बेलायतमा शिक्षा : भ्रम र यथार्थ

केही समययता हरेक वर्ष बिभिन्न मुलुकका हजारौँ विद्यार्थी उच्च शिक्षा हासिल गर्न एवं उज्ज्वल भविष्यको खोजीमा संसारका विभिन्न मुलुकमा पुग्ने गरेका छन् । यस्तै, नेपाली विद्यार्थीहरू पनि अध्ययनको सिलसिलामा बिदेशिने गरेका छन् । नेपाली विद्यार्थीको हैसियतअनुसार बिदेशिनेहरूको मुख्य गन्तब्यस्थल बेलायत, अस्ट्रेलिया र अमेरिका रहेको छ । अमेरिका वा अस्ट्रेलियामा नेपाली विद्यार्थीहरूको अवस्था कस्तो छ त्यो मलाई त्यति थाहा भएन । तर, बेलायतमा भने थुप्रै विद्यार्थीहरूले आफूले सोचेको वा कल्पना गरेभन्दा भिन्न अवस्थामा गुजारा गर्नु परिरहेको छ । नेपाली बिद्यार्थीहरूको ठूलो संख्या शिक्षा हासिल गर्नु त कता हो कता जीबिकोपार्जन गर्न समेत असमर्थ भएका कारण नेपाल फर्किसकेका छन् भने कतिले जेनतेन गुजारा गरिरहेका छन् । कति बिरामी परे भने कतिले आफ्नो भविष्य अन्धकार देखेर जीवनलीला समाप्त गर्न समेत पुगे ।
बेलायतमा उच्च शिक्षा हासिल गर्न संसारका थुप्रै मुलुकबाट विद्यार्थीहरू आउने गर्छन् । सबैजसो मुलुकबाट आएका विद्यार्थीहरूको अवस्था उस्तै–उस्तै रहेको छ । केही समयअघि बिबिसीले एउटा रिपोर्ट प्रसारण गरेको थियो, रिपोर्ट यस प्रकार थियो– एकजना पाकिस्तानी विद्यार्थी उच्च शिक्षा हासिल गर्न बेलायत आएछ । ऊ लन्डनमा आफन्त कहाँ डेरा लिएर बसेको रहेछ । विद्यार्थी नियमित रूपमा कलेज जाने पनि रहेछ । तर, महिनौँ बित्दा पनि घरमा आएर पढाइमा त्यति ध्यान नदिएको जस्तो लागेछ र आफन्तले सोधेछन्, किन तिमीले केही ‘होमवर्क’ पनि गर्दैनौ ? कलेजमा के के पढाइ हुन्छ ? आदि,आदि । विद्यार्थीले जवाफमा भनेछ, हामी दिनभर कक्षामा कम्प्युटर गेम खेलेर बस्छौँ । शिक्षक पत्रिका पढेर बस्छन् । यसबारे मैले कलेजमा कुरा गरिसकेको छु तर प्रिन्सिपलले कुनै मतलव राख्दैन । त्यसैले पढ्ने कोर्स के हो, कति पढ्नु पर्छ ? भन्नेबारे समेत केही थाहा छैन, ‘होमवर्क’ हुने त कुरै भएन ।
घरबेटी पेशाले वकिल रहिछन्, उनले कलेजमा टेलिफोन गरेर निज विद्यार्थीले भनेका कुरामा कति सत्यता छ भन्ने बुझ्ने प्रयास गरिछन् तर उनी कलेजबाट खबर पाउन सफल हुन नसकेपछि होम अफिसलाई टेलिफोन गरेर विद्यार्थीले उनलाई भनेको कुरा बताइछन् । ती वकिलको फोन पाएपछि होम अफिसले लन्डनस्थित उक्त कलेजमा छापा मारेछ । होम अफिसले अनुसन्धान गर्दा निज पाकिस्तानी विद्यार्थीलगायत अरू केही विद्यार्थीको पनि कलेजले नियमित रूपमा हाजिरी नगरेको पाइयो र पाकिस्तानी विद्यार्थीलगायत अन्य केही विद्यार्थीलाई पनि होम अफिसले उनीहरूको भिसा रद्ध गरी आ–आफ्नो मुलुक फिर्ता पठाइदियो । ती आफन्तले बिबिसीसँग कुरा गर्दै भनिन्, मैले मेरो ‘कजन’ भाइलाई त्यस प्रकारको कलेजमा भर्ना भएर नआउन भनेकी थिएँ । यदि, पढ्न आउने नै हो भने कमसेकम पाकिस्तानमा बिए वा बिएस्सी सकेर बेलायतका कुनै विश्वविद्यालयमा नियम पुर्‍याएर नियमित पढ्न भर्ना भएर मात्र आउने सल्लाह दिएकी थिएँ । तर, उसले सुनेन । उसले पाकिस्तानमा भएका दलालहरू जसले मोटो रकमका निम्ति नियमित दर्ता लाइसेन्स नै नभएका कलेजमा भर्ना देखाएर यहाँ पठाउने गर्छन् । त्यस्ताहरूको कुरा सुनेर उनीहरू मार्फत आयो ।
यदि, कुनै पनि विद्यार्थीले नियमित ढंगले विश्वविद्यालय वा कुनै कलेजमा भर्ना नभइकन एजेन्टहरूको भाँउतोमा लागेर बेलायत आउने मौका पाए पनि उच्च शिक्षा हासिल गर्ने सपना भने चकनाचुर हुन्छ । अनि, युवा युवतीहरू बिचलित हुन थाल्छन् । उता घरबाट ल्याएको पैसा सकिन थाल्छ, यता आफ्नो उद्देश्य पूरा गर्ने चाहानामा बज्रपात लाग्छ । काम गर्न अनुमति पत्रबिना पाइँदैन । विभिन्न अप्ठेराहरूको सामना गर्नुपर्छ । ती पाकिस्तानी विद्यार्थीले भोग्नु परेको नियति त्यो पहिलो होइन र अन्तिम पनि हुने छैन । थुप्रै नेपाली विद्यार्थीले पनि बेलायतमा यस्तै नियति भोगेका छन् । त्यसैले भविष्यमा विदेशमा पढ्न जान चाहने विद्यार्थीहरूले सतर्कता अपनाउनु पर्ने देखिन्छ । आफूले पढ्न चाहेको कलेज वा विश्वविद्यालयको बारेमा राम्रोसँग अध्ययन नगरिकन, यसको अवस्थाबारे नबुझिकन आँखा चिम्म गरेर हाम्फाल्दा उज्ज्वल भविष्यको चाहाना उल्टै अन्धकारमा परिणत हुन सक्छ ।
कुनै पनि बेलायती विश्वविद्यालय अन्तर्गतका कलेजहरूमा भर्ना हुनका निम्ति युसिएएस् (युनिभर्सिटी एण्ड कलेजेस् एड्मिशन सर्भिस्) भन्ने एउटा संस्था छ । बेलायतमा उच्च शिक्षा हासिल गर्न चाहने सबै विद्यार्थीहरू सोही संस्था मार्फत् भर्ना हुनुपर्छ । संसारभरका विद्यार्थीहरूले आफैँले उक्त संस्थामा टेलिफोन गरेर विश्वविद्यालय भर्ना प्रक्रियाबारे सम्पूर्ण  सूचना प्राप्त गर्न सकिन्छ । साथै युसिएएस्को वेभसाइटमा गएर ‘नेसनल एकेडेमिक रिकग्नाइजेशन इन्फरमेशन सेन्टर’ मा ल्किक गरेर आफूले अहिलेसम्म पढेको विषयको शैक्षिक योग्यता र परिक्षाफलको श्रेणीको आधारमा के केमा आफ्नो शैक्षिक योग्यताको मान्यता हुन्छ र के के अगाडी पढ्न पाइन्छ भन्ने सबै जानकारी हासिल गर्न सकिन्छ ।
त्यति गरिसकेपछि सोही वेभसाइटको अर्को लिंक नन् युके स्टुडेन्टस्मा क्लिक गरे पछि कसरी विश्वविद्यालय वा कलेजमा युसिएएस् (युनिभर्सिटी एन्ड कलेजेस् एड्मिसन सर्भिस्)मार्फत दर्खास्त दिने भन्ने सबै सूचना प्राप्त गर्न सकिने छ । अनि अर्को लिंक कलेज र विश्वविद्यालयको लिस्टमा क्लिक गरेर कुन–कुन कलेज वा विश्वविद्यालयमा आफूले पढ्न चाहेको वा आफूले पढ्न पाउने विषय पढाइन्छ र ती विषय पढ्न कुन कुन ग्रेड चाहिन्छ भन्ने खोजेर बढीमा पाँचवटा विश्वविद्यालय छनौट गर्न पाइन्छ । आफूले त्यो बिषय किन पढ्न चाहेको हो ? उक्त बिषय पढ्नका लागि आफूले केके पूर्बाधारहरू तयार पारिएको छ ? आफ्नो के कस्ता कामहरूको अनुभव छ आदि कुराहरूको बिस्तृत विवरण सहित एउटा पर्सनल स्टेटमेन्ट तयार पार्ने ।  यति गरिसके पछि आफ्ना सबै प्रमाणपत्रहरू, बिदेशी विद्यार्थीहरूका लागि नभइ नहुने अंग्रेजी भाषाको योग्यताको प्रमाण पत्रसहित युसिएएस्को वेभसाइटबाट डाउनलोड गरेको दर्खास्त फारम भरेर युसिएएस्मा अनलाइनमार्फत पठाउनुपर्छ ।
बेलायतका सबैजसो विश्वविद्यालयले विदेशी विद्यार्थीका लागि कोटा छुट्याएका हुन्छन् । ती कोटा भन्नुको अर्थ सित्तैमा पढ्न पाउने भन्ने होइन । शुल्क तिरेर पढ्ने कोटा हुन् । बेलायतका उच्च शिक्षा पढाइने कलेजहरू र विश्वविद्यालयले युसिएएस्मार्फत आएका दर्खास्त फारमलाई मात्र मान्यता दिन्छन् । यदि, कसैको दर्खास्त युसिएएस्मार्फत गएको छैन र त्यहाँको एजेन्टले सिधा कुनै कलेजसँग सम्पर्क गरेर पठाएको छ भने त्यो आपैँmमा उच्च शिक्षा अध्ययनका लागि नियम पूरा नभएको दर्खास्त मान्नुपर्छ । यदि, युसिएएस्मार्फत आएका दर्खास्त बिना कोही बेलायत आइपुगे पनि पढाइका निम्ति प्राय: धोका हुने गर्छ । तर, बिर्सन नहुने कुरा के हो भने कुनै कुनै विषयमा भर्ना पाउनका निम्ति प्रवेश परीक्षा उत्तीर्ण गर्नुपर्छ । विदेशी विद्यार्थीहरूका लागि नभइनहुने अंग्रेजी भाषाको योग्यताको जाँच दिन संसारका धेरै ठाँउमा पाइन्छ । नेपालमा पनि विभिन्न ठाँउमा यसको ब्यबस्था छ ।
युसिएएस्मा दर्खास्त पुग्नासाथ उनीहरूले दर्खास्तमा उल्लेख गरिएका सबै कलेज वा विश्वविद्यालयमा दर्खास्त पुर्‍याइदिन्छन् र केही समयपछि मेलमार्फत खवर आउनेछ । विश्वविद्यालयले भर्ना दिन स्वीकारेको खबर पाएपछि भिसाका लागि दर्खास्त हाल्नु पर्नेछ । भिसाका निम्ति दर्खास्त दिँदा विश्वविद्यालयले भर्ना दिन स्वीकार गरेको मेल, विश्वविद्यालयमा तिर्नुपर्ने शुल्क र पढाइ अबधिसम्म खान बस्न लाग्ने खर्चको ग्यारन्टी हुने सम्पूर्ण कागजपत्र पेश गर्नु पर्ने छ । त्यसपछि पढाइ अबधिसम्मका लागि भिसा पाइने छ । यदि, साँचो अर्थमा बेलायत आएर पढ्न चाहेकै हो भने बैधानिक बाटो युसिएएस्मार्फत दर्खास्त हालेर पढ्न आएमा मेहनत र खर्च खेर जाने छैन । अन्यथा, घरबास बन्धक राखेर वा साहुकोबाट ऋण काढेर दलाललाई दिएको रकम समुद्रमा फालेको ढुंगा जस्तै कहिल्यै फर्किने छैन ।

प्रतिक्रिया