प्रचण्डको कुटिल चालबाजीको अगाडि अन्तत: अन्य राजनीतिक दलका नेता लाचार साबित भएका छन् । एकछत्र राज गर्ने र आफ्नो विकल्प नै नदेख्ने एनेकपा माओवादीका अध्यक्ष प्रचण्ड आफ्नो योजनामा सफल भएका छन् । देशलाई नै अनिर्णयको बन्दी बनाएर आफ्नो विकल्प नै नभएको सत्य साबित गरिदिएका छन् । आफ्नो क्षमताले सधँै आफूलाई राजनीतिको केन्द्र भागमा राख्न सफल प्रचण्ड विरोधीलाई ठेगान लगाउन अनेकाँै हत्कण्डा प्रयोग गर्छन्, जसमा उनी सफल पनि देखिएका छन् । राष्ट्रिय राजनीतिलाई नै आफू अनुकूल हिँडाउन सफल प्रचण्ड त्यसकालागि जस्तोसुकै कर्म गर्न पनि पछाडि पर्दैनन् । हिजो जनयुद्धकालमा सबैभन्दा प्रधानसत्रु ठानेको भारतलाई आफ्नो अनुकुलताको लागि अहित नगर्ने भनी लेखिएको पत्र सार्वजनिक हुनु, उपाध्यक्ष बाबुरामको सबैभन्दा विश्वासपात्र एवं गुरु एसडी मुनीले समेत जनयुद्धकालमा माओवादीले भारतलाई उक्त पत्र पठाएको साँचो भएको दाबी गर्नु र स्वयं प्रचण्डले समेत उक्त कुरा स्वीकार्नुले माओवादीको नांगो राष्ट्रवाद प्रष्ट हुन्छ ।
०६२/६३ को जनआन्दोलनले शाही शासनको अन्त्य र गणतन्त्र घोषणा गर्नु अघिसम्म तत्कालीन नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालालाई भावी राष्ट्रपतिको सपना देखाए । त्यसपछि गणतन्त्र घोषणा गर्न सफल प्रचण्डले त्यसभन्दा अगाडि अन्य देशसँग नेपालका सात राजनीतिक दलसँग संविधानसभाको घोषणासम्म सहमतिको सरकार गठन गरी अगाडि बढ्ने बताए । त्यसको नेतृत्व जनआन्दोलनको नायक तथा कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले नै गर्ने विश्वास दिलाए । संविधानसभाको घोषणापश्चात् हुने संसदीय निर्वाचनको परिणाम अनुसार ठूलो दलको नेतृत्वमा सरकार गठन हुने सहमति गरिएको थियो । त्यसै अनुरूप देशमा गणतन्त्रको घोषणा भयो र संविधानसभाको निर्वाचन पनि भयो । तर, आशातीत परिणामभन्दा भिन्न तवरवाट निर्वाचनमा माओवादीको मत आएपछि माओवादी अध्यक्ष प्रचण्डमा अहंता पलाउन थाल्यो । जुन कल्पनासम्म पनि नगरिएको मत परिणामले अन्तत: माओवादीलाई सर्वसत्ता लाद्न प्रेरित गर्यो । जुन, संविधानसभाको परिणामले नै देशमा यो अवस्थाको सिर्जना गर्न अहं भूमिका खेल्यो । संविधानसभाबाट माओवादी सबैभन्दा ठूलो दलको रूपमा स्थापित हुन गयो । विगतमा सबैभन्दा ठूलो दलको हैसियत बनाएको नेपाली कांग्रेस र नेकपा एमाले नराम्रोसँग साँघुरिन पुगे । जुन कारणले गर्दा देश नै विखण्डन तथा कमजोर हुनेतर्फ तल्लीन हुन पुग्यो । हिजो संयुक्त जनआन्दोलन र गणतन्त्र घोषणा गर्नुभन्दा अगाडि तत्कालीन राजनीतिक दलबीच भएको सहमति र संविधानसभाले गरेको घोषणा मार्फत हुने संसदीय चुनावसम्म सहमतिको सरकार संचालन गर्ने भद्र सहमतिको उल्लंघन त्यति बेला देखि हुन थाल्यो । जति बेला संविधानसभाको निर्वाचनबाट देशमा माओवादी पार्टी सबै राजनीतिक पार्टीको तुलनामा ठूलो पार्टी बन्न सफल भयो ।
एमाओवादी अध्यक्ष प्रचण्ड आफ्नो पार्टीले सबैभन्दा धेरै सिट जितेपछि विगतमा गरेको सहमतीय सरकारको विकल्पमा वकालत गर्न थाले । सबैभन्दा ठूलो राजनीतिक पार्टीको हैसियतमा माओवादीको नेतृत्वमा सरकार सञ्चालन हुनुपर्ने मागसहित विभिन्न सडक आन्दोलन भयो । विगतमा सहमतीय सरकार हुने निर्णय माओवादीले पालना गरेन । त्यसलगत्तै देशमा अराजकताको स्थितिको सुरुवात भयो । ठूलो पार्टी भएको दाबीसहित सरकारको नेतृत्व गरेपछि पनि सरकार सञ्चालनमा अन्य राजनीतिक दललगायत तत्कालीन सत्तारुढ दल माओवादीले सहमति बेगर सरकार सञ्चालन गर्न थाल्यो । आफूलाई सर्वोच्च शक्ति ठान्ने माओवादी त्यसपछिका दिनमा असहजताका साथ अगाडि बढ्न थाल्यो भने कटवाल प्रकरणपछि सरकारबाट बाहिरियो । त्यसपछिका दिनहरूमा पनि माओवादीको उही रवैया कायम रह्यो । संविधान निर्माणका लागि जुट्नुपर्ने राजनीतिक दलका नेता संविधान निर्माणभन्दा सत्ता केन्द्रित राजनीति गर्न थाले । पहिलो पटक सरकार सञ्चालन गरेर सम्पूर्ण सुबिधा लिएको माओवादी सत्ता बाहिर रहनै सकेन । सरकारमा रहेका राजनीतिक दललाई अनेक हत्कण्डा प्रयोग गरेर सत्ता प्राप्तीको राजनीति गर्न थाल्यो । त्यसताका एमालेको नेतृत्वमा गठन भएको दुईवटा सरकारलाई पनि विदेशीको इसारामा बनेको सरकार र कठपुतलीको संज्ञा दिएर सडकदेखि संसदसम्मलाई बन्धक बनायो । आफूले जे गरे पनि राम्रो हुने र अरूले गर्दा नराम्रो देख्ने माओवादीको यो व्यवहारले न त संविधान बन्यो न शान्ति नै आयो । यस बीचमा एमाओवादीका उपाध्यक्ष बाबुराम भट्टराईको नेतृत्वमा सरकार गठन भयो भने दुर्भाग्यवश संविधानलाई आफ्नो बच्चा दाबी गर्ने माओवादीको सरकारले नै संविधानसभाको नियतवश हत्या गर्यो । यो नियतवश गरिएको संविधानसभाको विघटन अनन्त कालसम्म माओवादीको सरकारमा बसेर राज गर्ने हतास मनस्थितिको परिणाम थियो ।
संविधानसभाको अवसानपश्चात वैचारिक रूपमा क्रान्तिकारी देखिएका एमाओवादीका हार्डलाइनर नेताले पार्टी संसदीयभासमा फसेको र अब उक्त पार्टीले जनताको संविधान दिन नसक्ने दाबीसहित नयाँ पार्टी गठन गरे । जंगलमा रहँदा जनताका हरेक समस्यामा संवेदनशील रहेको माओवादी सहर प्रवेशसँगै नसुहाउने गरी परिवर्तन हुन थाल्यो । जनमतलाई उसले कमाइ खाने भाँडाको रूपमा प्रयोग गर्यो । आफूबाहेक अरूलाई राष्ट्रघाती देख्ने माओवादी ब्यवहार भने त्यस अनुरुपको हुन सकेन । माओवादीको आन्तरिक झगडाले नेताहरूमा ठूलो मतान्तर देखियो । सरकार होस् वा पार्टी संचालनमा माओवादीको आन्तरिक कलह सडकमै असमान्य रूपले छताछुल्ल भयो । सरकारको काम कारबाहिप्रति पार्टीभित्रका हार्डलाइनर नेताले फरक मत राखे । त्यसलाई हार्दिकताका साथ समाधान गर्न एमाओवादी नेतृत्व अन्तत: असफल भयो । संविधान निर्माण गर्न नसकेपछि पार्टीभित्रका असन्तुष्ट नेतालाई पार्टीबाट अलग भएर नयाँ पार्टी निर्माणको लागि सहज बाटो खुल्यो । देश र जनताका लागि भन्दा पनि व्यक्तिगत स्वार्थमा केन्द्रित नेताका कारण जेठ १४ पछि देशमा असंवैधानिक र अराजकताको अवस्था सिर्जना गरेर अनन्तकालसम्म राज गर्ने सोच मौलाउँदै गयो । संविधानसभाले निर्माण गरेको र सहमति भएका विषयलाई सूचीबद्ध गरी विवादित विषयमा संसद्मार्फत निकास खोज्ने अन्य राजनीतिक दलको प्रस्तावलाई प्रधानमन्त्री र अध्यक्ष प्रचण्डको स्वार्थले संविधानसभा नै विघटन गरिदियो । देशमा संसद् र संविधानसभा समेत विघटन गरेर आफू निर्वाचित प्रधानमन्त्री भएको र आफूलाई कसैले पनि अपदस्थ गराउन नसक्ने सोचाइले अन्तत: नेपाली जनताको वर्षौदेखिको संविधानसभा मार्फत संविधान निर्माण गर्ने चाहना समाप्त भयो ।
देश चरम अराजकताको अवस्थामा गुज्रिरहेको यो समयमा निकास दिनका लागि राजनीतिक दलबीचमा सहमति र एकताको विकल्प छैन । दलहरू एकले अर्कालाई गाली गर्नमा नै रमाइरहेको अवस्था छ । यता माओवादी अध्यक्ष भने आफ्नो पार्टीमा आएको फुट र त्यसले पारेको असरलाई मेकअप गर्नका लागि आन्दोलनको तयारी गर्दैछन् । यही कारणले सत्तासीन दल आपैँmले मोर्चा निर्माण गरेर सधैँ कुर्सीमा बसिरहने वातावरण बनाइरहेका छन् । राष्ट्रपतिले नै कामचलाउ सरकारको घोषणा गरिसक्दा र सरकारबाट घोषित संविधानसभाको चुनाव नै नहुने निर्वाचन आयोगले बताइसक्दा पनि माओवादी यही सरकारलाई निरन्तरता दिएर देशलाई पछाडि धकेल्न मुख्य भूमिका खेलिरहेको छ । नेपालको इतिहासमा महेन्द्रको पालामा भएको मोर्चाबन्दीको पुन: कसरत भएको छ । सरकार आपैँmले मोर्चाबन्दी गरेर देशलाई नै मुठभेडको अवस्थामा लगिरहेको छ । संवादको बाटो छाडेर सडकबाट नै हिसाब–किताब गर्ने धम्की सत्तासीन दलका अध्यक्ष प्रचण्डले दिएका छन् । यो रवैया हेर्दा माओवादी देशमा विखण्डन ल्याई कसैको उपनिवेश बनाउन लागिपरेको शंका गर्न सकिन्छ । हिजो बाहिर भारतीय विस्तारवादको विरोध गर्ने र भित्र–भित्र भारतलाई असर पर्ने कुनै पनि काम नगर्ने पत्रमा लालमोहर लगाएका माओवादी अध्यक्ष प्रचण्डले अब देशलाई नै अन्धकारको भुमरीमा धकेल्दै छन् । देश नै यो अवस्थामा रहेको सन्दर्भमा सम्पूर्ण देशभक्त राजनीतिक दल र जनता एकजुट भएर समस्या समाधान गर्न लाग्नुपर्ने भएको छ ।
प्रतिक्रिया