पोखराको दोस्रो जित, एपिएफ विजयी

काठमाडौं, २८ मंसिर । क्षेत्र नम्बर ८ पोखराले सानदार प्रदर्शन कायम राख्दै राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ । बुधबार भएको समूहको आफ्नो दोस्रो खेलमा पोखराले क्षेत्र नम्बर ६ बैतडीलाई २८ रनले पराजित भने सशस्त्र प्रहरी बल (एपिएफ) बाट पराजित भएपछि क्षेत्र नम्बर १ विराटनगरले लगातार दोस्रो पराजय सामना गरेको छ ।
प्रारम्भिक ब्याट्सम्यान निश्चल पाण्डेले अर्धशतकीय योगदान गरेपछि पोखराले पहिलो ब्याटिङ गर्ने क्रममा निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २ सय १ रन जोडेको थियो । पाण्डेले ७३ रन जोडे । उनीबाहेक अर्जुनराज अधिकारीले २२, दीपेश खत्रीले २६ र आकाश थापाले २१ रन जोडे । प्रारम्भिक ब्याट्सम्यानद्वय पाण्डे र अधिकारीबीच ३८ रनको साझेदारी भएको थियो । बलिङतर्फ बैतडीका यज्ञमान कुमालले चार विकेट लिए । यता बैतडीले भने ४३.२ ओभरमा सम्पूर्ण विकेट गुमाउनुअघि १ सय ७३ रन जोड््यो । पोखराका लागि प्रदीप खरेलले तीन तथा निश्चलले दुई विकेट लिए । बैतडीका लागि सन्तोष भाटले नटआउट ४२ तथा विनोद भण्डारीले ३६ रन जोडे ।
पोखराले पहिलो खेलमा क्षेत्र नम्बर १ विराटनगरलाई पराजित गरेको थियो । अलराउन्ड प्रदर्शन गरेका निश्चल म्यान अफ दि म्याच भए ।  बुधबार नै भएको अर्को खेलमा विराटनगरले अर्को फराकिलो हार बेहोर्‍यो । पहिला ब्याटिङ गरेको एपिएफले प्रारम्भिक ब्याट्सम्यानद्वय परेश लोहनी र सुभाष खकुरेलको सानदार शतकीय साझेदारीपछि निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २ सय ७० रन जोडेको थियो । लोहनीले ६५ रन जोडे भने विकेटकिपर खकुरेलले ८६ रन बनाए । त्यस्तै, शरद भेषवाकरले पनि ४३ र शक्ति गौचनले १९ रन जोडे । सुभाष र परेशबीच पहिलो विकेटका लागि २२.१ ओभरमा १ सय ४४ रनको साझेदारी भएको थियो । कमलकिशोर प्रेमीको बलमा आउट हुनुअघि ७३ बलको सामना गरेको सुभाषले ११ चौका र तीन छक्का प्रहार गरेका थिए । त्यस्तै, परेशले ७५ बल खेल्दै नौ चौका प्रहार गरे ।
विशाल लक्ष्य पछ्याएको विराटनगर ३५.३ ओभरमा १ सय ८ रनमा सीमित भयो ।  ३ खेलाडीबाट मात्र दोहोरो अंकमा योगदान पाएको विराटनगरलाई कमजोर बनाउने क्रममा एपिएफका लागि अमृत भट्टराई र वसन्त रेग्मीले समान तीन विकेट लिए भने सुनाम गौतमको नाममा पनि दुई विकेट रह्यो । विराटनगरका लागि विधान गोस्वामीले सर्वाधिक ३२ रनको योगदान गरे । उनीबाहेक दोहोरो अंक छुने खेलाडीमा मञ्जित श्रेष्ठ (१५) र मनोज मण्डल (१२) रहे । एपिएफको इनिङमा सबैभन्दा बढी योगदान गरेका सुभाष म्यान अफ दि म्याच भए ।

प्रतिक्रिया