‘पालिएका कुकुर
झ्यालबाट गल्लीका कुकुरहरूलाई हेरेर भुकेझँै हामी भुक्दछौँ
र आफ्नो कुकुर भुकाइलाई गर्जन भन्ठान्छौँ
अनि अन्त्यमा एकदिन बर्सेर चकनाचुर हुन्छौँ
र फेरि परिणत हुन्छौँ पानीका थोपाहरूमा
निर्बलिया थोपाहरूमा’
भूपि शेरचनद्वारा लिखित ‘हामी’ शीर्षक कविताबाट उद्धृत यी हरफहरूले बाह्य शक्तिको आड लिएर घरेलु राजनीतिमा हाबी हुन खोज्ने परमुखापेक्षी नेपाली राजनीतिको सटीक चित्रण गर्छ । नेपाली राजनीतिमा वैदेशिक हस्तक्षेप वा प्रभाव नौलो विषय रहेन । हाम्रा दिग्गज नेतृत्वकर्ताहरूका गतिविधि र यस्ता विषयमा सर्वसाधारणले अभिव्यक्त गर्ने प्रतिक्रिया हेर्दा लाग्छ हामीले आन्तरिक राजनीतिमा बाह्य हस्तक्षेलाई आमस्वीकृति प्रदान गरिसकेका छौँ । हस्तक्षेप यति नांगो रूपमा आइसकेको छ कि विदेशीहरू हाम्रो देशमै आएर सार्वजनिक रूपमा हाम्रा महत्त्वपूर्ण राजनीतिक निर्णयहरूको स्वामित्व लिनुका साथै हामीले गर्न हुने नहुने कामका सीमा तोक्न थालिसकेका छन् । तैपनि हामी मौन छौँ । विदेशी धापमा नेपाली जनतामाथि शासन गर्ने मनोकांक्षा पालेका नेताहरू छिमेकी मुलुकका दुतको गुरुमन्त्र थाप्न लस्कर लागेको दृष्य राष्ट्रिय लज्जाको विषय बनेको छ ।
राष्ट्रपतिले सहमतीय सरकार गठनका लागि आह्वान गरेलगत्तै भारतीय संस्थापनको सन्देश सुनाउन कांग्रेस आईका वरिष्ठ नेता करण सिंहको नेपाल आगमन भयो । दृश्य यस्तो थियो– छिमेकी देशका राष्ट्राध्यक्षले नेपालको औपचारिक राजकीय भ्रमण गरे भैँm उनले आयोजना गरेको कार्यक्रममा हाम्रा पूर्व प्रधानमन्त्रीहरूदेखि बहालवाला प्रधानसेनापतिसम्म हाजिरी बजाउन उपस्थित भए । उनको दुईदिने भ्रमण समाप्तिसँगै नेपालको राजनीतिक परिदृष्यमा नाटकीय परिवर्तन आयो । ‘आफूले दिएको राजीनामा राष्ट्रपतिले अस्वीकृत गरेको र अहिले पनि राजीनामापत्र खल्तीमा बोकेर हिँेडेको’ भन्ने प्रधानमन्त्री भट्टराईको नम्र स्वर एकाएक गर्जनमा रूपान्तरित भयो । उता कमरेड प्रचण्डलाई अकस्मात ‘वर्तमान प्रधानमन्त्री भट्टराईकै नेतृत्वमा सहमतीय सरकार बन्ने वातावरण निर्माण हुँदै गइरहेको’ दिव्य ज्ञान पलायो । कारण भ्रमणको दुईदिनभित्र नेपालको राजनीतिक वस्तुस्थितिमा के त्यस्तो तात्विक भिन्नता आयो जसका कारण प्रतिपक्षीहरूले विगत ६ महिनादेखि राजनीतिक गतिरोधको प्रमुख कारक मानिआएका भट्टराईको पक्षमा माहौल बन्दै गएको महसुस गरे उनले । मौसम परिवर्तनसँगै बढ्दो चिसोले पो उनलाई त्यस्तो महसुस गरायो कि त † मधेसी मोर्चा सम्बद्ध नेताहरूको बदलिएको स्वरका विषयमा चर्चा गरिरहनु आवश्यक भएन । तर, सिंह फर्किए लगत्तै राष्ट्रपति डा. रामवरण यादवले ‘यही सरकारमै सहमति भए सुनमा सुगन्ध हुने’ अभिव्यक्ति दिएपछि सहमतिको आशामा रहेका विपक्षीहरू पनि जिल खाए । तमाम राजनीतिक बेथितिबीच पनि राष्ट्रहित र राष्ट्रियताका पक्षमा काम गर्न सक्ने संस्थाका रूपमा सर्वसाधारणले आसपूर्ण नजरले हेरिरहेका राष्ट्रपतिले यो अभिव्यक्ति नदिएको भए पनि हुन्थ्यो । यदि, बोल्नु आवश्यकै भए पनि त्यसको तीन दिनअघि वा चार दिनपछि बोलिदिएको भए पनि त हुने थियो ।
पछिल्लो समय राष्ट्रिय सहमतिको सरकारको नेतृत्वका लागि अग्रसरता लिइरहेका कांग्रेस सभापति सुशील कोइरालाका सन्दर्भमा विरगन्जस्थित भारतीय महावाणिज्य दुतावासका कन्सुलर एसडी मेहताको अभिव्यक्ति विरुद्ध कडा प्रतिक्रिया दिएका कारण भारतसँग चिसिएको सम्बन्ध सुधार गर्न शेखर काइरालालगायत केही कांग्रेस नेता दिल्लीमा प्रयत्नशील रहे पनि अपेक्षित सफलता हाँसिल नहुँदा कोइराला हच्किएको विश्लेषण नेपाली छापामा पढ्न पाइयो । न्यूनतम कुटनीतिक मर्यादालाई लत्याएर छिमेकप्रति हेपाहा भारतीय नीतिको पराकाष्ठा प्रस्तुत गर्दै मेहताले संघीयताको सन्दर्भमा ‘मधेस टुक्रा भएको देख्दा आफ्नो कलेजो पनि टुक्रा भएको’ अभिव्यक्ति दिँदै विभिन्न दल आबद्ध मधेसी मुलका नेताहरूलाई त्यसविरुद्ध आन्दोलन चर्काउन आदेश दिए । मेहताको यो भनाइ नेपाली राष्ट्रियता र सार्वभौमसत्तामाथि निर्मम प्रहार थियो । के कुनै विदेशी कुटनीतिक प्रतिनिधिले भारतविरुद्ध सोही प्रकृतिको अभिव्यक्ति दिएको भए भारतभित्र क्षम्य हुने थियो ? राष्ट्रियताप्रति थोरै पनि संवेदनशीलता भएको सरकार हुन्थ्यो भने स्पष्टिकरणको मौका समेत नदिई २४ घण्टाभित्र ‘पर्सोना नन् ग्राटा’ घोषित गर्दै देशनिकाला गर्नुपर्ने मेहताविरुद्ध ‘कडा टिप्पणी’ सार्वजनिक गरेवापत ‘रिसाएको भारत’ रिझाउन नेपाली नेताहरू दिल्ली धाउनुपर्ने परिस्थतिले कुन नेपालीको शिर ननिहुर्याउला ? मेहताको भनाइबाट असन्तुष्ट नेपाललाई मनाउन भारतीय कुटनीतिक पहल हुनुपर्नेमा उल्टो नेपालीहरू नै गिडगिडाउँदै हिँड्नु पर्ने जस्तो टिठलाग्दो परिदृश्य समकालीन विश्व राजनीतिमा शायदै अन्त कतै देख्न पाइएला † पीडितले पीडकसँग याचना गर्नुपर्ने मत्स्य न्यायको मौन स्वीकृति देख्दा हामी जोकोहीलाई पनि ग्लानि भएर आउँछ ।
आत्मविश्वास गुमाएको नेपाली नेतृत्वको विदेशी रिझाएर नेपाली जनतामाथि शासन गर्ने मनोदशालाई पशुपतिनाथ पूजारी प्रकरणले स्पष्ट पार्छ । तत्कालीन प्रचण्ड नेतृत्वको सरकारले भारतीय भट्टलाई बर्खास्त गर्दा आफ्नो धार्मिक आस्थामा हस्तक्षेप भएको भन्दै विरोधमा उत्रिएका सर्वसाधारण नेपालीमाथि वाइसिएल प्रयोग गरी तह लगाउने प्रयत्न गरियो । पूजारी प्रकरणको विरोधस्वरूप समाजवादी पार्टीका नेताद्वय मुलायम सिंह यादव र अमरसिंहसँगै नेपाल आउने भनिएका भारतीय नायक अमिताभ बच्चन र उद्योगपति अनिल अम्बानीको भ्रमण कार्यक्रम स्थगित गराइयो । काठमाडौंमा पत्रकार सम्मेलनमार्फत अमरसिंहको अमरवाणी गुञ्जनासाथ भारतीय पूजारी पुन:बहाल हुनपुगे । आफ्ना नागरिकको खप्पर फोर्न उद्यत हुनेहरू विदेशी हुँकार थेग्न नसकी निरीह सावित हुन पुगे । विदेशी शक्तिको आड नलिई सरकार बनाउन सकिन्न र केही समय सत्ता बाहिर रहनु पर्दा राजनीतिक जीवन नै समाप्त हुन्छ भन्ने हीन मनोग्रन्थीले ग्रस्त भई आफ्नो राष्ट्रिय स्वार्थको बेवास्ता गर्दै बाह्य शक्तिकेन्द्र सामु लम्पसार पर्ने प्रवृत्ति पछिल्लो समय असह्य रूपमा बढिरहेछ ।
राष्ट्रपति, प्रधानमन्त्री, दलहरूका शीर्ष नेतृत्व र राज्यसंयन्त्रका महत्त्वपूर्ण व्यक्तिहरू कुटनीतिक मान्यता विपरीत विदेशीको इशारामा चलेको भन्दै राजनीतिप्रति नै वितृष्णा उत्पन्न भएको भन्ने उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको भनाइ सार्वजनिक भएपछि नेपाली राजनीतिमा बाह्य प्रभावको विषय फेरि बहसमा आएको छ । त्यति भनिसकेपछि मन्त्रिपरिषद्मा बसिरहन मिल्छ कि मिल्दैन भन्ने नैतिकताको प्रश्नलाई एकछिन थाति राखौँ । संविधान नबनाई संविधानसभा विघटन हुनासाथ राजीनामा दिनुपर्नेमा आफूले घोषणा गरेको चुनाव गराउन नसक्दा पनि यही सरकारको निरन्तरताको वकालत भइरहेको देशमा उनिमाथी मात्र नैतिकताको तरवार तेर्र्याउनु उचित नहोला । गत जेठ १४ गते राति संचारकर्मीका क्यामेरा अघिल्तिर आँसु चुहाउँदै समय नपुग्दै संविधानसभा विघटनको निर्णयमा हस्ताक्षर धस्काए झैँ सार्वजनिक खपतका लागि मात्र बोलिएको होइन भने विभागीय मन्त्रीका रूपमा उनले उठाएका प्रश्न गम्भीर छन् । अहिलेको परिवेशमा मन्त्री पदमा आसीन व्यक्तिले संचारकर्मीका अघिल्तिर यति बोल्न सक्नुलाई सकारात्मक रूपमै ग्रहण गर्नुपर्ने हुन्छ । बिप्पा सम्झौताको विरोध, तेहरानमा प्रधानमन्त्रीको ‘साइड लाइन मिटिङ’ प्रति सार्वजनिक असन्तुष्टि र कुटनीतिक भेटघाटलाई परराष्ट्र मन्त्रालयमार्फत व्यवस्थित गराउन गरेको प्रयासलाई सम्भँmदै उनलाई शंकाको लाभ दिने हो भने राष्ट्रको सर्वोच्च पदमा रहेका व्यक्ति र संस्थाहरूले अन्तर्राष्ट्रिय रूपमा मुलुकको साख गिराउने र नेपालीहरूको स्वाभिमानमा ठेस पुर्याउने गतिविधिमा संलग्न हुनु लज्जाजनक छ ।
हामीले दक्षिण छिमेकबाट आएका करण सिंह वा पूर्व, पश्चिम, उत्तरको सन्देश बोकेर आएका विशेष दूतहरूको विरोध गरिरहनुको कुनै तुक छैन । तिनका कुरा सुन्ने, नसुन्ने हाम्रो हातमा छ । उनीहरू आफ्नो देशप्रति बफादार कारिन्दा हुन् र आफ्नो राष्ट्रिय स्वार्थ संरक्षण गर्न यहाँ आएका हुन् । प्रश्न हामी आफ्नो राष्ट्रप्रति बफादार रह्यौँ कि रहेनौँ भन्ने हो । आफ्नो राष्ट्रिय स्वार्थ के हो भन्ने हामीलाई थाहा छ कि छैन भन्ने हो । कुनै विदेशी कुटनीतिक प्रतिनिधि नेपाल र नेपालीप्रति दया, माया, सद्भाव देखाउन वा नेपालको हित होस् भन्ने कामना बोकेर यहाँ आएका होइनन् । नेपालको स्थिरता आफ्नो राष्ट्रिय स्वार्थ अनुकूल भए स्थिरता चाहन्छन्, अस्थिरता उपयोगी भए अस्थिरता मच्चाउने प्रयत्न गर्छन् । कति नेपाली मर्छन, बाँच्छन् उनीहरूको सरोकारको विषय होइन । आफ्नो राष्ट्रिय स्वार्थ सुरक्षित रहन्छ वा रहन्न भन्ने मात्र उनीहरूको चासो र चिन्ता हो । त्यसैले अमुक छिमेकी वा मित्रराष्ट्र नेपालप्रति चिन्तित छ भन्नु औपचारिकता मात्र हो । कुटनीतिमा राष्ट्रहित सर्वोपरि हुन्छ र त्यसबाहेक बाँकी सबै झूठ हो । हामी आफ्नो राष्ट्रिय स्वार्थ पहिचान गर्दै कुटनीतिक गतिविधि परिचालन गर्छौँ कि अरूको स्वार्थको भरिया मात्र बन्छौँ, यही नै हाम्रो मूल समस्या हो ।
प्रतिक्रिया