आर्चरीमा विदेशी प्रशिक्षक

काठमाडौं : सन् २०१४ को एसियन गेम्स आयोजक दक्षिण कोरियाको इन्चियोनले नेपालमा आर्चरी प्रशिक्षणका लागि लि चुङ वुनलाई एक वर्षका लागि पठाएको छ । राम्रो सम्भावना बोकेको खेलका रूपमा लिइने आर्चरीमा प्रशिक्षक नै नभएको स्थितिमा वुनको नेपाल उपस्थितिलाई महत्त्वका साथ हेरिएको छ । खेलाडी प्रेमबहादुर पुनलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले करारमा प्रशिक्षक नियुक्त गरे पनि उनी सक्रिय प्रशिक्षणमा त्यति प्रभावी छैनन्  । एसियाली ओलम्पिक कमिटी (ओसिए) इन्चियोन भिजनअन्तर्गत वुन नेपाल आएका हुन्, जसका लागि धेरै प्रयास गरिएको नेपाल आर्चरी संघका अध्यक्ष लक्ष्मण श्रेष्ठले बताए ।
वुन प्रशिक्षणका लागि आए पनि नेपालमा प्रशिक्षण स्थलको अभाव देखिएको छ । काठमाडौंमा आर्चरी खेल्ने रेन्ज (फिल्ड) छैन । नेपालकै एक मात्र रेन्जका रूपमा पोखरामा आर्चरी फिल्ड रहेको छ । अस्थायी रेन्ज बनाएर प्रतियोगिताहरू सञ्चालन गर्ने गरिएको छ । रेन्ज नहँुदा खेलाडीलाई समेत प्रशिक्षण गर्न समस्या रहेको छ । आर्चरी संघले वुनले गर्ने प्रशिक्षणका लागि हालका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)को त्रिपुरेश्वरस्थित नयाँ कभर्डहल प्रयोग गर्न थालेको छ । मंगलबारदेखि वुनले सिनियर खेलाडीलाई प्रशिक्षण थालेका छन् । (सौस)

प्रतिक्रिया