एमाओवादीको प्रस्तावमा सहमति भएन

काठमाडौं, २० मंसिर । सहमतीय सरकार र प्रधानमन्त्रीका बारेमा छलफल गर्न बसेको प्रमुख दलका शीर्ष नेताहरुको बैठक विनाकुनै निष्कर्ष सकिएको छ ।
लाजिम्पाटस्थित एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवासमा आज बसेको प्रमुख दलका शीर्ष नेताहरुको बैठकमा संविधानका अन्तरनिहीत विषयमा पहिला सहमति गर्नुपर्ने प्रस्ताव आए पछि ठोसनिर्णय हुन नसकेको हो । एमाओवादीले राज्य पुनःसंरचना, शासकीय स्वरुप, निर्वाचन प्रणालीलगायतमा सरकार बन्नु अघि प्याकेजमा सहमति गर्नुपर्ने प्रस्ताव राखेको एमाओवादीका प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
कांग्रेस उपसभापति रामचन्द्र पौडेलले एमाओवादीले सहमति नचाहेको आरोप लगाए । उनले भने, ‘एमाओवादीले सत्ता लम्वाउन अनेकथरी प्रस्ताव ल्याएको छ ।’
एमाओवादीले संविधानका विवादित विषयमा पहिला सहमति गर्न गरेको प्रस्तावलाई कांग्रेसले अस्वीकार गरिदिए पछि ठोस सहमति हुन सकेन । एमाओवादीको प्रस्तावका बारेमा आन्तरिक छलफल पछि बिहीबार बस्ने शीर्ष बैठकले निर्णय गर्ने छ ।
बैठकमा प्रधानमन्त्री बाबुराम भट्टराई, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र मधेसी मोर्चाका नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया