अन्तरिम संविधानको धारा ३८ (१) अनुसार राष्ट्रिय सहमतिको सरकार गठनका लागि प्रधानमन्त्रीको नाम सिफारिस गर्न राजनीतिक दलहरूलाई राष्ट्रपति डा. रामवरण यादवले दिनुभएको एकहप्ते दोस्रो हदम्याद पूरा भई तेस्रो ६ दिने हदम्याद सुरु भएको छ । सहमतिको प्रधानमन्त्री सिफारिस गर्ने आह्वानमा पर्दाअघि राष्ट्रपति देखिए पनि पर्दापछाडि एमाओवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छन् भन्ने कुरामा कुनै सन्देह छैन । नेपालको सत्ताराजनीतिमा आफ्नो प्रभाव र हैकम स्थापित गर्दै आएको छिमेकी मुलुक भारतको निर्देशनात्मक गतिविधि बाध्यकारी छ भन्ने कुरामा पनि दुई मत रहेन । राष्ट्रपतिले नयाँ प्रधानमन्त्रीको आह्वान गरेपछि नेपाल आएका भारतीय नेपाल मामिलाका प्रभावशाली नेता डा. करण सिंहको सम्मानमा आयोजित एक कार्यक्रममा सिंह र प्रचण्डको संवादले पनि त्यसको पुष्टि गरेको छ । कुनै बेला भारतविरुद्ध सुरुङयुद्ध गर्ने र प्रधानसेनापति प्रकरणमा आफ्नै अहंकारका कारण प्रधानमन्त्री छाड्नुपर्दा भारतलाई प्रभुको संज्ञा दिँदै आन्दोलनको उद्घोष गर्ने प्रचण्ड भारतनिकट रहेका उपाध्यक्ष डा. बाबुराम भट्टराईलाई प्रधानमन्त्री स्विकार्न र बनाउन तयार भए । अत्यन्त ठूलो जनमत र दबाबका कारण प्रधानमन्त्री बनेका भट्टराईको लोकप्रियताको पारो घटेर ऋणात्मक हुँदा पनि महादेवले सतीदेवीको शव बोकेर हिँडेभैँm बाबुरामलाई बोकेर हिँडिरहँदा वर्तमान परिवर्तन र यसका उपलब्धिमात्रै नभएर सिंगो राष्ट्रिय राजनीति जोखिममा पर्ने सम्भावना बढेको छ ।
प्रचण्डले नेपालका राजनीतिक दल र शीर्षस्थ नेताहरूलाई क्रमश: खेलाउँदै असफल र तेजोबध गर्ने प्रयत्न गरिरहे । उनले आफ्नै दलभित्र पनि त्यो गरे र बाहिर पनि । पार्टीभित्र वैद्य र बाबुरामको अन्तरसंघर्षको ढिकीच्याँउ शैलीमा हाबी र सर्वोच्च बनेका प्रचण्ड सशस्त्र विद्रोह पार नलाग्ने भएपछि बाबुरामको बैसाखी टेकेर शान्तिपूर्ण अभियानमा आउनुपर्ने भएपछि उनको कारबाही फिर्ता लिई पुन:स्थापन गर्न बाध्यतावश तयार भए । आज बाबुराम प्रधानमन्त्री भएर पनि प्रचण्डको निजी सचिव जतिको मात्रै हैसियत राख्छन् । सत्तामा टिकिरहन बाबुरामलाई त्यसो गरिरहनु बाध्यता छ भने प्रचण्डलाई पनि यसो देखाउन र प्रभुलाई खुसी राख्नु बाध्यता छ । संविधानसभाको निर्वाचनपछि कोइरालालाई यथोचित जिम्मेवारी दिइएको भए सायद मुलुकले यो खालको कष्ट, विलम्ब र अन्योलता बेहोर्नुपर्ने थिएन । सम्भवत: कोइराला जीवित रहँदै दुई वर्षभित्रै शान्तिप्रक्रिया, संविधान र राज्यको पुन:संरचना पूरा हुने थियो । त्यसैगरी राजनीतिको मूलधार र शान्तिप्रक्रियामा ल्याउन महत्त्वपूर्ण र मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने नेकपा (एमाले) का तत्कालीन महासचिव एवं पूर्वप्रधानमन्त्री माधव नेपाललाई पनि बेबकुफ बनाउने प्रयास प्रचण्डले काफी रूपमा गरेका हुन् । संविधानसभा निर्वाचनमा माओवादीको राजनीतिक र नैतिक आक्रमणको तारो बनाएर दुई ठाउँबाट निर्वाचन हराउन उसको निर्णायक भूमिका रह्यो । पछि राष्ट्रपति बनाउने भनेर अन्तिम समयमा धोका दिइयो । आखिर माओवादीकै पहलकदमीमा नेपाल सभासद् र संवैधानिक समितिको सभापति हुँदै प्रधानमन्त्री पनि भए । प्रधानमन्त्री भएकै बेलामा नेपालले माओवादीको निर्णायक र सत्ताकब्जाको आन्दोलनलाई रक्षात्मक बनाएर उसको उन्मादलाई ठन्डा बनाएका थिए । संविधानसभाको निर्वाचनमा गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिको रूपमा स्वघोषित र प्रचारित प्रचण्ड आफू राष्ट्रपति बन्ने सुनिश्चित वातावरण त बनेन नै । तर, उनले राष्ट्रपतिको आश्वासन धेरैलाई बाँडेर बेबकुफ बनाए । गणतन्त्रको पहिलो उद्घोषकको रूपमा रहेका नेता रामराजाप्रसाद सिंहलाई राष्ट्रपति नजितिने निर्वाचनमा होमिदिए । आखिर यथोचित जिम्मेवारी नपाईकन सिंहले गत वर्ष मृत्युवरण गरे ।
संविधानसभाको अवसान गराउने र मुलुकलाई यो खालको संकटको दलदलमा धकेल्ने प्रचण्ड बाबुरामको हर्कतलाई रोक्न र ठेगान लाउन कांग्रेस एमालेजस्ता प्रभावशाली दलहरू असफल भए । संविधानका संरक्षक राष्ट्रपति मूकदर्शक बन्ने अवस्था उनको बाध्यता, संवैधानिक सीमा र स्वाभाव थियो होला । तर, त्यो ठाँउमा गिरिजाप्रसाद कोइराला वा माधव नेपाल भएको भए पक्कै फरक पथ्र्यो । राष्ट्रपतिले सम्भवत: प्रचण्डको प्रभावमा परेर बजेट अध्यादेश तत्काल स्वीकृत गरे । कैयौँपटक सहमतिमा बजेट ल्याउन अन्यथा आफूले स्वीकृत नगर्ने अडान राखेका राष्ट्रपतिले प्रमुख राजनीतिक दलहरूबीचको सघन विवादबीच मन्त्रिपरिषद्ले सिफारिस गरेको केही घन्टा नबित्दै स्वीकृत गरे । त्यसअघिका कैयौँ र पछि प्रस्तुत भएका अध्यादेश उनले रद्दीको टोकरीमा फ्याके । राष्ट्रपतिले मंसिर आठ गते राजीनामा बोकेर गएका आफूलाई त्यतिकै फर्काइ दिएको दाबी प्रधानमन्त्रीले गरे । लगत्तै राष्ट्रिय सहमतिको प्रधानमन्त्री सिफारिस गर्न सातदिने नोटिस जारी गरे । मन्त्रिपरिषद्ले राष्ट्रपति आह्वानको विरोधमा लिखित निर्णय गर्दै स्वयं राष्ट्रपतिसमक्ष विरोधपत्र पनि बुझायो । पार्टी र गठबन्धनको विरोधलाई प्रचण्ड एक्लैले ठेगान लगाए पनि । प्रचण्डले पहिलो पासा फ्याँके, बाबुरामकै निरन्तरता अनि राष्ट्रिय सहमतिको स्वरूप सँगसँगै । राष्ट्रपति पनि भन्छन्, बाबुरामकै निरन्तरता र अरू दलहरूलाई सरकारमा सामेल भए सुनमा सुगन्ध हुने घोषणा गरे । अरू दलहरू त यति कमजोर सावित भए कि अन्तर्राष्ट्रिय शक्ति पनि पक्षमा छैन, राष्ट्रपति पनि सोचेजस्तो सकारात्मक रहेनन्, जनमतको कुरा गर्ने हो भने कसको नै छ र । सबै जनताबीच जान डराएका छन् । त्यसैले त माओवादी र मधेसी दलहरू निर्वाचनमा जान तयार छैनन् अनि विपक्षी दलहरू पनि आन्दोलनमा जान तयार छैनन् किनकि अहिले जनमत अवाक् छ र कसैको पनि पक्षमा तत्काल जनता उठ्ने देखिँदैन ।
प्रचण्डको आग्रहमा राष्ट्रपतिले राष्ट्रिय सहमतिको लागि छ दिनको समय थप भन्ने समाचारहरू सार्वजनिक हुनुले पनि सिद्ध गर्छ । प्रचण्डकै प्रत्यक्ष/अप्रत्यक्ष निर्देशनमा राष्ट्रपति काम गर्दै छन् भन्ने कुरा बुझ्न अब गार्हो भएन । अब राष्ट्रपति विवादमा तानिएका छन् । उनले प्रचण्डको निर्देशन मान्न छाडेको दिन उनको पुत्ला जल्न बेर छैन । यही ढंगले राष्ट्रपतिको भूमिका परिभाषित हुने र दलहरू आ–आफ्ना अडानमा रहिरहने हो भने खुलेआम एमाओवादी सर्वसत्तावाद र प्रचण्डका सामु आत्मसमर्पण गर्ने विकल्प मात्रै राष्ट्रपतिसामु बाँकी रहने अवस्था सिर्जना हुँदै छ । अहिले प्रचण्डसँग बाँड्नका लागि फेरि प्रधानमन्त्रीको पद सिर्जना भएको छ । उनले केही दिनअघि आफ्नो कदमबाट चिढिएका बाबुरामलाई नै निरन्तरता दिने मुडमा थिए । फेरि, त्यो पासा उनले कांग्रेसतर्फ फ्याँके । कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेललाई त प्रधानमन्त्रीको पासा फ्याँकेकै थिए । कांग्रेसलाई पूर्ण र अन्धसमर्थन गरेको एमालेले त आग्रह गरेकै थियो, प्रचण्डको समेत आग्रह आएपछि कांग्रेसले सभापति सुशील कोइरालालाई सर्वसम्मत उम्मेदवार तोक्यो । प्रचण्डले फेरि बोली फेरे, अहिले मधेसी नेता महन्त ठाकुरलाई प्रधानमन्त्री प्रस्ताव गरेका छन् । ठाकुर प्रधानमन्त्री बन्ने अवस्था छैन प्रचण्डले नै हुन दिँदैनन् । प्रचण्डले अब कतिलाई प्रधानमन्त्री बाँड्छन् ठेगान छैन । अब पनि सहमति भएन र नयाँ प्रधानमन्त्री भएन भने के हुन्छ भन्ने कुराको पर्याप्त चिन्ता र धैर्य राष्ट्रपतिसँग देखिँदैन । दल र शीर्षस्थ नेताको सरोकार बन्न सकिरहेको छैन । प्रचण्डको बचपना र राजनीतिक उत्ताउलोपनले मुलुक असफलता र बर्बादीयात्रामा छ । प्रचण्डको लीला र बर्चस्व जारी रहेसम्म कोही सफल र चैनमा रहने छैनन् । मुलुकमा आफूलगायत कोही नेता सफल नभएको साविती प्रचण्डले भर्खरै एक कार्यक्रममा गरेका छन् । न उनी आफू सफल छन् न कसैलाई हुन दिनेछन् ।
प्रतिक्रिया