राम्रो भनिएको फ्रेम

मैले फ्रेम किनेँ । त्यसलाई आकर्षक रातो झिलमिले कागजले बेरेर म यो ओहोरदोहोरको रंगीलो भिडमा आइपुगेँ ।
यो चम्किलो भिडको वातावरण उल्लासमय छ । यो उल्लासमा हिन्दी फिल्मको ताजा गीत घन्किएको छ । विशेष पोसाक र शृंगारपटारमा लटपटिएका आइमाईहरूको आवत–जावत छ ।
यो भड्किलो आवत–जावतको भिड कमरेड शोभन शर्माकी छोरीको बिहेको हो । यस बिहेको जमघट शोभन शर्माको विशाल नवकम्पाउन्डभित्रै चल्दै छ । यो चलाउन यहाँ चारवटा सामियाना गाडिएका छन् । तिनै सामियानाभित्र पस्ने र निस्कने गरिरहेछन् सुगन्धित निम्तालुहरू । कमरेड शोभन शर्मा तिनको सत्कार र स्वागतमा व्यस्त छ ।
म पनि सामियानातिरै बढ्न खोज्दै छु । शोभन शर्माले मलाई देखिसकेको छ । तर, ऊ मेरो स्वागतमा मनेर आउन भ्याएको छैन । ऊ अन्य भव्य–निम्तालुहरूलाई स्वागत गर्न व्यस्त छ । म टाढैबाट उसको प्रशन्न मुद्राको व्यस्त गतिविधि हेर्दै छु । र, खुसी हुँदै छु । किनभने, शोभन शर्मा मैले राजनीति सुरु गर्दादेखिको मेरो साथी हो । त्यसकारण आत्मीय रूपमा उसकी छोरी मेरी पनि छोरी हो । तर, मैले उसलाई उपहार दिन दुलाहा–दुलहीको फोटो राख्ने पचहत्तर रुपियाँ परेको यो फ्रेमभन्दा बढीको उपहार किन्न सकिनँ । वास्तवमा राजनीतिले मलाई उसको अर्थात् कमरेड शोभन शर्मालाई पुर्‍याएजत्तिको आर्थिक स्थितिमा पुर्‍याएन । नत्र म पनि उसका लागि अत्यन्त महँगो र आकर्षक उपहार किन्थेँ । र, त्यो उपहार बोकेर आफ्नो पजेरो वा कार, नभए मोटरबाइक र ट्याक्सीमा भए पनि आउँथेँ । डेरादेखि यसरी लखरलखर आधा घन्टा हिँडेर आउने थिइनँ । तर, राजनीतिले मेरो घरेलु आर्थिक नीतिमा अरूलाई झैँ क्रान्ति गरिदिएन । त्यसकारण अहिलेसम्म म पार्टी मजदुरको मजदुर नै रहिरहेँ । योभन्दा माथि उठेर म पार्टीको केन्द्रीय समितिसम्म पनि पुगिनँ । सांसद् पनि बनिनँ । बनेँ त उही चप्पले कमरेड ।
तर, मसँगै राजनीतिको चोरऔँलो समाएको शोभन कमरेड मन्त्री पनि भयो । पार्टीको उपल्लो पदमा पनि पुग्यो । तिनै पदमा पुगेर कमाएको सम्पत्तिले दिएको रबाफ हो उसकी छोरीको यो बिहेको तामझाम । पहिलेको परिस्थितिमा हो भने एउटा मन्दिरमा वा दस/आठ जनाको अगाडि माला साटफेर गराएर उसले छोरीलाई प्रगतिशील बिदाइ गर्नुपथ्र्यो ।
वास्तवमा कमरेड सरितासँग उसको बिहे पनि यस्तै ढर्रामा ताली पिटेर भएको थियो । अझ त्यो ताली पिटाइ पनि भूमिगत थियो । उसको त्यो भूमिगत विवाह सुनसरीको एउटा गाउँमा रातिको चकमन्न समयमा भएको थियो । त्यसबेलाको त्यस मध्यरातको बिहेमा म पनि थिएँ । दुई केन्द्रीय कमरेड थिए । बाह्र–तेह्रजना स्थानीय कमरेड थिए । कुल पन्ध्र–सोह्र जना कमरेडको उपस्थितिमा उसले कमरेड सरिताको गर्धनमा माला हुलिदिएको थियो । र, कमरेड सरिताले पनि उसको गर्धनमा माला हुलिदिएकी थिई । यसपछि दुवै नवविवाहिता कमरेड पति–पत्नीले हात मिलाएका थिए । र, हामीले ध्वनि ननिस्कने हल्का ताली पिटेका थियौँ । त्यसपछि उनीहरूले स्थानीय किसान कमरेड भिखु चौधरीको गोठको धुस्नोमा प्रथम मधुरात्रि बिताएका थिए ।
म अहिले उसको त्यो बिहे सम्झँदै उसकी छोरीको लाखौँ रुपियाँ खर्चिएको यस बिहेमा टोलाउँदै छ ।
उसको त्यस बिहेमा प्रमुख अतिथिका रूपमा उपस्थित भएको कमरेड अहिले पार्टी प्रमुख भएको छ, जो भर्खरै आइपुग्यो । त्यसकारण शोभन शर्मा उसको स्वागत, सत्कारमा कम्मर झुकाउँदै लागेको छ । ऊसँगै पार्टी प्रमुखपछाडि थुप्रै झिँगे कमरेड भन्किएका छन् । पार्टी प्रमुखसहित ती सब झिँगे कमरेडलाई उसले सत्कारपूर्वक सामियानाभित्र लग्यो ।
म दस–बाह्र मिटर वरै उभिएर यो सब दृश्य हेर्दै छु । कुनै समय यस्तो दृश्य हेर्नुपर्ला भन्ने मेरो कल्पनामा पनि थिएन । बरु देशमा साम्यवाद आउला र सम्पूर्ण सामाजिक रूप, रीति, थिति र उत्सवहरू जनवादी र प्रगतिशील होलान् भन्ने आशा थियो । यही आशामा जीवनलाई पन्ध्र वर्षसम्म भूमिगत संघर्षमा खर्च गरियो । तर, पार्टीले चालु सत्ताप्राप्तिमा संघर्ष बिसायो । त्यसपछि हामी कार्यकर्ताले साम्यवादको सपना हेर्न होइन, नेताहरूलाई प्रधानमन्त्री र मन्त्री बनाउने दौडको चुनावी राजनीतिमा कुद्नुपर्‍यो । त्यस कुदाइको फल थुप्रैले प्राप्त गरे । तीमध्ये शोभन शर्मा मन्त्री पनि भयो । र, भूमिगत कालमा आर्थिक रूपले नंगा शोभन शर्मा करोडपतिको हैसियतमा पुग्यो ।
यस बिहेमा उसको त्यो हैसियत पूरा खुलेको छ ।
मैले भर्खरै एउटा स्थानीय आगन्तुकबाट सुनेँ– अलिहेसम्म नौ सय निम्तालु आएर, खाएर गइसके । ती आएर गएकामध्ये प्रधानमन्त्री, मन्त्री र विभिन्न पार्टीका नेताहरू प्रमुख छन् । केही भिआइपीहरूलाई त अहिले पनि म उसको सत्कार ग्रहण गरिरहेको देख्दै छु । त्यस्तै, अर्का एक उत्सुक मुखबाट सुन्दै छु, अहिले पल्लो सामियानाभित्र राजधानीको एक कन्टिनेन्टल होटेलको केटरिङको जिम्मामा भव्य भोज चलाइँदै छ ।
‘ड्रिङ्क्स पनि छ कि ?’
‘छ, स्कच, बियर सब छ ।’
यो सुनेपछि मेरो हातको लाल–कागजमा बेरिएको फ्रेम–उपहार पनि सकसकाउन थाल्यो । त्यसकारण म फूर्तिसाथ एक भिआइपीसँग सामियानाबाहिर स्वागतमा खडा शोभन शर्मातिर बढेँ । नजिक पुगेपछि म अगाडिको भिआइपीलाई उग्र स्वागत गर्दै शोभन शर्माले सामियानाभित्र हुल्यो । यसले गर्दा शोभन शर्माका लागि उठेको मेरो हात, नांगिएको दाँत र च्यातिएको ओठ जिल पर्‍यो । तर, शोभन शर्माले मलाई देख्न बाँकी नै होला भन्ने लाग्यो । त्यसकारण म सामियानाबाहिर देब्रे हातमा सकसकाएको उपहारलाई शान्त पार्दै शोभन शर्मालाई कुरिरहेँ । केहीबेरपछि निवृत्त भइसकेको अर्को भिआइपीसँग शोभन शर्मा बाहिर आयो । अनि झटपट मैले शोभन शर्मा सामुन्ने पुगेर सबै दाँत देखाउँदै नमस्कार मुद्रा प्रकट गरेँ । तर, यसपटक पनि मेरो ठडिएका हात, च्यातिएका ओठ र नांगिएका दाँत लज्जित भए । किनभने शोभनले पूर्ववत् तिनलाई देखेको नदेख्यै गर्‍यो । र, सामियानाबाट सँगै बाहिरिएको भिआइपीसँग बिदाइको सत्कारपूर्ण कुरा गर्न थाल्यो । यसपछि फेरि मैले शोभन शर्माको ध्यान आफूतिर तान्ने कोसिसमा ओठ च्यातेँ, दाँत देखाएँ र मिलाउन हात अगाडि बढाएँ । तर, यसपटक पनि शोभन शर्माले मेरो हात, नाक, दाँत केही पनि देखेन । वरिष्ठ आगन्तुक देख्न उसले दृष्टि अन्यत्रै फालिरह्यो । अनि मैले अपमानित आºना ओठ, दाँत र हातलाई थुपथुपाएँ । र, भिडको कुनै पनि अनुहार नहेरी उत्सवमहलबाट फटाफट सडकतिर लागेँ ।
सडकमा मैले हातको फ्रेमसहित दिमागमा वर्षौंदेखि पालेको जीवनलाई राख्ने राम्रो भनिएको फ्रेम पूर्ण क्रोधसाथ हुर्‍याएँ ।
अब म फ्रेममुक्त हलुँगो हिँड्दै छु ।

प्रतिक्रिया