जनक शिक्षाका आठ जनालाई मुद्दा

काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रका पूर्वप्रबन्ध सञ्चालक रामचन्द्र सिलवालसहित आठ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । विनाटेन्डर कागज खरिद गरेको अभियोगमा आयोगले केन्द्रका पूर्वसञ्चालक सिलवालसहित तत्कालीन प्रशासन विभाग तथा आर्थिक नियन्त्रण विभाग प्रमुख निर्देशक अर्जुनविलास पन्त, प्रशासन विभाग उपनिर्देशक मनोहर लामिछाने, विभागीय प्रमुख उद्धवप्रसाद गौतममाथि मुद्दा दायर गरेको हो ।
यसैगरी, केन्द्रकै निर्देशक कपिलदेव पोखरेल, उपनिर्देशक बालमुकुन्द खनाल, प्रबन्धक गिरिराज रजौरे र उपप्रबन्धक तिलबहादुर अधिकारीसमेत रहेका  छन् । उनीहरू सबैलाई १ करोड ७४ लाख २८ हजार ६ सय ६९ रुपियाँ बराबरको भ्रष्टाचार गरेको जिकिर गर्दै अदालतमा मुद्दा दायर गरिएको हो । सबैलाई  भ्रष्टाचार निवारण ऐनअनुसार १० वर्ष सजाय मागसमेत गरिएको छ ।
आफ्नो कार्यकालमा पूर्व प्रबन्ध–सञ्चालक सिलवालसहित ८ जनाले केन्द्रको आवश्यक कागजका लागि विनाटेन्डर कागज खरिद गरेका थिए । उनीहरूले केन्द्रलाई नोक्सान पुर्‍याएको भन्दै आयोगले अख्तियारमा मुद्दा दायर गरेको अदालतका प्रवक्ता धीरबहादुर चन्दले जानकारी दिए । आठ जनालाई  १ करोड ७४ लाख २८ हजार ६ सय ६९ रुपियाँ जरिवाना र त्यत्तिकै  बिगो भराउन माग गरिएको छ । पूर्वसञ्चालक सिलवाललाई भने सार्वजनिक संस्थाको प्रमुख भएकाले थप ३ वर्ष कैद सजाय माग गरिएको छ । (सौस)

प्रतिक्रिया