घर शान्ति नै विश्वशान्तिको आधार : दमनको प्रतिवाद गरी महिला हिंसाको अन्त्य गरौँ भन्ने नाराका साथ यस वर्ष पनि लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइएको छ । यस्तो अभियानले महिलामाथि हुने हिंसा नियन्त्रण नै गर्न सकिन्छ भन्ने होइन तापनि यसले न्यूनीकरणमा पक्कै पनि सहयोग पुग्छ । यस्ता अभियान सम्बन्धित सवालमा सरकारलगायतका सरोकारवालालाई घच्घच्याउन र आमजनतामा चेतना अभिवृद्धि गर्नसमेत महत्त्वपूर्ण हुन्छन् । यस अर्थमा यिनको विशिष्ट महत्त्व हुन्छ यद्यपि, यिनको सांकेतिक महत्त्व त्यसभन्दा बढी हुन्छ । नेपालमा महिलामाथिको हिंसाको अवस्था अत्यन्त दयनीय छ । महिलाहरू घरेलु हिंसा, बलात्कार, हत्या, बोक्सी र अन्य आरोपमा अपमान जस्ता हिंसाको स्थिति खप्न बाध्य छन् । यी प्रत्यक्ष हिंसाबाहेक महिलालाई विभिन्न अधिकारबाट वञ्चित गर्नु पनि उनीहरूमाथि हिंसाको एक रूप नै हो । कतिपय हिंसा व्यक्तिगत तहमा हुन्छन् त धेरैजसो ंिहंसा पितृसत्तात्मक संरचना र त्यसमा आधारित उपसंरचनाका कारणले भइरहेका छन् । त्यसैले महिलामाथिको हिंसा अन्त्य गर्नका लागि चालिनुपर्ने कदम पनि व्यक्तिगत तहमा पीडितलाई सजाय गर्नुदेखि समाज र राज्यका निकायहरूलाई जिम्मेवार बनाउने तहसम्म जोडिएको हुन्छ । बलिया कानुन, नीति र कार्यक्रमको तर्जुमा तथा तिनलाई कार्यान्वयन गर्ने चुस्त इमान्दार संयन्त्रको व्यवस्थाले मात्रै महिलामाथिको हिंसा न्यूनीकरण गर्न सकिन्छ ।
प्रतिक्रिया