शर्माको निधनमा सरकारको ‘शोक’

काठमाडौं : ब्राह्मण भएकै कारण मृत्युदण्डबाट बचेका ‘जिउँदो सहिद’ रामहरि शर्माको निधनका दिन कुनै सम्मान नदिएको सरकारले भोलिपल्ट शोक व्यक्त गरेको छ । शर्माको निधनको दिन प्रधानमन्त्री डा. बाबुराम भट्टराई सन्चो नभएको भन्दै बिहीबार मन्त्रिपरिषद् बैठक बसी सरकारले शोक व्यक्त गरेको हो । राणाशासनविरुद्ध उत्रिएका शर्माको निधन हँुदा सरकार र ठूला दलले उपेक्षा गरेका थिए ।
गणतन्त्रवादी नेता भनिएका रामराजाप्रसाद सिंहलाई राज्यतर्फबाट सम्मान दिइए पनि राणाशासनविरुद्ध लडेका शर्माको सम्मानमा सरकारले केही नगरेपछि चौतर्फी आलोचना भएको छ । सरकारले बुधबार दिवंगत भएका जिउँदो सहिद शर्माप्रति शोक व्यक्त गर्दै शोकसन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गरेको छ । बैठकले स्वर्गीय शर्मालाई राज्यको तर्फबाट दिइने अमरत्वका लागि परिवारसँग छलफल गरेर आवश्यक निर्णय लिने पनि निर्णय गरेको छ ।
‘मन्त्रिपरिषद् बैठकमा शर्मालाई कस्तो सम्मान दिने भन्नेबारे मन्त्रीज्यूहरूले आ–आफ्नो विचार राख्नुभएको थियो,’ सञ्चारमन्त्री राजकिशोर यादवले भने, ‘तर, सरकारले त्यसबारे कुनै निर्णय नगरी परिवारसँग सोधेर मात्र अघि बढ्ने निर्णय गर्‍यो ।’
सम्मान दिनुपर्छ भन्नेमा सबै एकमत भए पनि कस्तो खालको सम्मान दिने भन्नेमा कुनै निर्णय नगरिएको मन्त्री यादवले बताए । प्रधानमन्त्री अस्वस्थ भएकाले त्यस विषयमा लामो छलफल हुन नपाएको यादवको भनाइ थियो । बुधबारै सम्मान दिनुपर्ने भए पनि सरकारले उपेक्षा गरेको शर्माका स्वकीय सचिव विष्णु नेपालले बताए ।  (सौस)

प्रतिक्रिया