दोस्रो चरणदेखि नै अप्रत्यासित परिणाम

काठमाडौं, ५ मंसिर । नेपाल बैंक लिमिटेड खुला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको तेस्रो चरण सकिँदा नेपाल च्याम्पियन फिडेमास्टर मनीष हमाल, गोल्डेनगेट कलेजका रूपेश जैसवाल र मदनकृष्ण कायष्थ तथा मकवानपुरका कृष्ण थापा समान ३ अंकका साथ संयुक्त रूपमा अग्रस्थानमा रहेका छन् ।

दोस्रो चरणमा आफूभन्दा माथिल्लो वरीयताका सबै खेलाडी अप्रत्यासित नतिजाको शिकार हुँदा मनीषले भने मिलन रोकासँगको खेलमा जित हात पारे । दोस्रो चरणमा पूर्णराज खड्काले शीर्ष वरीयताका केशव श्रेष्ठलाई हराए भने श्याम श्रेष्ठले दोस्रो वरीयताका सुरवीर लामालाई पराजति गरे । तेस्रो वरीयताका बद्रीलाल नेपाली प्रेमकृष्ण मर्हजनसँग बराबरीमा रोकिए । त्यसै चरणमा नवीन तण्डुकार एभरेस्ट चेस क्लबका विवेक लामासँग बराबरीमा रोकिए भने राजेन्द्रप्रसाद श्रेष्ठलाई राजन दाहालले बराबरीमा रोके ।
अग्रता कायम गर्ने क्रममा मनीषले तेस्रो चरणमा अर्का फिडेमास्टर सुजेन्द्रप्रसाद श्रेष्ठलाई निरास पारे । सिसिलियन मोरा ग्याम्बिट प्रणालीमा चौथौंँ चालमा एउटा सिपाही बलिदान गरी मनीषले आक्रामक सुरुआत गरेका थिए । जसले गर्दा सुजेन्द्र रक्षात्मक खेल खेल्न बाध्य भए । लगातार दबाब बढाउँदै मनीषले १७औँ चालमा उँटसित हात्ती साटेर खेलमा बलियो पकड बनाए र ३०औँ चालमा जित हासिल गरे ।
यसैगरी, रूपेशले दोस्रो खेलमा ललितपुरका सोम आले र तेस्रो खेलमा ध्रुवतारा क्लब दमकका नीरज निरौलामाथि सफलता प्राप्त गरे । गत महिना टर्कीमा सम्पन्न चेस ओलम्पियाडदेखि उत्कृष्ट लयमा रहेका रूपेशले सेतो गोटी लिई क्विन्स् ग्याम्बिट प्रणालीमा खेल सुरु गरेका थिए । नीरजमाथि लगातार दबाब दिँदै उनले ४२औँ चालमा एउटा सिपाही फाइदा गरे र ८४औँ चालमा नीरजलाई खेल त्याग्न बाध्य पारे ।
कृष्ण थापाले पनि राम्रो प्रदर्शन गरी दोस्रो खेलमा काठमाडौं चेस क्लबका प्रनीत सिग्देल र तेस्रोमा मोरङका पूर्णराजलाई हराए । त्यसैगरी, मदनले अन्नपूर्ण उमाविका हिमाल लामा र भक्तपुरका दामोदर गाईंजूलाई माथ गरे ।
नेपाल बैंक लिमिटेड केन्द्रीय प्रशिक्षण केन्द्र, कोपुन्डोल ललितपुरमा जारी प्रतियोगितामा पूर्व नेपाल च्याम्पियन बद्रीलाल नेपाली, नवीन तण्डुकार, ललितपुरका राजन पुरी, भेट्रान राजेन्द्रप्रसाद श्रेष्ठ, हिमालयन चेस क्लबका प्रेमकृष्ण महर्जन र चितवनका अनरेटेड सन्तोष गौतम साढे २ अंक हासिल गरी संयुक्त रूपमा दोस्रो स्थानमा छन् ।
पाँचदिने प्रतियोगितामा फिडेमास्टर सुजेन्द्र, मछिन्द्र क्लबका श्यामसुन्दर श्रेष्ठ, नीरज निरौला, सुरवीर लामा, भक्तपुरका दामोदर गाईंजू र उमेश सैँजू, भेट्रान सीताराम अग्रवाल, सोम आले, कान्तिपुर चेस क्लबका आशानारायण लवट, दोलखाका गोविन्द श्रेष्ठ, चेतनशील समाजका राजु शाक्य, पूर्णराज खड्का, हिमाल लामा, मिलन रोकाले समान २ अंक जोडेका छन् । पहिलो चरणमा बद्रीलाललाई कठिन चुनौती दिएका विक्रमध्वज श्रेष्ठले तेस्रो चरणमा सनसनीपूर्ण खेल खेल्दै केशव श्रेष्ठसँग बराबरी गरे ।

प्रतिक्रिया