मानवअधिकार दिवसको सार्थकता

मानवअधिकारलाई नैसर्गिक एवं मौलिक अधिकारका रूपमा विश्वभरि स्वीकार गरिनुका साथै मानवीय मूल्य र मान्यतालाई हरेक सभ्य समाजले स्वीकार गरेको छ । संयुक्त राष्ट्रसंघको साधारणसभाले १० डिसेम्बर १९४८ मा मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणा गरेको थियो । यस दिनलाई मानवअधिकार दिवसका रूपमा विश्वभरि मनाउँदै आएको छ । ‘मेरो आवाजको मूल्य’ भन्ने नाराका साथ यस ६४ औँ विश्व मानवअधिकार दिवस विश्वका अन्य मुलुकलगायत नेपालमा पनि धुमधामका साथ मनाइयो । यसलाई विश्व मानवअधिकार दिवसका रूपमा मनाउने भनी ४ डिसेम्बर १९५० को संयुक्त राष्ट्रसंघीय साधारणसभाको ३१७औँ प्लेनरी मिटिङले ४२३ (ख) को घोषणापत्रमार्फत स्विकारेको हो । घोषणामा संयुक्त राष्ट्रसंघका सबै सदस्य राष्ट्र र यसमा चासो राख्ने विश्वभरिका सबै संघसंस्था र समुदायलाई यो दिन अन्तर्राष्ट्रिय उत्सवका रूपमा मनाउन आह्वानसमेत गरेको थियो । त्यसैकारण सन् १९५० पछि हरेक वर्षको डिसेम्बर १० लाई विश्व मानवअधिकार दिवसका रूपमा विश्वभरि निरन्तर विभिन्न कार्यक्रम मनाउँदै आएको पाइन्छ । संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्र र विश्वभर छरिएर रहेका विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय संघसंस्था, समुदाय र सामाजिक समूहहरूले पनि यस दिनमा विभिन्न उत्सवका कार्यक्रम गर्दै यस विश्वव्यापी अभियानका रूपमा मनाउँदै आएका छन् ।

१० डिसेम्बर १९४८ का दिन संयुक्त राष्ट्रसंघ महासभाले जारी गरेको यो विश्वव्यापी घोषणापत्र, अधिकारहरूको एक मात्र आधिकारिक विश्व दस्तावेज हो । हुन त यो घोषणापत्र राज्यहरूका लागि कानुनी रूपमा बाध्यात्मक दस्ताबेज होइन तर यो नैतिकता र मूल्यमा आधारित महत्त्वपूर्ण दस्ताबेज हो । ३० वटा धारा रहेको यस घोषणापत्रको धारा १ ले यसको दर्शनलाई समेटेको पाइन्छ र २ ले मानवअधिकारको मौलिक सिद्धान्तलाई उल्लेख गरेको पाउँछौँ । त्यस्तै धारा ३ देखि २१ सम्म नागरिक तथा राजनीतिकअधिकार र धारा २२ देखि २७ सम्म आर्थिक, सामाजिक तथा सांस्कृतिकअधिकारको बारेमा उल्लेख गरेको पाउँछौँ भने घोषणापत्रमा उल्लेखित अधिकारको प्राप्तिका लागि व्यक्तिलाई अन्तर्राष्ट्रिय अधिकारको बारेमा उल्लेख गरेको छ । धारा २९ ले व्यक्तिको समाजप्रतिको कर्तव्यको बारेमा र धारा ३० मा यस घोषणापत्रको गलत व्याख्या गर्न नपाउने कुराको सुनिश्चितता गरेको छ । उल्लेखित घोषणापत्रमा निहित नागरिक तथा राजनीतिकअधिकार एवं आर्थिक, सामाजिक तथा सांस्कृतिकअधिकारबारे संयुक्त राष्ट्रसंघले सन् १९६६ मा २ अनुबन्धसमेत जारी गरी लागू भइसकेको छ ।
दोस्रो विश्वयुद्धमा करोडाँै मानिसको मृत्यु, अमूल्य भवनहरूको ध्वंश, सबैतिर हाहाकार, अभाव र भयले विश्व ग्रसित भयो । यसपश्चात् विचारको स्वतन्त्रता, धर्मको स्वतन्त्रता, अभावबाट मुक्ति र भयबाट मुक्तिसहित विभिन्न चार स्वतन्त्रताका कुरा उठे । यसैलाई सम्बोधन गर्दै मानवअधिकारका विश्वव्यापी घोषणाको धारा १ मा नै ‘आत्मसम्मानकासाथ मानिसको जिउने अधिकार’ प्रस्ट किटानी गरिएको छ । राष्ट्रसंघको अधिकारको बडापत्रमा गनिने आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी र नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी दुवैको प्रतिज्ञापत्रको प्रस्तावनामा हुबहु रूपमा अन्तर्निहित आत्मसम्मानलाई ध्यान दिँदै आर्थिक, सामाजिक तथा नागरिक एवं राजनीतिक अधिकार सुनिश्चित गरियो । यसै बीचमा विश्वमा ठुल्ठूला क्रान्ति र घटनासहित परिवर्तन आएको दावा गरियो । आर्थिक विकास भयो भनियो तैपनि मानिसहरूमा कुपोषण व्याप्त छ, औषधोपचार नपाउँदा अकालमा मर्नु परेको छ । भोक, रोग मान्छेको नियती बनेको छ । भय र अभावमा उनीहरू बाँच्न विवश छन् । यस्ता समस्याबाट समाजलाई मुक्त गर्न तथा न्यूनीकरण गर्ने प्रयासले सार्थकता पाउँन सकेको छैन । जसले गर्दा जनताका गाँस, बास, कपासजस्ता आवश्यकताको परिपूर्ति गर्न सकिएको छैन ।
सबैको जीवन सर्वाधिक महत्त्वपूर्ण हुन्छ । मानवजीवन यसै पनि महत्त्वपूर्ण छ । यस्तो जीवनलाई गरिमाका साथ व्यतित गराउन सकियो भने मात्र जीवन सार्थक ठहरिन्छ । तसर्थ, मानवजीवन उपभोग गर्दा गौरवको अनुभूति होस् भन्नका लागि केन्द्रमा मानव गरिमाको सम्मान स्थापित हुनै पर्छ । यसका लागि भय र अभावबाट मुक्ति हुन पाउनुपर्छ । यसरी मानवजीवन अभिशाप होइन, वरदान हो भन्ने अनुभूति गराउन सकियो र जीवनका स्वतन्त्रताहरूको उपभोग गरेर मनुष्यजीवनलाई सार्थकता प्रदान गर्न सकिए मात्र यस ६४ औँ विश्व मानवअधिकार दिवस मनाइले सार्थकता पाउनेछ । तर, गरिब र निसहाय मानिसहरू, अभाव र असुरक्षाको भयको घेरामा रहेकाहरूको आवाज कहीकतै सुनुवाइ हुन नसक्नु उनीहरूको मानवअधिकारप्रतिको उदासीन हो । सबै नागरिकको समानहित र कल्याणका लागि सारिएको कार्यक्रममा निर्णय गर्ने अधिकार र त्यसमा पारदर्शिता अभाव रहेको पाइन्छ । उनीहरू कर्ता नभएर दयाको पात्र (वस्तु) मा सीमित हुन पुग्छन् । यसो हुन नदिन आत्मसम्मानका साथ मानिसको बाँच्ने हकको सुनिश्चितता गर्नुपर्छ ।
मानवअधिकार सभ्यताको उत्कृष्ट उपहार हो । जति जति सभ्यता परिस्कृत हुँदै गएको छ, त्यति मानवअधिकारको संरक्षण र सम्बद्र्धन, उच्च प्राथमिकता बन्नु पर्ने मान्यता स्थापित हुँदै जानुपर्छ । मानव गरिमाको सम्मानका खातिर मानवअधिकारका क्षेत्रहरू पनि विस्तारित हुँदै गएका छन् । परिवर्तित विश्व परिस्थितिमा मानवअधिकार आन्दोलनको प्रभावले नयाँ धारहरूको पनि विकास हुनुपर्ने हो । भन्नलाई सबै व्यक्तिहरू जन्मजात स्वतन्त्र, सबैको समान आत्मसम्मान र अधिकार हुन्छ भनिए पनि व्यवहारमा त्यस्तो पाइँदैन । गरिब र पछाडि परेका बर्ग, समुदाय नै राज्यपक्ष वा गैरराज्यपक्षको हिंसात्मक गतिविधि वा रोग, महामारी वा प्राकृतिक प्रकोपबाट सिकार भएका छन् । उनीहरू जीवन दु:ख र कष्टका साथ बिताउन बाध्य हुन्छन् । विगतमा हाम्रो देशको मध्यपश्चिमका पहाडी जिल्लाहरूमा सामान्य झाडापखालामा औषधोपचारको पहुँच नहुँदा पाँच सयभन्दा बढी मानिसले ज्यान गुमाएको तथ्य हामीसामु ताजै छ । त्यस्तै सरसफाई र शुद्ध पिउने पानीको अभावले वर्षैपिच्छे दसाँै हजार व्यक्तिहरू झाडापखालाबाट पीडित बनिरहेका छन् । खाद्यान्नको अभावमा विद्यालय जाने बालबालिकाहरू पढाइ छाडी कामको खोजीमा बालमजदुरको रूपमा प्रयोग भएको पाइन्छ । व्यक्तिको आत्मसम्मानका लागि खान, लाउन, बस्न, शिक्षा, स्वास्थ्य, स्वस्थ वातावरण र उनीहरूको बोलीको आवाज सुनिने हुनुपर्छ । यसले मात्र ०६२/६३ को जनआन्दोलन र संविधानप्रदत्त अधिकारको उपयोग गरिएको ठहरिनेछ । र, स्वतन्त्रतापूर्वक बाँच्न पाउने, भोकमरीबाट मर्नु नपर्ने, बासको सुनिश्चितता, शिक्षा, नि:शुल्क स्वास्थ्य सेवा र सम्मानजनक रोजगारीमा राज्यलाई जवाफदेही बनाउन मद्दत पुग्नेछ । यसो हुन सकेमा हामीले हरेक वर्ष १० डिसेम्बरमा मनाउँदै आएको अन्तर्राष्ट्रिय मानवअधिकार दिवसले सार्थकता पाउन सक्छ ।

प्रतिक्रिया