पुलिस र फ्रेन्ड्सको खराब नतिजा जारी

काठमाडौं, २ पुस । नेपाल पुलिस क्लब र फ्रेन्ड्स क्लबको यो लिगमा खराब प्रदर्शन यथावत् रहेको छ । आइतबार भएको सातौँ चरणको खेलमा पुलिस क्लब बाँसबारी क्लबसँग गोलरहित बराबरीमा रोकियो भने फ्रेन्ड्स क्लबलाई बौद्ध फुटबल क्लबले तीन/तीन गोलको बराबरीमा रोकियो । बराबरीपछि पुलिस क्लबको आठ अंक भएको छ ।

यसैगरी, बाँसबारीको दुई तथा बौद्धको एक अंक छ भने फ्रेन्ड्सको सात अंक छ । खेल दौरान धेरै गोल अवसर सिर्जना गरेको पुलिस क्लब ७९औँ मिनेटमा नराम्ररी चुकेको थियो । वैकल्पिक खेलाडी भरत साह पर्वत पाण्डेको समन्वय नमिलेपछि पुलिस क्लब निश्चित गोलको अवसरबाट चुकेको थियो । यसैगरी, पहिलो हाफको इन्जुरी समयमा जुमानु राई त्यत्तिकै सहज अवसरबाट चुकेका थिए ।
अर्को खेलमा दुई गोलको अग्रतालाई पनि बौद्धले जोगाउन सकेन । ३२औँ मिनेटमा बुद्ध लामाको पासमा सुविन श्रेष्ठले राम्रो फिनिसिङ गर्दै बौद्धलाई पहिलो अग्रता दिलाए । ४० औँ मिनेटमा रीतेश मल्लको क्रसमा सागर थापाले गोल गरे । पहिलो हाफको इन्जुरी समयमा सुविनले नै बौद्धलाई अग्रता दिलाए । ४८औँ मिनेटमा डोडोजले नै सुविनलाई लडाएपछि प्राप्त पेनाल्टीमा कप्तान सुशन लमाले गोल गर्दै बौद्धलाई निश्चत जित तर्फ अग्रसर गराए । ६१औँ मिनेटमा विष्णु केसीले गोल गरे । ६९औँ मिनेटमा दिवस गुरुङको सट बौद्धका खेलाडीसँग ठोक्किदै गोलमा परिणत भयो ।

फुटबलको मूलधारमा दीप
धनगढीमा रहेका दीप लामा नेपाली फुटबलको मूलधारमा पहिलोपटक देखिए । रेलिगेसनमा पर्न संघर्ष गर्दै आएको बाँसबारी क्लबबाट प्रशिक्षक हरिओम श्रेष्ठ छुटेपछि दीप शनिबारदेखि प्रशिक्षक बनेका हुन् ।
सुदूरपश्चिमाञ्चलमा सम्पन्न छैटौँ राष्ट्रिय खेलकुदमा घरेलु टोलीले स्वर्ण पदक जित्दा दीप टोलीका सहायक प्रशिक्षक थिए । औपचारिक रूपमा लालबहादुर खड्का टोलीका प्रशिक्षक रहे पनि खेल नीति बनाउने, प्रशिक्षण गराउने र खेलाडीलाई मनोबल बढाउने कुरामा दीप उपयुक्त भएकै कारण स्वर्ण पदकको यात्रा सम्भव भएको सुदूरपश्चिमवासीले बताउँदै आएका थिए ।

प्रतिक्रिया