चिनियाँ कम्पनीले आफूखुसी सिल्ड तोड्यो

काठमाडौं, १० मंसिर । निर्माणाधीन त्रिशूली ३–ए जलविद्युत् आयोजनामा गुणस्तरहीन सिमेन्ट प्रयोग गरिएको भेटिएपछि स्टोरमा लगाइएको सिल्ड चिनियाँ ठेकेदार कम्पनीले आफँैले तोडेको छ ।
गत २९ असोजमा चिनियाँ ठेकेदार कम्पनी चाइना गेजुवा ग्रुप अफ कम्पनी (सिजिजिसी) ले गुणस्तरहीन सिमेन्ट प्रयोग गरेर आयोजना निर्माण भइरहेको बदमासी भेटिएकोमा सिल्ड गरिएपछि पुन: आफँै तोडेर बदमासी गरेको भेटिएको हो । बदमासी पत्ता लगाएपछि कात्तिकको पहिलो साता ठेकेदार कम्पनी, नेपाल विद्युत् प्राधिकरण र परामर्शदाताको काम पनि नर्थ वेष्ट हाइड्रो कन्सल्टेन्सीले स्टोरमा सिल्ड लगाएका थिए । गुणस्तरहीन भनिएको सिमेन्ट परीक्षण पुल्चोक इन्जिनियरिङ कलेजमा भइरहेको छ । तर, त्यसको रिपोर्ट आएको छैन । कानुनत: सिल्ड तोड्नका लागि तीन पक्षको स्वीकृति चाहिन्छ तर रिपोर्ट नआउँदै ठेकेदार कम्पनीले आफुखुसी सिल्ड तोडेर गुणस्तरहीन सिमेन्टको प्रयोग गरेको छ । ‘पहिला सिमेन्ट गुणस्तरहीन छ भन्ने सप्रमाण भेटिएर सिल्ड गरिएको स्टोर आफैँ फोर्नु यो बदमासीको पराकाष्ठ हो,’ प्राधिकरण नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष सीताराम थापाले भने, ‘कि आर्थिक प्रलोभनमा आयोजनाको व्यवस्थापन पक्ष र ठेकेदारकै मिलेमतोमा यस्तो भएको हुन सक्छ, यसको छानबिन हुनुपर्छ, गलत गर्नेलाई कारबाही हुनुपर्छ, नत्र कडा आन्दोलन गर्छौँ ।’ उनका अनुसार बिहीबार ठेकेदार कम्पनी आफँैले सिल्ड तोडेर गुणस्तरहीन सिमेन्ट आयोजनाको निर्माणमा उपयोग गरेको थियो । आयोजना सम्बद्ध स्रोतका अनुसार उनीहरूले सिल्ड तोडेर दुई ट्रक सिमेन्ट आयोजनास्थलमा निर्माणका लागि लगिएको थियो भने संगठनले प्राधिकरणमा खबर गरेपछि मात्र त्यसबारे थाहा भएको थियो । उनले आयोजना व्यवस्थापनले सिल्ड तोडिएकोबारे कुनै जानकारी नदिएकोले यसमा मिलेमतो हुन सक्ने आशंका व्यक्त गरे ।
प्राधिकरणले भने सिल्ड तोडिएको थाहा पाएपछि शुक्रबारै कारबाहीका लागि रसुवा जिल्ला प्रशासन कार्यालयमा पत्र लेखेको जनाएको छ । प्राधिकरण उत्पादन तथा निर्माण विभागका महाप्रबन्धक रामचन्द्र पाण्डेले प्राधिकणलाई थाहै नदिई सिल्ड तोडिएकाले आवश्यक कारबाहीका लागि प्रशासनमा निवेदन दिएको जानकारी दिए । ‘सिल्ड तोडिएकामा हामीले कारबाहीका लागि प्रशासनलाई पत्र लेखेका छाँै, अब प्रशासन कार्यालयले कारबाही गर्नुपर्छ, ठेकेदार कम्पनीसँग भएको सम्झौताअनुसार प्राधिकरणले गर्ने कारबाहीका लागि पनि हामी अघि बढ्छाँै,’ उनले भने । रसुवाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले भने प्रशासन कार्यालयले कारबाही गर्नेभन्दा पनि प्राधिकरणले सम्झौताअनुसार कारबाही गर्नुपर्ने बताए । उनले गुणस्तरहीन सिमेन्टको सिल्ड तोड्नेलाई प्रशासनले कारबाही नगर्ने संकेत गरे । तर, प्राधिकरणले भने सिल्ड तोडिएपछि कारबाहीका लागि प्रशासनिक निकायमा निवेदन दिएकाले प्रशासनले कारबाही गर्नुपर्ने जनाएको छ ।
आयोजनाका प्रतिनिधिहरूको समेत उपस्थितमा २९ असोजमा गरिएको निरीक्षणमा देवीघाटमा रहेको स्टोरका १२ सय टन र आयोजनास्थलमा रहेको पाँच सय टन गरी १७ सय टनको करिब ३५ हजार बोरामा रहेका सिमेन्टमध्ये ८० प्रतिशतभन्दा बढी अम्बुजा नामको सिमेन्ट गुणस्तरहीन भेटिएको थियो । सिमेन्ट ल्याइएको ९० दिनभन्दा बढी उपयोग गर्न पाइँदैन तर ६ महिनाभन्दा बढी म्याद गु्रजिसकेको सिमेन्ट प्रयोग गरिरहेको भेटिएपछि चिनियाँ कम्पनीको बदमासी सार्वजनिक भएको थियो । आयोजना स्रोतका अनुसार सिमेन्टको गुणस्तर ५३ ग्रेड हुनुपर्नेमा २३–३३ प्रतिशत मात्र भेटिएको थियो । चाइनाको एक्जिम बैंकको ऋण सहयोगमा निर्माण गरिरहेको ६० मेगावाटको त्रिशूली ३–ए जलविद्युत् आयोजना करिब १० अर्ब ६ करोड रुपियाँको लागतमा बन्ने लक्ष्य राखिएको छ ।
बदमासीमा सिडिओको बेवास्ता
काठमाडौं : जिल्लामा निर्माणाधीन आयोजनाको अनुगमनसमेत गर्ने जिम्मेवारी पाएका रसुवाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) वासुदेव घिमिरेले ६० मेगावाटको त्रिशूली ३–ए जलविद्युत् आयोजनाको बदमासीलाई बेवास्ता गरेका छन् ।
सप्रमाण भेटिएपछि सिल्ड लगाउन बारम्बार आयोजनाले अनुरोध गरे पनि आफूहरूले लगाउन नसक्ने बताएपछि कात्तिक पहिलो साता प्राधिकरण, ठेकेदार कम्पनी र परामर्शदाताले संयुक्त रूपमा सिल्ड लगाएका थिए । त्यतिबेला प्रजिअको भित्री सल्लाह भन्दै प्रशासन कार्यालयको उपस्थितीविनै सिल्ड लगाइएको थियो । ‘कुनै कम्पनीले गुणस्तरहीन सामान प्रयोग गरेको भए प्रजिअले निर्माण रोक्ने मात्र होइन, कारबाही गर्थे तर सरकारी आयोजनामा गुणस्तरहीन सिमेन्ट प्रयोग गरिएको सप्रमाण भेट्दा पनि उनले पूरै बेवास्ता गरे,’ आयोजनासम्बद्ध एक अधिकारीले भने, ‘चीनको कम्पनीले बदमासी गरेकाले प्रजिअले सिल्ड गर्दा भोलि चीनको राजदूतावासले गृहलाई भनेर आफ्नो सरुवा हुन्छ कि भन्ने डरले नगरेको भन्ने सुनियो, बदमासीलाई टुलुटुलु हेर्न त सिडिओले मिल्दैन नि ।’ उनले सिल्ड तोडिएबारे मागिएको प्रतिक्रियामा पनि कारबाही प्रशासनले नभई प्राधिकरणले गर्नुपर्ने बताए ।

प्रतिक्रिया