कविताका विरुद्धमा

‘अरू केही लेख्न नजान्ने मान्छेले कविता लेख्छ । अचेल जे लेखे पनि कविता हुन्छ । जो पनि कवि हुन्छ । त्यसैले कविता लेख्नु, पढ्नु र पढाउनु सबै वाहियात काम हुन् । साहित्यका विधाहरूमध्ये कविता सबैभन्दा खत्तम हुन्छ,’ मेरा एक सहकर्मीले कवितासित अघिल्लो जुनीदेखिकै दुस्मनी भएजसरी एकै सासमा माथिका कुरा भनी सिध्याए । कवि र कविताप्रतिको यो घोर उपहास र अपमानलाई सहन निकै गाह्रो भयो । मित्र भने कविताका विरुद्धमा अझै विषवमन गर्ने पक्षमा थिए । उनी स्कुल र कलेजहरूमा भाषा र साहित्य पढाउने मान्छे हुन् । आºना विद्यार्थीसित पनि कविताविरुद्ध यस्तै कुरा गर्दा हुन् । उनीजस्ता विद्वान्हरूबाट यस्तो अभिव्यक्ति आउनु आफैँमा खेदपूर्ण छँदै थियो । कविताप्रतिको साथीको बुझाइ र मानसिकता देखेर दया गर्नुसिवाय अर्को विकल्प पनि त थिएन ।
बिहीबारको साँझ । एकजना कवि मित्रको घरमा खाना खाने निम्तो । हाँस्यटेलिशृंखला तीतो सत्यमा झुल्किए अर्का कवि महोदय । उनी सामान्य कुराकानीलाई तुक्का मिलाई फुँदा गाँसेर कविता बनाउँछन् । भनाँै कवितामै कुरा गर्छन् । हरे † कति सस्तो र सजिलो भएको कविता । तुक्का मिलाएर बोलेपछि कविता भइगयो । ती कविका रूपमा झुल्किने कलाकार महोदयको नाउँ थाहा छैन । सायद दीपक र दीपाश्रीलाई थाहा होला । त्यो साँझ जब उनी टेलिभिजनमा उत्रिए, कवि मित्रकी श्रीमतीले भन्नुभयो, ‘ऊ टेलिभिजनमा पनि हजुरहरूको साथी आयो ।’ हामी दुवैको मुख रातो भयो । यसपालि आफैँलाई दया गर्नुपर्ने स्थितिको सिर्जना भयो ।
मान्छेको विचार सकिएपछि कवि बन्छ भनेर फत्तुर लगाउनेको पनि कमी छैन यहाँ । न त कविलाई होच्याउने, हेला गर्ने र उपहासको पात्र बनाउन खोज्नेहरूको कमी नै छ । प्लेटोले भनेका थिए रे– आदर्श राज्यबाट कविहरूलाई निष्कासन गर्नुपर्छ । अर्थ लाउनेले अलग–अलग अर्थ लगाएर बुझ्ने गरेका छन् यसलाई ।
‘प्रशन्न एवं उत्कृष्ट हृदयबाट सिर्जित प्रशन्न र उत्कृष्ट क्षणहरूको अभिलेख नै कविता हो ।’ अंग्रेजी साहित्यका महान् कवि सेलीले किन यसो भने होलान् ? सायद सेलीले कल्पना गरेजस्तो प्रशन्न र उत्कृष्ट क्षणहरूको अभिलेख राख्न नसकेर कवि र कविताप्रति नकारात्म धारणाको विकास हुन थालेको पो हो कि ? कवि र कविताप्रति वितृष्णा जाग्नु अनि कविलाई जोकरीकरण गर्नुमा कविहरू पनि कम्ती जिम्मेवार छैनन् । केलाई कविता भन्ने ? कसलाई कवि भन्ने ? पाठक र दर्शक अलमलिनुपर्ने स्थिति सिर्जना भएको धेरै समय भइसकेको छ । ‘पिउनको जागिर खान केही योग्यताको आवश्यकता पर्छ तर यो देशमा कवि र पत्रकार बन्न कुनै योग्यताको आवश्यकता पर्दैन । समस्याको गणना यहीँबाट सुरु गर्नुपर्छ,’ मेरा एक सहकर्मी एवं साहित्यअनुरागी पवित नेपाली यसो पो भन्छन् त । सेलीको अभिव्यक्तिलाई गलत सावित गर्न खोज्ने पात्र र परिवेशसित ठोक्किरहेको छु म अचेलभरि ।
नेपालको एक राष्ट्रिय दैनिकले मेरा एकजना कविको मित्रको हत्या गर्‍यो । भौतिक रूपमा उनी ज्युँदा छन् तर उनीभित्रको एउटा राम्रो कवि मरेको धेरै भइसक्यो । कुरै कुराको मेसोमा उनले एकदिन सुनाए, ‘मलाई मेरा प्यारा पत्रकार साथीहरूले कवि भनेर उल्लीबिल्ली लाउँछन् । साथीहरू यसरी उडाउँछन् कि यो संसारमा कविभन्दा काम नलाग्ने जन्तु अरू कोही छैन । उनीहरूको संगतमा परेर अब त मलाई पनि कविता लेख्न लाज लाग्न थालिसकेको छ ।’
यस भनाइमा साथीको लाचारीपन पनि देखिन्छ तथापि मान्छे परिस्थितिको दास पनि त हो केही हदसम्म । कवि कल्पनाको विमानचालक हो । कवि एकोहोरो हुन्छ । सायद त्यसैले कवि, प्रेमी, पागल र वैज्ञानिकलाई एउटै कोटिमा राखिएको होला । कोही कवि अव्यवस्थित, अप्ठेरा र अलि–अलि साइको पनि होलान् । कविहरूले वाक्क–दिक्क पारेर हुन सक्छ, कविताको स्तम्भ नै हटाउने मासिक र दैनिक पत्रिकाहरू पनि छन् । कसैले जे पायो त्यही लेखेर कविता भन्दै छपाउन खोज्छ भने त्यसलाई छापिदिनै पर्छ भन्ने पनि छैन । तर, यो बज्रस्वाँठलाई लाग्छ कि, राम्रो कविता छापिँदा पत्रिका, समाज र राष्ट्रलाई केही न केही योगदान पक्कै पुगेको हुन्छ । धरणीधर कोइराला बाजेले नबुझी पक्कै भनेनन्, ‘बुझ काव्यसुधारस औषधि हो ।’
कविलाई उडाउने धेरै तरिका छन् यहाँ । बैंसमा एकचोटि स्याल पनि घोर्ले हुन्छ रे † ठीक यसैगरी बैंसमा एकचोटि जो पनि कवि बन्छ रे † कवितालाई प्रेमिका पट्टयाउने अस्त्र मान्दा हुन् कोही । कोही आºना कुण्ठा पोख्ने माध्यम । कसैप्रति आक्रोश पोख्न र बदला साँध्न कविता लेखेर कवि बन्नेहरू पनि नभएका होइनन् । कसैलाई गाली गर्नुपरेमा कविता लेख्नेहरूको संख्या पनि उल्लेखनीय नै होला । मञ्च पाएपछि धारावाहिक कविता वाचन गर्ने कवि पनि होलान् । कार्यक्रममा आºनो कविता वाचन सकिएपछि पछाडि बसेर हल्ला गर्ने र अरूको कवितालाई बालै नदिने ग्याङ पनि होलान् । जेलाई पनि कविताको आभूषण गुथाएर तीतोसत्यका कवि महोदय जसरी ठाउँ–कुठाउँ कविता सुनाएर झ्याउ गर्ने कविहरू पनि होलान् । मात्र यत्तिका भरमा कविता र कविलाई काम नलाग्ने देख्नुलाई एक किसिमको दृष्टिभ्रमबाहेक अरू केही मान्न सकिँदैन ।

प्रतिक्रिया