‘तिहारअघि निकास’

काठमाडौं : एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले तिहारअघि मुलुकले निकास पाउने बताएका छन् । तिहारभित्र राष्ट्रिय सहमतिको सरकार बन्ने उनको दाबी छ ।
राष्ट्रपति डा. रामवरण यादवसमक्ष असोज मसान्तभित्र दलहरूबीच सहमति जुटाउने प्रतिबद्धता गरेर युरोप यात्रामा गएका अध्यक्ष दाहालले बुधबार स्वदेश फर्कंदै तिहारभित्र राष्ट्रिय सहमतिको सरकार हुने दाबी गरेका हुन् । ‘हामी दसैँअगाडि नै सहमति बनाउने कोसिस गर्छौं, जसरी भए पनि तिहारसम्म राष्ट्रिय सहमति बन्छ,’ अध्यक्ष दाहालले अन्तर्राष्ट्रिय विमानस्थलमा भने । कांग्रेस–एमालेलगायत विपक्षी दलहरू पनि सहमति गरेर चुनावमा जाने मनस्थितिमा रहेको उनको जिकिर छ । बाहिर जेसुकै कुरा गरे पनि नयाँ संविधानका सहमति भइसकेका विवादित विषयलाई समावेश गरेर संविधान घोषणा गर्न कांग्रेस–एमालेलगायत दल पनि तयार रहेको उनको दाबी छ । ‘बाहिर जेसुकै समाचार आए पनि कांग्रेस–एमाले पनि मिलेका विषय समेटेर संविधान घोषणा गरेर चुनावमा जाने पक्षमा छन्,’ दाहालले भने । विवादित विषय अनुुसूचीमा राखेर भए पनि मिलेका विषय समेटेर संविधान जारी गर्नु नै सबैभन्दा राम्रो विकल्प भएको उनको भनाइ छ ।
भ्रमणका क्रममा नेपाली तथा विदेशीहरूले नेपालको राजनीतिक निकासबारे चासो दिएको उल्लेख गर्दै अध्यक्ष दाहालले आफू नयाँ ऊर्जासहित फर्किएको बताए । ‘म ऊर्जा लिएर फर्किएको छु । दलहरूसित अब सहमतिको स्प्रिट समातेर कुरा गर्छु, केही दिनभित्र सहमति भयो भन्ने समाचार आउँछ,’ उनले भने । राष्ट्रपति यादवले संविधानसभा पुन:स्थापना हुँदैन भनेर दिएको अभिव्यक्तिबारे आफूलाई थाहा नभएको र विश्वास पनि नलागेको अध्यक्ष दाहालले बताए ।

प्रतिक्रिया