राजवंशी एसियाली सदस्यमा

कठमाडौं : नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष पत्रकार निरञ्जन राजवंशी एसियाली खेलकुद पत्रकार महासंघ (एएसपियु) को सदस्यमा निर्वाचित भएका छन् ।
कुबेतमा आइतबार सम्पन्न एएसपियुको १६औँ कंग्रेसबाट राजवंशी आउँदो चारवर्षे कार्यकालका लागि निर्विरोध निर्वाचित भएका हुन् । ८ केन्द्रीय सदस्य पदका लागि १३ जनाको उम्मेदवारी परे पनि पाँचजनाले मनोनय फिर्ता लिएपछि राजवंशीसहित सबै निर्विरोध भएका हुन् ।
१६ सदस्यीय कार्यसमितिको अध्यक्षमा कुबेतका फैसल अल कनाई निर्विरोध निर्वाचित भए । मंगोलियाका ओगोन बाटार साटोले नाम फिर्ता लिएपछि कनाई निर्विरोध निर्वाचित भएका हुन् । अघिल्लो कार्यसमितिमा कनाई प्रथम उपाध्यक्ष थिए । यस्तै, चीनका झाङ हाई फेङ प्रथम उपाध्यक्षमा र इरानका सयद अब्दुल हामिद अमादी महासचिवमा निर्विरोध भए । पाकिस्तानका सयद मलिकसहित पाँच उपाध्यक्ष पनि निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित कार्यसमितिलाई अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासंघ (एआइपिएस)का अध्यक्ष जियानी मेर्लोले बधाई दिएका थिए ।
सदस्यमा निर्वाचित भएपछि एनएसजिएफका अध्यक्ष रहेका राजवंशीले नेपालमा खेलकुद पत्रकारिताको विकासका लागि यसले सहयोग पुर्‍याउने बताए । (सौस)

प्रतिक्रिया