मुलुकभरिका सरकारी क्याम्पसमा कालोझण्डा

काठमाडौं, १० मंसिर । नेपाल विद्यार्थी संघले सरकारसँग भएका विगतका सहमति कार्यान्वयनको माग दोहराएर राजधानीलगायत मुलुकभरिका सरकारी क्याम्पसमा कालोझण्डा गाडेको छ ।
शैक्षिक मुद्दाको माग सम्बोधन नभएको, सरकारले राष्ट्रिय सहमतिबिना एकलौटी वजेट अध्यादेश ल्याएको तथा वैशाखमा नयाँ निर्वाचन घोषणा गरेको भन्दै आज विरोधस्वरुप मुलुकभरिका सरकारी क्याम्पसमा कालोझण्डा गाडिएको प्रवक्ता यूपी लामिछानेले जानकारी दिए ।
उनले सरकारले मुख्य प्रतिपक्षी दललाई पाखा लगाएर एकलौटीरुपमा सत्ता कब्जा गर्ने रणनीतिकासाथ मुलुकमा सर्वसत्तावाद र निरंकुशता लाद्न खोजेकाले त्यसको सशक्त प्रतिकार गर्न संघ विरोधमा उत्रनु परेको बताए ।
संघले सोमबार सरोकारवालाहरुसँग छलफल गरी सरकारी कदमको विरोधस्वरुप थप कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ ।

प्रतिक्रिया