सामान्यतया अध्यागमन सुदृढीकरणका लागि आधुनिक प्रविधिको प्रयोग संसारका सबै मुलुकमा गरिएको हुन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका लागि विगत केही समयदेखि चर्चा चलेकोमा यसका लागि कसरी र कुन प्रक्रियाबाट कसलाई जिम्मा दिने भन्नेबारेमा हामीकहाँ विवाद देखिएको हो । भारतले नेपालको विमानस्थलको स्तरोन्नतिको जिम्मा लिएर आफ्नो स्वार्थ र चाहना पूर्ति गर्छ भन्दैमा विमानस्थलको स्तरोन्नति नै गर्नु हुदैन भन्ने होइन । म यसको विरोध पनि गर्दिन । तर, यसलाई कुन प्रक्रियाबाट र कसलाई जिम्मा दिने भन्ने प्रश्नको सरकारले गतिलो जवाफ दिन सक्नुपर्छ । नेपालको विमानस्थलको प्रविधि र प्रणाली राम्रो नहँुदा आतंकवादीहरूले विश्वका विभिन्न मुलुकमा आफ्ना अपराधिक कार्यहरू गर्न सक्छन् भन्ने हो । विमानस्थलमा सुरक्षा प्रवन्धका लागि आधुनिक प्रविधिको प्रयोग गरिनुपर्छ । यसका लागि विश्वमा नाम चलेका कम्पनीहरू छन् र तिनीहरूबीच प्रतिस्पर्धा गराएर टेन्डरमार्फत यसको जिम्मा दिइनुपर्छ । त्यस प्रतिस्पर्धामा भारतका कम्पनीहरू पनि पर्न सक्छन् । भारतीय कम्पनीलाई दिइनु नै हँुदैन भन्ने होइन । अरूहरूले हाम्रो विमानस्थलको अध्यागमन तथा सुरक्षाको अवस्था गतिलो छैन भनेर प्रश्न उठाए भन्दा पनि हामीले आफ्नै सुरक्षाका लागि विमानस्थलको सुदृढीकरण र स्तरोन्नति गर्नै पर्छ । त्यसका लागि सरकारले आवश्यक प्रक्रिया अपनाउनुपर्छ ।
प्रतिक्रिया