नेकपा–माओवादी : तेस्रो दलमा दाबी

काठमाडौं, १५ मंसिर । नेकपा–माओवादीले विघटित संविधानसभा अनुसार आफू तेस्रो दलका रुपमा स्थापित भएको दाबी गरेको छ ।
नेकपा–माओवादीले आज राष्ट्रपति डा.रामवरण यादवलाई शीतल निवासमा भेट गरेर तेस्रो दल भएको दावीसहितको पत्र बुझाएको हो । उसले विघटित संविधानसभाका आफ्ना ९१ जना पूर्व सभासद्को नामावली समेत बुझाएको छ ।
नेकपा–माओवादीले एमाओवादी, कांग्रेस, एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई मात्रै प्रमुख शक्ति भनेकोमा आपत्ति जनाएको छ । प्रवक्ता पम्फा भुसालले एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाले मात्रै गर्ने निर्णयप्रति आफूहरुको आपत्ति रहेको बताईन ।
‘राष्ट्रिय राजनीतिमा निर्णय गर्दा हाम्रो पनि सहमति आवश्यक पर्छ,’ उनले भनिन्, ‘एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाको सिफारीशमा मात्रै राष्ट्रपति अघि बढ्नु हुँदैन ।’
नेकपा–माओवादीले आफूहरु हिंसात्मक आन्दोलनको पक्षमा नरहेको समेत स्पष्ट पारेको छ । उसले तेस्रो दलको मान्यता दिन राष्ट्रपतिसँग आग्रह गरिएको प्रवक्ता भुसालले उल्लेख गरिन् ।
नेकपा–माओवादीले न्यायोचित सुनुवाई नभए आन्दोलनमा जाने चेतावनी दिएको छ । राष्ट्रपति र प्रमुख दलहरुले राष्ट्रिय राजनीतिमा महत्वपूर्ण निर्णय गर्दा नेकपा–माओवादीलाई बोलाउने गरेका छैनन् ।

प्रतिक्रिया