फुटबल त्यागेर मोटर स्पोर्ट्समा लगाव

काठमाडौ, २८ कात्तिक । सन् ९० को दशकमा बार्सिलोना फुटबल क्लबमा अत्यधिक प्रभावकारी रहेका जोसेफ ओरेला अहिले फुटबलको दुनियामा छैनन् । फुटबलको दुनियाबाट निराश उनी हाल मोटर स्पोर्ट्समा आबद्ध छन् । ‘फुटबलको दुनियामा सबैजना स्वार्थी र लोभी मात्र महसुस गरेँ । लापोर्टासँग क्लब अध्यक्षमा पराजित भएपछि पनि फुटबलको दुनियामा प्रवेश गर्न चाहेका थिए । तर, वातावरण आफू अनकूल भएन,’ सन् १९९७ मा बार्सिलोनाको क्लब अध्यक्षमा उम्मेदवार भएर वर्तमान अध्यक्ष नुनोज लापोर्टासँग पराजित भएपछि फुटबलसँगको साइनो छाड्नुको कारण बताउँदै बार्सिलोनाका पूर्वकानुन अधिकृत ओरेलाले सौर्यसँगको कुराकानीमा भने ।
नेपाल अटोमोबाइल स्पोर्ट्स एसोसिएसन (नासा) ले ओरेलाका छोरा फर्मुला वान ड्राइभर पेप ओरेला र बाबु जोसेफको स्वागतमा आइतबार आयोजना गरेको कार्यक्रममा उनले यस्तो निराशा व्यक्त गरेका हुन् । ९० को दशकको बार्सिलोनाको स्वर्णिम युगमा ओरेलाको भूमिका महत्त्वपूर्ण रहेको थियो । कानुन व्यवसायीका रूपमा उनले रिभाल्डो, प्याट्रिक क्लुभर्ट, रोमारियो, लुइस फिगो र ह्रिस्टो स्टोइचकोभलाई क्लबमा भित्र्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
‘क्लबका कर्मचारी अनुशासित थिए र इमानदार पनि । त्यसबेलाको एकेडेमी उत्कृष्ट थियो । बार्सिलोनाले अहिलेको मिहिनेतले होइन, ९० को दशकमा तयार गरिएको संरचनाको फल पाइरहेको छ,’ हाल उत्कृष्ट रहेका सबै खेलाडी ९० को दशकमा एकेडेमीमा गरिएका मिहिनेतको प्रतिफल भएको दाबी गर्दै उनले भने, ‘बार्सिलोनाले अंगीकार गरेको आकर्षक शैलीको सुरुआत पनि त्यसै समयमा भएको थियो ।’ स्मरणीय छ, बार्सिलोनाले ९० को दशकदेखि नै परम्परागत युरापेली शैली त्याग्दै नयाँ शैलीको सुरुआत गरेको थियो । ओरेलाचाहिँ सन् १९९७ देखि अध्यक्ष रहेका लापोर्टाको प्रखर ओलोचकका रूपमा स्पेनिस फुटबलमा चिनिन्थे ।
तीनपटकका फिफा वर्षखेलाडी रोनाल्डोको बार्सिलोना प्रवेश भने ओरेला बार्सिलोनामा रहँदाको सबैभन्दा महत्त्वपूर्ण समय मानिन्छ । सन् १९९५ मा रोमारियो र ह्रिस्टो स्टोइचकोभको फर्म खस्केपछि एउटा उत्कृष्ट स्टारको खोजीमा रहेको बार्सिलोनाले पिएस भी आइन्डहोभनबाट रोनाल्डो भित्र्याएको थियो जुन कदम रोनाल्डो र बार्सिलोना दुवैका लागि महत्त्वपूर्ण सावित भयो । सन् १९९६ का फिफा वर्षखेलाडी घोषित रोनाल्डो १९९७ मा इन्टरमिलान प्रवेश गरे पनि आर्थिक रूपले बार्सिलोनाका लागि लाभदायक नै रहयो । यसपछि जोसेफले बारम्बार फुटबलमा नयाँ क्षेत्रको खोजी गरे पनि सकेनन् । निराश भएपछि उनी आइसहक्कीको दुनियामा प्रवेश गरे । उनका छोरा पेप पनि आइसहक्की खेलाडी बने । बाबु संघ अध्यक्ष बने भने छोरा पेप राष्ट्रिय खेलाडी भए ।
तर, छोरा पेप केही वर्षअघि मोटर स्पोर्ट्समा आबद्ध भएपछि उनी छोरासँगै घुम्न थाले । संघाईमा एउटा रेस सकिएर मकाउको रेसमा जान तयार बाबु–छोराबीचमा रहेको चार दिनको समय बिताउन काठमाडौं भ्रमणमा आएका हुन् । केही समयअघि मोटर स्पोर्ट्सको आधिकारिक निकाय एफआइएमा आबद्ध नेपाल मोटर स्पोर्ट्स एसोसिएसनले आइतबार आयोजना गरेको कार्यक्रममा उपस्थित जोसेफले डेढ दशकअगाडिको निराशालाई बिर्सन प्रयास गर्दै भने, ‘फुटबलमा धेरै स्वार्थ देखियो । अब मेरो लगाव मोटर स्पोर्ट्स नै हो ।’

प्रतिक्रिया