किताबले सिकायो जीवन हिँड्न

अहिले आएर मलाई लाग्छ, पुस्तकले नै पहिले पाठकलाई आएर म तिमीलाई प्रेम गर्छु भन्न सक्नुपर्छ । उक्त पुस्तक पाठकले पढेपछि मात्र पुस्तकले राखेको प्रेमप्रस्ताव स्विकार्ने कि न नस्विकार्ने निर्णय पाठकले गर्छ ।
म पढन्ते होइन तर अपढन्ते पनि होइन ।
चाहे जस्तोसुकै होस्, पुस्तक पढेपछि एउटा मान्छेलाई चिनेर ऊसँग केही समय कुरा गरेजस्तै लाग्छ ।
सबैभन्दा पहिले मन पराएको पुस्तक ‘श्रीस्वस्थानी’ हो । यो धार्मिक पुस्तक मेरो जीवनको अत्यन्त मार्मिक पुस्तक बन्यो । जतासुकै उजाड, शिशिरको चिसो सिरेटो, जसले गर्दा अनुहार र ओठ सुख्खा भएर फुट्ने माघ महिना मलाई एउटै कारणले मनपथ्र्यो किनभने माघ महिनामा स्वस्थानी पढिन्छ । स्वस्थानीका तिलस्मी कथा, जादुगरी उडान र त्यसभित्रको आन्तरिक लयले मलाई साह्रै तान्थ्यो ।
अध्ययन गर्दै जाँदा पछि थाहा भयो पूर्वीय पुराण त संसारकै सम्पन्न साहित्य रहेछ । एउटा सिंगै जीवन त हाम्रा ‘अठार पुराण’, ‘वेद’, ‘उपनिषद्’, ‘रामायण’, ‘महाभारत’ छिचोल्दा सकिने रहेछ । जति पढेको छु, बुझेको छु, त्यसले नै मलाई पौराणिक साहित्यप्रेमी बनाएको छ ।
सानो छँदा आमाले गौरी खण्डकाव्यका श्लोकहरू बा नभएको बेलामा भाका हालेर कारुणिक लयमा सुनाउँदा मलाई त्यसै–त्यसै रुन आउँथ्यो । पहिलोपटक जानेँ– कसैले पिट्दा, भोक लाग्दा, आफूले भनेको बाआमाले नदिँदा मात्र होइन, आँसु त कविता सुन्दा पनि झर्दोरहेछ । अझ थाहा पाएँ, गर्मी महिनामा बाले नासो कथासंग्रहका कथाहरू निमको बोटमुनि बसेर सुनाउँदा ।
बा स्कुलमा पढाउनुहुन्थ्यो । स्कुलबाट फर्केपछि बा खाजा खाँदा पनि किताब पढ्दै खानुहुन्थ्यो । म नजिकै गएर हेर्थें, के किताब रहेछ भनेर । ती कि त इतिहासका पुस्तक हुन्थे कि त साहित्यका कि पत्रपत्रिका । विशेष गरी साहित्यका पुस्तक बा दायाँबायाँ लागेको मौका पारेर म हेर्थें । बाले पछि आएर अलि हप्काउने पारामा भन्नुहुन्थ्यो, ‘केट्केटीले यस्ता किताब पढ्दैनन् । खुरुखुरु आफ्ना किताब नपढेर !’
म बासँग डराउँथेँ । जिद्दी गरेर म पढ्छु भन्न सक्तिनथेँ । बाले यसरी पढ्दै गरेका पुस्तक आफ्नो सिरानीमुनि राख्नुहुन्थ्यो । बा नभएको बेलामा म सिरानी मुनिबाट खुसुक्क यस्ता किताब झिकेर पढ्थेँ । ‘नासो’, ‘वसन्ती’, ‘सेतो बाघ’जस्ता पुस्तक मैले यसरी नै पढेका किताब हुन् । यी तीन किताबले अत्यन्त गहिरो प्रभाव पारे मेरो जीवनमा । नासो कथासंग्रह पढ्दा म त्यति नै रोएँ होला जति गुरुप्रसाद मैनालीले पुस्तक लेख्दा मसी खर्च गरका थिए ।
‘वसन्ती’ र ‘सेतो बाघ’ पढेर त मैले एसएलसी परीक्षा दिएपछि उपन्यास नै लेखेको थिएँ । विषय अरू नै भए पनि ती पुस्तकका शैलीको मैले नक्कल गरेको थिएँ । त्यति बेला फिल्म अलि धेरै हेर्ने भएकाले मैले लेखेका ती उपन्यासमा फिल्मी प्रभाव पनि थियो ।
मलाई उपन्यास भनेको पनि थाहा थिएन । मेरा असाध्यै मिल्ने साथीले नौ कक्षा पढ्दा एउटा पुस्तक स्कुलमै लिएर आए । हामी तीनजना साथी असाध्यै मिल्थ्यौँ– तारा, नवीन र म । ताराले हाफछुट्टीमा स्कुलअगाडिको सिसौघारीमा लगेर कसैले देख्लान् कि भनेझैँ सुटुक्क एउटा पुस्तक झिके । त्यो उपन्यास थियो, अश्लील खालको । सायद त्यसको नाम आगो थियो । हामी बिस्तारै पढ्दै थियौँ । अलिकति पढेपछि मलाई लाग्यो, यस्तो किताब त कसैले पनि पढेको छैन र कसैलाई देखाउन पनि हुँदैन । हामी तीन जनाले घोप्टिएर पढ्दै थियौँ । थाहै भएन दुईजना केटीहरू हामी नजिकै आएका रहेछन् । मैले देखिहालेँ । ताराले हतारिँदै लुकाऊ–लुकाऊ भने । मैले पनि हतारिँदै आफ्नै तिघ्रामुनि लुकाएँ । एउटी केटीले सोधिन् – ‘के पढेको नि अमर ? देखाऊ न हाम्लाई पनि ।’
केही पनि होइन भनेर रातोपिरो हुँदै म टक्टकिएँ । तर, उनले पत्याइनन् । प्रतिक्रियामा उनले मलाई पल्टाइन् र मेरो तिघ्रामुनिबाट त्यो कसैलाई देखाउन नहुने किताब झिकेर हेरिन् । म लाजले डल्लिएँ – ला, अब बर्बाद भयो । मलाई आपैँm नांगिएजस्तो भयो । तर, उनले किताब फरर्र पल्टाउँदै मेरै तिघ्रामा राखिदिएर भनिन् – ‘ए, यो त मैले पहिलोपटक मिन्स हुँदा लुकेको बेलामा पढेको ।’
हामी तीनैजना हिस्सै पर्‍यौँ । त्यसबेला युधिर थापा, वसन्त आदिका केही उपन्यास पढेँ । यस्ता किताबबाट मलाई ‘वसन्ती,’ ‘सेतो बाघ’जस्ता उपन्यासले चाँडै मुक्ति दिए ।
एक दिन मैले बाको सिरानीमा विश्वेश्वरप्रसाद कोइरालाको उपन्यास ‘तीन घुम्ती’ देखेँ । मैले बाको आँखा छलेर त्यो उपन्यास पढेँ । तर, ‘नासो,’ ‘वसन्ती’ आदि जस्तो पढूँपढूँ लागेन । पढिसकेपछि पनि मजा पनि लागेन । आफ्नो लोग्ने हुँदाहुँदै रमेशसँग सम्बन्ध राखेर छोरीसमेत जन्माउने प्रतिनिधि पात्र इन्द्रमायाको चरित्र मलाई मन परेन । लाग्यो, यस्तो देखाएर लेखकले के सन्देश दिन खोजेका होलान् ?
‘तीन घुम्ती’ मन पराउन मलाई दुई वर्ष लाग्यो । जब जीवनलाई अलिकति भए पनि बुझ्दै गएँ, त्यसपछि विश्वेश्वरप्रसाद कोइरालाका सम्पूर्ण पुस्तक खोजीखोजी पढ्न थालेँ । उपन्यासमा ‘सुम्निमा’ र ‘मोदिआइन’को प्रभाव मेरो जीवनमा अत्यन्त गहिरो पर्‍यो । कथामा ‘चन्द्रवदन’, ‘पवित्रा’, ‘कर्नेलको घोडा’, ‘होड’, ‘मधेसतिर’, ‘राइटर बाजे’, ‘श्वेतभैरवी’ त विश्वसाहित्यमै उत्कृष्ट कथामा पर्छन् जस्तो लाग्छ ।
यस्ता पुस्तकको अध्ययनपछि मलाई सामाजिक यथार्थवादी आख्यानभन्दा मनोवैज्ञानिक यथार्थवादी, दार्शनिक, अस्तित्ववादी, शून्यवादी खालका आख्यानहरू बढी मन पर्न थाल्यो । कोर्सबुकमा भएका विश्वप्रसिद्ध अंग्रेजीका कथाहरूले पनि मलाई अलि गहिराइ भएका आख्यान पढ्न प्रेरित गर्‍यो ।
प्रमाणपत्र तह दोस्रो वर्षको परीक्षा दिएपछि विश्वेश्वरप्रसाद कोइरालाको उपन्यासको प्रभावमा त्यही शैलीको नक्कल गर्दै मैले दुईओटा मनोवैज्ञानिक उपन्यास लेखेँ । अहिले सम्झँदा लाग्छ, ती साह्रै कच्चा थिए ।
यसै सिलसिलामा मैले लीलबहादुर क्षेत्रीको ‘बसाइँ’, लीलाध्वज थापाको ‘मन’, गोविन्दबहादुर गोठालेको ‘पल्लो घरको झ्याल’, पारिजातको ‘शिरीषको फूल’ र ‘महत्ताहीन’, विजय मल्लको ‘अनुराधा’, धच गोतामेको ‘घामका पाइलाहरू’ आदि पुस्तक पढेँ ।

‘बसाइँ’ र ‘मन’बाहेक अरू पुस्तकलाई अझ गहिराइमा गएर बुझ्न मैले दोहोर्‍याई–तेहर्‍याई पढ्नुपर्‍यो ।
‘सुम्निमा’, ‘तीन घुम्ती’, ‘शिरीषको फूल’जस्ता पुस्तक आजभोलि पनि बेलाबेलामा पढिरहेको हुन्छु ।
म खुब फिल्म हेर्ने मान्छे । यस्ता पुस्तकले फिल्म हेर्ने लत हटाइदियो । ती मसलेदार फिल्मले मेरो साधारण मानसिकतालाई ब्ल्याकमेलिङ गरेर आफ्नो दर्शक बनाए जस्तो लाग्यो, जहाँ जीवनको गहिर्‍याइ पाइनँ ।
स्नातक पढ्दा पढेका पुस्तकहरू ध्रुवचन्द्र गौतमको ‘डापी’, ‘अलिखित’, ‘एक सहरमा एक कोठा’, ‘उपसंहार अर्थात् चौथो अन्त्य’, राजेश्वर देवकोटाको ‘द्वन्द्वको अवसान’, मनु ब्राजाकीको ‘तिम्री स्वास्नी र म’ आदि पुस्तकले ममा अत्यन्त गहिरो प्रभाव पारे । मनु ब्राजाकीका कथामा प्रस्तुत भएको इमानदारी र व्यंग्य गर्ने कलाले मलाई धेरैपटक कथा लेख्न प्रेरित गर्‍यो ।
यसपछि मैले इन्द्रबहादुर राईको ‘आज रमिता छ’ पढेँ । कस्तो नमिलेको उपन्यास † पढिसकेपछि पनि केही समयसम्म औषधि खाएजस्तै नमिठो भइरह्यो । तर, त्यसपछि मलाई लाग्यो– ‘आज रमिता छ’ उपन्यास नमिलेको होइन, मान्छेको जीवन नै नमिलेको हो । नमिलेको मान्छेको जीवनको यथार्थता नै आज रमिता छ उपन्यास हो । उनका कथासंग्रहहरू कथास्था, कठपुतलीको मन पनि झन् त्यस्तै । इन्द्रबहादुर राईको अफ्ठयारो र नमिलेको जस्तो लाग्ने लेखाइ मलाई जिन्दगीजस्तै लाग्छ । त्यसैले उनको आख्यान असाध्यै मन पर्छ ।
‘माधवी’ पढ्न मलाई ‘आज रमिता छ’ पढ्न भन्दा गाह्रो भयो । त्यहाँ प्रयोग भएका वैदिक भाषाका कारणले । तर, आधाआधी पुर्‍याएपछि लाग्यो, म एउटा हिमाल आरोहण गर्दै छु, जसको आधा आरोहण गरिसकेँ । जब, पुस्तक सकेँ, हिमालको चुचुरोमा पुगेजस्तै आनन्द आयो ।
सरुभक्तको ‘पागल बस्ती’ पढ्दा त मैले मन परेका हरफहरू कापीमा सार्दै पढेको थिएँ । पहिलेपहिले अलि फुर्सद हुँदा मेरो पढ्ने तरिका नै यस्तै हुन्थ्यो । अरू राम्रा लागेका पुस्तकहरूको पनि राम्रा लागेका हरफहरू मैले कापीमा सार्दै पढ्थेँ । उनको समय त्रासादी उपन्यास पढ्दा जब आधामा पुगेँ मलाई त्यहाँको बीभत्स चित्रणले पढ्नै गाह्रो बनाएको थियो । कति दिन त सपनामा पनि त्यहाँका विभत्स दृश्यहरू देखेँ ।
कृष्ण धरावासीको आत्मकथात्मक उपन्यास मेरा लागि पछिल्लो चरणमा सर्वाधिक रुवाउने पुस्तक बन्यो । ‘नासो’ कथा पढ्दा जत्तिकै रोएँ म, एउटा छिप्पिइसकेको मान्छे । उनको ‘झोला’, ‘राधा’, ‘शरणार्थी’ र उनका निबन्धहरू पनि मेरा प्रिय पुस्तक हुन् ।
महेशविक्रम शाहको ‘सटाहा’ कथासंग्रह पढ्दा मलाई धनगढीको थारूगाउँमा गएजस्तै लागेको थियो । कथा बुन्ने तरिका पनि त्यस्तै मीठो । उनको पहिलो कथासंग्रह नै मलाई पहिलो प्रेमजत्तिकै मीठो लागेको थियो । नयनराज पाण्डेको ‘उलार’ पढेपछि मलाई लाग्यो, यति गहिरोसँग जिन्दगी र राजनीतिको उलार यति छोटो उपन्यासमा पनि यति कुशलतापूर्वक देखाउन सकिँदो रहेछ ।
अविनाश श्रेष्ठको ‘तान्या, इन्द्रकमल र अन्धकार’ कथासंग्रहका कथाका शैली, शिल्प, प्रयोग र काव्यिक भाषाले म साह्रै लोभिएको थिएँ । आन्विका गिरीको ‘कम्युनिस्ट’ कथा त मैले कक्षामा विद्यार्थीहरूलाई नै सुनाएँ । सुनाइसकेपछि एउटा विद्यार्थीले सोध्यो, ‘सर कम्युनिस्ट हुनुपर्छ हो ?’
कुमार नगरकोटीको ‘मोक्षन्त : काठमाण्डू फिभर’का कथा बौद्धिक र नयाँ बान्कीका लागे, जसले मलाई निकै नै बौद्धिक खुराक दिएको थियो ।
नारायण वाग्लेको उपन्यास ‘पल्पसा क्याफे’को शैली र संवाद, नारायण ढकालको उपन्यास ‘प्रेतकल्प’को विषय र प्रस्तुति, बुद्धिसागरको उपन्यास ‘कर्नाली ब्लुज’को रूप पक्ष र शैली उत्कृष्ट लागेको हो ।
लघुकथाहरू खासै पढ्थिनँ । सायद, कसैले त्यसको उत्कृष्टतालाई चुम्न नसकेर होला । रवीन्द्र समीरका लघुकथा संग्रहरू ‘ईश्वरका कथा’, ‘अर्जुनदृष्टि’, ‘अणु र पहाड’ पढेपछि कहिलेकाहीँ मेरो दिमागमा पनि लघुकथा आपँैm बनिन थाले ।
अशेष मल्लका नाटकहरू ‘अनादिक्रम’ र ‘सडकदेखि सडकसम्म’ नाटक पढ्दा मलाई नाटक नै हेरिरहेजस्तो भएको थियो । गोपी सापकोटाको ‘पूर्णविराम र खरानी’ नाटकसंग्रह पढ्दा त विश्वको कुनै उत्कृष्ट नाटक पढ्दै छु जस्तो भयो ।
आत्मकथाहरूको नाम लिन पर्दा यतिखेर तीन पुस्तक झलझली सम्झिरहेछु, विश्वेश्वरप्रसाद कोइरालाको ‘आत्मवृत्तान्त,’ कृष्ण धरावासीको ‘आधा बाटो’ र जगदीश घिमिरेको ‘अन्तर्मनको यात्रा’ ।
ताना शर्माका नियात्रा र खगेन्द्र संग्रौलाका संस्मराणात्मक निबन्धमा प्रयोग भएका नेपाली लोकजीवनका ठेट झर्रा शब्दले स्थानीय माटोको सुगन्ध दिन्छ । अरू भाषामा अनुवाद नहुने त्यो आफ्नोपनको सुगन्धले पढ्दापढ्दै म धेरैपटक मुग्ध भएको छु ।
केही कवितासंग्रहहरू जसले मलाई आख्यान लेख्नसमेत प्रेरित गर्छन् । जस्तो: श्रवण मुकारुङको ‘बिसे नगर्चीको बयान’, कृष्णभूषण बलको ‘भोलि बास्ने बिहान’, श्यामलको ‘हतारमा यात्रा’, सरस्वती प्रतीक्षाको ‘यद्यपि प्रश्नहरू’ आदि कवितासंग्रहरू ।
राम्रा भए पनि धेरै किताबहरूले बुककेसमा मात्र ठाउँ पाउँछन् । थोरै पुस्तक हुन्छन्, जसले सिरानीमुनि बस्ने सौभाग्य पाउँछन् ।
लक्ष्मीप्रसाद देवकोटाको ‘लक्ष्मी निबन्धसङ्ग्रह’, शंकर लामिछानेको ‘एब्स्ट्रयाक चिन्तन प्याज’, माधव घिमिरेको ‘गौरी’, गोपालप्रसाद रिमालको ‘आमाको सपना’, भूपी शेरचनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’, तुलसी दिवसको ‘तुलसी दिवसका कविताहरू’, मनु मञ्जिलको ‘ल्याम्पपोस्टबाट खसेको जून,’ विश्वेश्वरप्रसादका प्राय: सबै पुस्तकहरू बेलाबेलामा मेरो सिरानी भएका छन् ।
यस बसाइँमा मलाई नेपाली साहित्यका मनपर्ने पुस्तकका बारेमा लेख्दैमा ठिक्क भयो ।

 

प्रतिक्रिया