नेताहरुलाई धुलिखेलमा भव्य भोज

काभ्रे, ९ मंसिर । कांग्रेस केन्द्रीय सदस्य डा.नारायण खड्काले काभ्रेको पर्यटकीयस्थाल धुलिखेलमा राजनीतिक दल, कुटनीतिक नियोगलगायतलाई दिवा भोज खुवाएका छन् ।
डा.खड्काको दिवा भोज खान लागि उप–राष्ट्रपति परमानन्द झा समेत पुगेका थिए । कांग्रेस, एमाले, मधेसी मोर्चा, कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल भने डा.खड्काको दिवा भोजमा सहभागी भएनन् । डा.खड्काले विगत ७ वर्ष देखि दिवा भोज दिँदै आएका छन् । भोज खानकै लागि उपराष्ट्रपति, विभिन्न दलका शीर्ष नेता तथा कुटनीतिक नियोगका प्रमुखहरु लस्कर लागेर धुलिखेल पुगेका हुन् ।
भोज खानेमा उपराष्ट्रपति झा, एमाले अध्यक्ष झलनाथ खनाल, कांग्रेस सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री प्रकाशनमान सिंह, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष तथा गृहमन्त्री विजय गच्छेदार रहेका थिए ।
भोज खानेको तालिकामा १६ देशका कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरु समेत छन् ।
डा.खड्काले भोजमा सहभागी हुन एकीकृत माओवादीका अध्यक्ष दाहालसँग गरेको आग्रह खेर गएको बताए ।

प्रतिक्रिया