलाई विदेशमा गएर काम गर्न त्यति सहज छैन । कठोर श्रम गर्नुपर्ने बाध्यता, विरानो मुलुकको कानुन नजान्दाको कष्ट, दलालहरूको ठगाई र मालिकको प्रताडना खप्न नसकेर कतिपय युवाको विदेशमै अकाल मृत्यु भएको छ । आफ्नो भएको घर खेत बेचेर विदेश पुगेका युवा रुँदै फर्किएका घटनाहरू पनि छन् । नौ वर्षसम्म खाडी मुलुकमा काम गरेर नेपाल आउँदा एक रुपियाँ पनि बचत नभएकाहरूको वास्तविकता पनि कहालीलाग्दो छ । यी सबै कारणको जड भनेको नेपालको अस्थिर राजनीति नै हो । जबसम्म राजनीतिले स्थायित्व ग्रहण गर्दैन तबसम्म देशमा विकास हुँदैन । अन्याय, अत्याचार भ्रष्टाचार, व्यभिचार, कुशासन र अराजक अवस्थाले युवा वर्गलाई चाँडै निराश बनाउँछ । ठग र लुटाहा राजनीतिका कारण युवाले आफ्नै परिवारसँग बसेर सानो व्यवसाय गर्ने अवस्था पनि रहँदैन । अहिले हाम्रो मुलुकमा यस्तै अवस्था छ । दशवर्षे सशस्त्र युद्धको थालनीपछि अत्यधिक नेपाली युवा पलायन भए र त्यो क्रम अहिले पनि रोकिएको छैन । युद्ध रोकियो भन्न मात्र हो युद्धले लुट्न र धुत्न सिकाएकाहरूको प्रवृत्तिमाथि अंकुश लागेको छैन । केही व्यक्ति असाध्य धनी भएका छन् । गरिब झन् गरिब बनाइँदै छन् । ग्रामीण क्षेत्र रोजगारीको हिसाबले मात्र होइन अन्य हिसाबले पनि बस्न लायकको छैन ।
विभिन्न जिल्लाका ग्रामीण क्षेत्रमा विदेशबाट निराश भएर फर्किएका केही युवाले कृषि व्यवसाय अपनाएर राम्रो काम गरी रहेको पाइन्छ । तर, त्यो सीमित छ । अधिकांश युवा भने विदेशतिरै भासिदै छन् । गुल्मी, इलाम, बर्दिया, धादिङ वा नुवाकोटका एका दुई युवाले गाई,कुखुरा र बाख्रापालनबाट राम्रो आम्दानी गरिरहेका खबर पढ्दा सबैलाई खुसी लाग्छ । तर, विदेशमा रोजगारीका लागि गएर मरेकाहरूको लाससमेत ल्याउन नसकेको खबरले धेरैलाई मर्माहत बनाएको पनि बिर्सन मिल्दैन । नौ वर्षसम्म खाडीमुलुक दुबई र कतारमा बिताएका गुल्मी पुर्कोट दहका दुर्गाबहादुर थापाले त्यहाँबाट सुको पैसा ल्याउन सकेनन् । निराश भएर फर्किएका उनले अहिले राम्रै गरेका छन् । दुर्गाबहादुरजस्ता धेरै नेपाली युवा पैसा कमाउन नसकेर विदेशमै आत्महत्या गर्न बाध्य पनि भएका छन् । एक–दुई अपवाद छाडेर सबै बिदेसिएकाको अवस्था बिग्रिएको छ । त्यसैले बिदेसिन युवालाई रोकेर देशमा रोजगारीको व्यवस्था गर्न आवश्यक छ । सरकारले मुलुकको भविष्य सोचेर यसतर्फ ध्यान दिनुपर्छ ।

प्रतिक्रिया