पोखरा, २३ कात्तिक । एनसेल कप विजेता मनाङमस्र्याङ्दी क्लब पोखरामा जारी सफल पोखरा कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको प्रतिस्पर्धात्मक पहिलो सेमिफाइनलमा मनाङले न्युरोड टिम (एनआरटी) लाई १–० ले पराजित गर्यो ।
मनाङलाई जित दिलाउने क्रममा चौथो मिनेटमा सुजल श्रेष्ठले गोल गरेका हुन् । अमिर श्रेष्ठले क्रस गरेको बललाई हेडमार्फ गोल गर्दै सुजलले मनाङलाई फाइनल प्रवेश गराएका हुन् । मनाङ मस्र्याङ्दी क्लब अब उपाधिका लागि बिहीबार मछिन्द्र र हिमालयन शेर्पाबीच हुने सेमिफाइनलको विजेतासँग २५ कात्तिकमा खेल्नेछ । मनाङका तर्फबाट खेल अवधिभर प्राप्त अन्य अवसर भने सदुपयोग हुन सकेनन् । बुधबारको खेलमा मनाङका ज्याम्बो मेन अफ दि म्याच घोषित भए ।
खेलको सुरुवातमा सम्हालिन नसक्दा चौथो मिनेटमै गोल खान पुगेको एनआरटीले दबाबका साथ खेले पनि उसको प्रयासले सफलता पाउन सकेन । एनआरटीका तर्फबाट गोलका केही अवसर प्राप्त भए पनि गोलमा परिणत भने हुन सकेन ।
खेलपछि प्रतिक्रिया दिँदै मनाङका प्रशिक्षक कृष्ण थापाले बुधबारको खेलमा आफ्नो टिमले भाग्यले जितेको प्रतिक्रिया दिए । उनले एनआरटी पनि बलियो टिम भएको बताए । आफ्ना जस्ता स्टाइकर एनआरटीमा भएको भए परिणाम अर्कै हुने उनको भनाइ थियो । प्रशिक्षक थापाले खेलमा के हुन्छ भन्ने कठिन हुने बताउँदै यति वा मछिन्द्र दुईमध्ये जुन टिम फाइनलमा प्रवेश गरे पनि आफ्नो टिमका लागि उत्तिकै भएको उनको भनाइ छ ।
एनआरटीका प्रशिक्षक डिकेन सुवालले हारलाई सहज रूपमा स्वीकार गरेका छन् । उनले आफ्नो टिमको मिडफिल्डले राम्रो गर्न नसक्दा पराजय भोग्नुपरेको बताए । विपक्षी मनाङका खेलाडी आफ्नो टिमका खेलाडीभन्दा अनुभवी र सिनियर रहेको उनको प्रतिक्रिया थियो ।
मनाङ मस्र्याङ्दी क्लब यसअघि क्वार्टरफाइनलमा विभागीय टिम सशस्त्रको एपिएफलाई ३–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । त्यस्तै, एनआरटीले पाउना टिम भुटानको ड्रुप पोल फुटबल क्लबलाई २–१ गोल अन्तरले पाखा लगाउँदै सेमिफाइनलको यात्रा तय गरेको थियो ।
बिहीबार दोस्रो तथा अन्तिम सेमिफाइनल खेल यति हिमालयन शेर्पा क्लब र मछिन्द्र क्लबबीच हुनेछ । यति हिमालयन शेर्पाले क्वार्टरफाइनलमा पाउना टोली बांगलादेशको २३ वर्षमुनिको राष्ट्रिय फुटबल टोलीलाई सडन डेथमा ५–४ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो भने मछिन्द्र क्लबले पाउना टोली भारतको कोलकत्ता पोट ट्रस्ट स्पोर्ट्स क्लबमाथि एकतर्फी ६ गोल गर्दै सोमिफाइनलको यात्रा तय गरेको हो । बिहीबारको खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । मोफसलकै सर्वाधिक पुरस्कार राशि रहेको प्रतियोगिताको उपाधि विजेताले नगद तीन लाख पाँच हजार र उपविजेताले नगद एक लाख ५० हजार रुपियाँ हात पार्नेछन् ।
प्रतिक्रिया