यतिखेर मुलुकभर महिला हिंसा विरुद्धको अभियान विविध खाले जनचेतनामूलक कार्यक्रमका साथ अघि बढिरहेको छ । महिला हिंसा विरुद्धको १६ दिने अभियानको कार्यक्रम नोभेम्बर २५ देखि डिसेम्बर १० (मंसिर १०–२५) सम्म मनाइँदै छ । आजभन्दा झन्डै ६० वर्ष पहिले ल्याटिन अमेरिकाको डोमेनिकन गणराज्यका एकै परिवारका तीन दिदीबहिनी पेट्रिया, मिनर्माे र मारियालाई तत्कालीन निरंकुश तानाशाही सरकारले निर्ममतापूर्वक हत्या गरेको विरोधमा त्यहाँका जनताले नोभेम्बर २५ लाई लिंगको आधारमा महिलाविरुद्ध गरेको राजनीतिक हिंसाको विरोध गर्ने दिवसका रूपमा मनाउन थालेका हुन् । सन् १९९९ डिसेम्बर १७ मा संयुक्त राष्ट्रसंघ महासभाले नोभेम्बर २५ लाई अन्तर्राष्ट्रिय महिला हिंसाविरुद्धको दिवसका रूपमा मनाउने प्रस्ताव सर्वसम्मतिले पारित गर्यो । त्यसयता हरेक वर्ष नोभेम्बर २५ लाई विश्वभर नै महिला हिंसाविरुद्धको दिवसका रूपमा मनाउन सुरु गरिएको हो । त्यसपछि नै यस दिवसलाई नेपालमा पनि नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मलाई १६ दिने अभियानका साथ मनाउन थालिएको पाइन्छ ।
प्रत्येक वर्ष महिला हिंसाविरुद्धको दिवसलाई अधिकारकर्मी र सरकारले विभिन्न कार्यक्रमका साथ मनाउने गरेका छन् । नेपालमा १६ दिने अभियान सञ्चालन गर्ने सम्बन्धमा सरकारबाट विभिन्न प्रतिबद्धताहरू जनाइए पनि र अधिकारकर्मीले ठुल्ठूला नारा लगाए पनि महिलामाथि हुने हिंसाका घटनामा भने कमी आइरहेको छैन । महिला हिंसा अनेकौँ रूपमा हुने गर्छन् । आर्थिक, राजनीतिक, शारीरिक, मानसिक, घरेलुलगायत अनेक रूपमा महिला हिंसाका घटना दिनदिनै बढिरहेका छन् । पारिवारिक कारणबाट उत्पन्न भएका कलह, हिंसा र अपराधले असल प्रयासलाई पछाडि धकेलिरहेको छ । महिलामाथि हुने घरेलु हिंसामा दाइजोबाट असन्तुष्टी, यौनजन्य हिंसा, बोक्सीको आरोप, विदेश गएका पुरुषका पत्नीसँग परपुरुषको सम्बन्ध, जाँडरक्सीको सेवन, जुवा खेल्ने बानी, परस्त्रीगमन, बहुविवाहलगायतका कारण रहेका छन् । बढ्दो आधुनिकीकरणका कारण समाजमा व्याप्त उपभोक्तावादले बढाएको महत्त्वकांक्षा, जनचेतनासँगै बढेको मानवीय भोग र उत्तेजना, स्वतन्त्रताको नाममा उब्जिएको छाडापनले महिलामाथि हुने घरेलु हिंसा र अपराध बढाएको अवस्था देखिन्छ । समाजमा व्याप्त कुरीति, कुसंस्कार र अन्धविश्वासका कारण पनि महिलामाथि विभेद, अन्याय र अत्याचार भइरहेका छन् ।
राष्ट्रव्यापी रूपमा भएका पछिल्ला केही घटनामूलक पात्रहरूलाई हेर्यौँ भने पनि महिला हिंसाका विविध रूपलाई देख्न सक्छौँ । सशस्त्र प्रहरीका उच्च तहका एक अधिकृतले आफ्नै श्रीमतीलाई टिस्टुङको जंगलमा जलाएको घटना, बाग्लुङमा धाराको पानी छोएको कारण दलित महिलामाथि गरिएको अपमान, ताप्लेजुङमा रक्सी खाएको झोकमा आफ्नी ७० वर्षीया श्रीमतीलाई अगेनाका दाउराले हिर्काएर मारेका घटना, बोक्सीको आरोपमा चितवनकी भगेनादेवीलाई आफ्नै नातेदारले जिउँदै जलाएको र काठमाडांैमा सीता पुडासैनीको आँखा फोरेको अवस्था, बर्दियामा आफ्नै बाबुले १५ वर्षीया बालिका माथि गरेको बलात्कार, काडमाडांैमा आफ्नै प्रेमिकाको खुकुरीले घाँटी रेटेर गरेको हत्या, सिंचाइमन्त्री महेन्द्र यादवले आफ्नै सचिव बृन्दा हाडालाई कार्यालयमा गरेको अश्लील गालीगलौज यी र यस्ता सयौँ घटनाहरू छन्, जसले महिला हिंसा सबन्धी विषयवस्तुहरूलाई छर्लङ्गाएका छन् । घटनाको प्रकृतिलाई हेर्दा विश्वास गर्नै नसकिने आफ्नै परिवारभित्र यौन शोषण, बालविवाह, बहुविवाह र मृत्युजस्ता घटना पनि हाम्रो समाजमा देखिएका छन् । दाइजो, बोक्सीको आरोप, परस्त्रीगमनलगायतका
कारणले कतिपय चेलीहरू बेचिनु परेको, परिवार र श्रीमान्बाट टाढिनु परेको, हत्या र आत्महत्याको सिकार हुनु परेको अवस्था पनि विद्यमान छ । यसरी हेर्दा महिलामाथि हुने घरेलु हिंसाले नेपाली समाजमा विकराल रूप लिँदै छ ।
म्हिला हिंसाविरुद्धको दिवस मनाइरहँदा पनि महिलामाथि हुने हिंसाका घटना दोहोरिरहेका छन् । सहरदेखि गाउँसम्म सरकार र अधिकारकर्मीले जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिरहेको भए पनि महिलामाथि हुने हिंसाका घटनाहरूमा भने कमी आइरहेको अवस्था छैन । महिला हिंसाका कारण मुलुकभरका जिल्ला अदालतहरूमा सम्बन्ध विच्छेदका मुद्दाहरू प्रतिदिन बढिरहेका छन् । हुन त पुरुषमाथि महिलाहरूले गर्ने हिंसाका घटनाहरू पनि फाटफुट रूपमा सञ्चार माध्यममा आउन थालेका छन् । आफ्नो प्रेम सम्बन्धलाई अस्वीकार गरेको र घडेरी नदिएको भन्दै दैलेखकी किशोरी निरु शाहीले आफ्नै बाबुको हत्या गरेको घटना र काठमाडांैको डिल्लीबजारस्थित कन्या क्याम्पसमा प्राध्यापन गर्ने गुरु शंकर ज्ञवालीमाथि उनकी श्रीमतीले दिएको यातना पनि सार्वजनिक भएका छन् । यसले नेपालमा घरेलु हिंसा दोहोरो रूपमा देखा पर्न थालेको संकेत गर्नुका साथै मान्छेमा उत्पन्न हुने अपराधको क्रूरतालाई पनि दर्शाउँछ । हाम्रो समाज पितृसत्तात्मक भएकाले पनि पुरुषभन्दा महिलामाथि हुने हिंसाका घटना बढी नै पाइएका छन् र सञ्चारमाध्यमले पनि तिनैलाई महत्त्व दिइरहेका हुन् ।
यी र यस्ता समस्या समाधान गर्न लैंगिक समानता विरुद्धका नकरात्मक सोच र विचारबाट नेपाली समाजलाई मुक्त गराउन सक्नुपर्दछ । त्यसका लागि घटना प्रवृतिअनुसारको समस्याको समाधान पनि त्यत्तिकै आवश्यक छ । हरेक घटनाका पछाडि हुने घृणित र निन्दनीय कार्यलाई पारिवारिक विषय मात्रै नबनाई सामाजिक मुद्दाका रूपमा उठान गर्नुपर्दछ । यसका लागि प्रत्येक वर्ष महिला हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गरेर मात्रै पूरा हुँदैन । यसको मूल कसीमा उभिनु पर्छ । अभियान सञ्चालन गरिरहँदा पति पत्नीबीचको अविश्वास र आचरणगत विवाद समाधानका विषयवस्तुलाई पनि अगाडि लैजान सक्नु पर्दछ । सम्पत्तिमाथिको भोगादीकारको विषयलाई पनि अधिकारसँगै जोडेर लैजानु पर्दछ । व्यक्ति–व्यक्तिमा हुने वैमनस्यलाई कसरी कम गर्न सकिन्छ भनेर उपाय खोजिनु पर्छ र त्यसलाई पनि अभियानको एक अंगको रूपमा लैजानु पर्छ । मूल रूपमा महिला हिंसा सम्बन्धी विषयलाई राष्ट्रिय मुद्दामा बहसको रूपमा अगाडि बढाई सरकारका प्रतिबद्धता र अधिकारकर्मीका नारालाई पूरा गर्ने दिशामा डोर्याउन सक्नुपर्छ, अनि मात्र हरेक वर्ष मनाइने महिला हिंसाविरुद्धको १६ दिने अभियानले सही र साँचो अर्थमा सार्थकता प्राप्त गर्ने सक्नेछ ।
प्रतिक्रिया