सानै छँदा घर भव्य नै थियो । घरमा आमाले पाहुनापाछाबाहेक झन्डै २५ जनालाई बिहान बेलुकै खाना बनाएर खुवाउनुहुन्थ्यो । भाँडाकँुडा धोइपखाली हजुरआमा, श्रीमान् र छोराछोरीका पनि गोडामा तेल लगाइदिएपछि केही बेर ढिकीजाँतो गरेर बल्ल सुत्नुहुन्थ्यो आमा । अलि बढेपछि थाहा पाएँ– नपुग्दो त केही थिएन । घरमा गाइभैँसीको संख्या झन्डै ४० थिए । बगानमा ३०/३२ वटा बेग्लाबेग्लै जातका आँप, कटहर, लिच्ची, सुपारी, नरिवल आदिका रुख थिए । झिँगटी र टायलको छानावाल घर, बेग्लै भान्साघर र ग्वाली बेग्लै हुनु चानचुने कुरै थिएन । म माथिका तीन दाजुहरू ०२८ सालको टाउको काट्ने आन्दोलनतिर लागेर पढाइ पूरा गर्न पाउनुभएन । स्कुलबाट निकालिनुभयो । हामी अलि ठूला भएपछि नै बहुदल/निर्दलका कुरा बुझिहाल्याँै । अलि रिस उठ्यो भने पल्ला गाउँकाहरूले हामीलाई गाली गर्ने शब्द नै ‘बहुदले’ भन्ने थियो । घरदेखि २ किलोमिटर पूर्व टाढा एउटा जंगल थियो । जंगल सुरु हुने ठाउँमा देउनियाँ नदी थियो । नदीतिर जंगल क्षेत्रभित्र एकजना विश्वकर्मा दाइको झुप्रो घर थियो । उहाँ हाम्रो गाउँभरिका भुत्ते हतियार अर्जाप्ने र नयाँ बनाउने गर्नुहुन्थ्यो । दाजुहरू जो कम्युनिस्ट आन्दोलनमा लागेर स्कुल पढ्न र पूर्णभूमिगत भएर राजनीतिमा पनि लाग्न पाउनुभएन, उहाँहरू जंगलमा दाउरा लिन वा गाईभँैसी चराउन जाँदा ती विश्वकर्मा दाइकहाँ नपसी आउनुहुन्नथ्यो । त्यहाँ लगेर केही चिज लुकाउन दिनुहुन्थ्यो । त्यही चिज फेरि अर्को दिन जंगलमा गाई चराउन जाँदा खुसुक्क लिएर जानुहुन्थ्यो । ती त पुस्तकहरू पो रहेछन् । ती पुस्तक घरमा देखी–देखी पढ्यो भने प्रहरीले छापा मार्ला भनेर त्यहाँ लगेर लुकाएर उहाँहरू पढ्नु हुँदोरहेछ ।
अलि ठूलो भएपछि त ‘झिसमिसे,’ ‘संकल्प,’ ‘सुस्केरा,’ ‘दियालो’ आफूले पनि त्यही घरमा लुकाएर राख्दै फेरि अर्को बिदाको दिन जंगलतिर जाँदै पढेर आउन थालियो । अहिले सम्झन्छु, लुकाई–लुकाई हातले लेखेर पूरै सारिएका पूराना कपीका पानामा ‘देवासुर संग्राम,’ ‘पचास रुपियाँको तमसुक’ र ‘खुइते कडरिया’हरू पढेको त्यो समय ।
हामी मूलघरबाट छुट्टियौँ । हजुरबुबा–हजुरआमाबाट अर्कै घर बनाएर सर्न आमाले चाहनुभएको थिएन । सासूससुरासँगै बस्छु भनिरहनुभएको थियो । फकाएरै आमालाई नयाँ घरमा पठाइयो । बुबा आमासँग लामो समयसम्म बस्नुभएन । सानीआमा बुबाको जीवनमा आएपछि हामीले आफ्ना लागि विद्यालय शुल्क जुटाउन पनि हम्मे पर्न थाल्यो । आमाले हाम्रो विद्यालय शुल्क तिर्न टाढाटाढाबाट काँचा केराका घरी बाँकी किनेर त्यसलाई गुम्स्याएर पाकेपछि बेचेर निस्किएको नाफाले हाम्रो स्कुल फि तिर्नुहुन्थ्यो, त कहिले दूध किनेर दही बनाई बेचेको नाफाबाट । त्यत्रो ठूलो परिवार संख्याबाट ३ छोरा, १ छोरी र आमामा सीमित भयौँ हामी । बुबाको अत्तोपत्तो नभएको त्यो समय आमालाई हाम्रा लागि स्कुलकै किताब किन्न पनि समस्या हुन थाल्यो । बाहिरका किताब पढ्न अति मन हुन्थ्यो । विद्यालय समयपछि चन्द्रगढी झापाका प्रसिद्ध पुस्तक बिक्रेता सिक्किमे बाकहाँ पुगेर एक छेउमा खुसुक्क छिर्दै केही पढेर बस्थेँ । बूढाले मलाई याद गरिरहेका रहेछन् । एकदिन एउटा पत्रिकाको एक लाइन देखाएर सोधे– ‘यहाँ के लेखेको छ भन् त ।’ म अवाक् भएँ । त्यहाँ लेखिएको थियो ‘पत्रिका मागेर होइन किनेर पढाँै ।’ मैले पढिरहेको पत्रिका भने ‘दियालो’ थियो । त्यो पत्रिकामा भने लेखिएको थियो ‘पत्रिका आफू मात्र नपढौँ, आफूले पढिसकेपछि अरूलाई पढ्न दिआँै, पढ्न नजान्नेलाई पढेर सुनाऔँ’ । मैले पनि ‘यहाँ त यस्तो लेखिएको छ नि’ भनेँ । उनी मुसुमुसु हाँसे । म पढिरहेको थिएँ । त्यो जनपक्षीय साहित्यिक प्रकाशन थियो । उनी पनि त्यस्ता पुस्तकका प्रवद्र्धक भएकाले कैयाँैपटक पक्राउ पनि परिसकेका थिए ।
फुपूका छोरा दाजु तारानिधि भुर्तेल, ज्योतिलाल वन, डा. सरोज धिताल, सिपी मैनाली, हेमबहादुर विष्ट भूमिगत हुनुहुन्थ्यो । सिपी मैनालीहरूले बुबालाई मामा भन्नुहुन्थ्यो । दाजु तारानिधि भूमिगत अवस्थामै हामीकहाँ आइपुग्दा ‘बालकोसेली’ पत्रिका ल्याइदिनुहुन्थ्यो । त्यसमा स्केच र कार्टुनहरू मिलन शाक्यका हुन्थे । त्यहाँका रचनाहरू अझै याद आउँछन् – स्कुलका हामी साना बालबालिका, आज मीठो वनभोज खान हिँडेका । स्कुलका घन्टीहरू आज बज्दैनन् तर हाम्रा पालेदाइ हामीसँगै छन् । आज हामी चुलोचम्को आफैँ मिलाउने , मिलिजुली खाने एउटै भान्सा बनाउने । दाजुले बुझाउनुहुन्थ्यो– सबै मिलीजुली खाने एउटै भान्सा बनाउने भनेको सबैको साझा दिन ल्याउने, पञ्चायत हटाउने भनेको हो । आज स्कुलका घन्टीहरू बज्दैनन् भनेको अब तिम्रो कानुन चल्दैन हामी आफैँ चुलोचम्को मिलाएजस्तै आफैँ नियमकानुन बनाउँछाँै आदिआदि । पत्रिका पुस्तकहरू किनेर पनि पढ्नैपर्ने रस त बस्यो तर पैसा थिएन † उपाय निस्कियो– जंगलक्षेत्र र चौर खनेर सरकारले नयाँ वन लगाउने भयो । नयाँ बिरुवा रोप्नका लागि चौरमा एउटा खाल्डो खनेको ५० पैसा पारिश्रमिक दिइन्थ्यो । त्यसरी खाल्डो खनेर केही पैसा जम्मा गरियो । अरूका धान काट्ने, गाउँबाट काँचा केराका घरी बोकेर ल्याउने काम पनि छँदै थियो । त्यसैबाट नियमित पत्रिका र पुस्तक किन्न थालियो । नयाँ पुस्तक र पत्रिकाको अंक बजारमा कहिले आउला भनेर कुर्ने लत नै बसिसकेको थियो त्यतिबेलासम्म ।
हामी ससाना छोराछोरी अँगेनाको डिलमा बसेर साँझमा आगो तापिरहन्थ्याँै । आमा आँगनका पल्ला छेउमा भाँडा धुनुहुन्थ्यो । सायद घरमा ठूलो मान्छे कोही नभएकाले आमालाई डर लाग्थ्यो र हामीलाई आगो ताप्दै र पढ्दै आफूलाई पर्खन भन्नुहुन्थ्यो । आमाको अरू काम सकिएपछि उहाँलाई कुनै न कुनै किताबका कथा, कविता निबन्ध पढेर सुनाउनुपथ्र्यो । सुनेका सिर्जनाबारे उहाँ हामीसँग छलफल गर्नुहुन्थ्यो । त्यसले हामीलाई कति धेरै ऊर्जा दिन्थ्यो ।
०४७ को संविधानको पहिलो प्रति पढ्न एकदमै व्यग्र थिएँ । काठमाडौंमा बस्ने एकजना नातेदारमार्फत लालमोहरयुक्त कानुन किताब व्यवस्था समितिले छापेको सक्कल प्रति नै संविधान पठाइदिनु भनेर मगाएँ । झापा आइपुगेर मैले संविधानको पुस्तक लिएकै दिन मलाई शारीरिक रूपमा हेप्नसक्ने मभन्दा बढी उमेरको माथिल्लो कक्षामा पढ्ने एकजनाले लगिदियो । त्यो दिन म यति धेरै रोएको छु कि अहिले पनि चित्त दुख्छ सम्झँदा । त्यसपछि मैले उसकै रिसले सितोरियो करातेको प्रशिक्षण लिएँ । तर, उनीमाथि प्रयोग भने कहिल्यै गरिनँ । हिजोआज पनि उनी पुतलिसडकतिर एउटा झोला बोकेर पत्रकारिताजस्तो पवित्र पेसालाई भजाउँदै हिँडिरहेका भेटिन्छन् । मैले संविधानको त्यो प्रतिफेरि कहिल्यै फिर्ता पाइनँ । फेरि अर्कैप्रति मगाएँ ।
सावाँ अक्षर सकेर जब वाक्यहरू पढ्न सक्ने भएँ अनि विद्यालय जान/आउन र बजार घुम्न अरू बेलाभन्दा दुई गुणा समय खर्च हुन थाल्यो किनकि म बाटोमा भएका साइनबोर्डहरू र होर्डिङ बोर्ड सबै सम्भव भएसम्म पढिसकेर मात्र हिँड्थेँ । अरू साथीहरू छुटिसकेका हुन्थे ।
विद्यालयमा पहिलोपटक हेडसर डिल्लीराम भट्टराईले सानो पुस्तकालय सुरु गराउनुभयो । मेरो पहिलो पुस्तकालय प्रयोग नै त्यही थियो ०४१ सालमा । पुस्तकालयबाट लिएर पढेको पहिलो पुस्तक थियो, घटराज भट्टराईको झपट पुराण ।
गाउँघरमा वर्षेनी स्वस्थानी व्रतकथाको सांगेका रात जाग्राम बसेका युवायुवती पक्राउ पर्थे, व्यवस्थाविरोधी गीत गाएको आरोपमा । छापा मारेर प्रहरीले मान्छेसहित पुस्तक लैजान्थ्यो । त्यसपछि हामीले एउटा काठको बाकसमा धेरै पुस्तकहरू हाल्यौँ । त्यसलाई फेरि अर्को फलामको बाकसमा राख्यौँ र अगेनामुनि खाल्डो खनेर पुरिदियौँ । प्रहरीले शंका गर्ने कुरै थिएन । पञ्चायती व्यवस्था ढलेपछि हाम्रो पहिलो काम नै त्यो ठाउँ खनेर पुराना किताबहरू निकालेर फेरि प्रेमपूर्वक पढ्नुभयो हाम्रा लागि । पुस्तकहरू लभगभ जस्ताको तस्तै थिए । त्यसैमा गोर्कीको ‘आमा’देखि मेरा विश्वविद्यालयसम्मका धेरै पुस्तक थिए । जनवादी पुस्तकहरू किन्न नपाएर हातले सारिएका नक्कल प्रतिहरू पनि थिए । त्यतिबेलैको कविको नाम नखुलाई ‘अज्ञात’ मात्र लेखिएको एउटा छन्द कविता मसँग अहिले पनि सुरक्षित छ । धेरै ठाउँमा पञ्चायतमा प्रहरीले पक्राउ गर्ला भनेर आफ्नो नाम नलेखिएको त्यो कविता कसको हो भनेर सोधेँ तर पत्ता लागेन । म फेरि ‘सौर्य’को यही ‘कलम’ मार्फत जानकारी गराउँछु कसैले आफ्नो कविता पुष्टि गरेमा एउटा इतिहास बच्ने छ । त्यसका केही हरफहरू थिए–
‘ठूलो हुन्डरी सुस्तसुस्त वनमा आयो असिना झर्यो,
कुहिरो डम्म भयो चट्याङ पनि गर्यो, दर्केर पानी पर्यो ।
डिम्मा छ्याल्ल र बिल्ल पट्पटी फुटे आमा र बाबु उडे,
हावाले असिना र पानी सबले तिनलाई चुट्नु चुटे ।।’
राजविराजमा अर्काको घरको काम गरेर पनि पढेँ । किताब किन्ने पैसा हुँदैनथ्यो । एउटा ठूलै पुस्तक बिक्रेता/वितरकको छोरासँग संगत भयो । म साहित्यिक कार्यक्रमहरूमा पुरस्कृत भइरहन्थेँ । उनलाई आफ्नो लागि केही मुक्तक, कविताहरू मबाट लेखाउनु रहेछ । मैले उनको कुरा आनाकानी गरेँ । उनले आफूसँग सम्भव भएको जे कुरा पनि मागेमा म दिन्छु तर मेरो लागि मुक्तकहरू लेखिदेऊ भने । उनले आफ्नी प्रेमिकाको लागि प्रेमपत्र लेख्नुपर्ने रहेछ । पढेर फिर्ता गर्ने सर्तमा मलाई उनले पुस्तकहरू दिने र मैले मुक्तकयुक्त प्रेमपत्र लेखिदिने सर्त भयो । त्यसपछि मजाले पुस्तकहरू पढ्न पाएँ । उनीहरूको विवाह भयो, मलाई फिर्ता गर्ने पुस्तकहरू प्राप्त भए ।
किताबले मेरो जीवनमा विस्फोटक विचारहरूको परीक्षण विनाकुनै तोडफोड गरिदिएको छ । म टेलिभिजनमा राम्रो कार्यक्रम आएन भने अर्को कोठामा गएर पढ्न थाल्छु किनकि मलाई शंका छैन, किताब नपढन्ेहरूबाट अनपढहरूबाट भन्दा बढी अपेक्षा गर्न सकिन्नँ ।
कतिपय पुस्तक पढ्दै जाँदा तिनले मेरा गोप्यता खोल्दै आइरहेका छन् जस्तो लाग्छ । तर, राम्रो किताबको अन्तिम पाना सकेपछि एउटा राम्रो साथी मबाट छुट्टिँदै गएको अनुभूति हुन्छ । म त अधिवक्ता पनि, मेरा लागि एउटा सानो किताब भण्डारमा यो धर्तीमा कहिल्यै परीक्षण नगरिएका कैयौँ नजिरहरू हुन्छन् ।
मान्छेहरू भन्छन्– अरूका पुस्तकबाट प्रभावित बनिन्छ । मलाई लाग्छ, प्रभाव र हस्तक्षेप जहिल्यै आमन्त्रित हुन्छन् । हाम्रो स्वीकृतिविना हामीमाथि कसैको प्रभाव र हस्तक्षेप सम्भव छैन । यो राजनीतिमा पनि लागू हुन्छ ।
बच्चामा धेरै त पाठ्यपुस्तक हेर्नेबित्तिकै निद्रा लाग्थ्यो । हिजोआज पुस्तक भेटेपछि निद्रा हराउँछ । त्यसैले पुस्तक निद्रा नलाग्ने रोग इन्सोम्नियाको कारण हो वा इन्सोम्नियाको उपचार बुझ्न गाह्रो हुन्छ ।
गैरआख्यान कृतिमा अमेरिकी टिप्पणीकार नोम चोम्स्कीको ‘फेल्ड स्टेट’ले मेरो दिमाग नराम्ररी हल्लाएको छ । चोम्स्की जो आजीवन अमेरिकी स्थापत्यकै विरोधमा रहे र जनताको आवाज बोलिरहे । अर्को गजब तथ्यहरूको नेपाली किताब वर्तमान प्रधानमन्त्री डा. बाबुरामका ससुरा धर्मरत्न यमीको ‘नेपालका कुरा’ले पनि त्यहाँदेखि यहाँसम्मको नेपालको ऐना देखाएको छ । उनी राजाका मन्त्री बन्दाताकाका उनका विचार अहिले पनि उत्तिकै सान्दर्भिक लाग्छन् ।
वास्तवमा किताब थिएनन् भने सायद म निक्कै वर्षअघि यो धर्तीबाट बिदा भइसकेको हुन्थेँ होला … ।
प्रतिक्रिया