२१ बर्ष पछि माघमा महाधिवेशन

काठमाडौं, २२ मंसिर । सत्तारुढ एमाओवादीले आफ्नो महाधिवेशन माघ–२० गते मकवानपुरको हेटौंडामा गर्ने निर्णय गरेको छ ।
काठमाडौंमा आज बसेको विस्तारित केन्द्रीय कार्यालयको बैठकले महाधिवेशन माघ–२० देखि हेटौंडामा गर्ने निर्णय गरेको प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिए । यस अघि एमाओवादीले आफ्नो महाधिवेशन काठमाडौंमा माघ–१४ देखि गर्ने जनाएको थियो ।
महाधिवेशनमा मुलुक भरिबाट करिव दुई हजार प्रतिनिधि आउने प्रवक्ता सापकोटाले बताए । उनले माघ–१९ गते सम्म सबै प्रतिनिधिले आयोजक समितिसँग सम्पर्क गर्नुपर्ने निर्णय गरेको जानकारी दिए ।
एमाओवादीले स्थगित भएको जिल्ला अधिवेशन कार्यक्रम पुस–२५ देखि माघ १० गतेसम्म गरिसक्ने निर्णय गरेको छ ।
एमाओवादीको महाधिवेशन २१ वर्षपछि हुन लागेको हो । अध्यक्ष पुष्पकमल दाहाल झण्डै २१ वर्षदेखि लगातार नेतृत्वमा छन् । २०४८ सालमा चितवनमा भएको महाधिवेशनबाट दाहाल पार्टीको महासचिव र २०५७ सालमा अध्यक्षको जिम्मेवारी पाएका हुन् । भूमिगत कालमा भारतमा भएको दोश्रो राष्ट्रिय भेलाले दाहाललाई अध्यक्ष बनाएको थियो ।

प्रतिक्रिया