मुलुकमा ७० वर्ष अघिदेखि सुरु भएको लोकतान्त्रिक आन्दोलन र कम्युनिस्ट आन्दोलनको अथकयात्राले पनि यहाँका पीडित वर्गलाई शोषणको सिक्रीबाट छुट्कारा दिन सकेन । पटकपटकका आन्दोलनमा नेपाली जनता होमिए पनि, हजारौँ व्यक्तिले सहादत प्राप्त गरे पनि, मुलुकलाई प्रगतिशील धरातलमा उभ्याउन नसकेको तितो सत्य यथावत रहनु नेपाली जनताका लागि उत्साहजनक विषय होइन । विश्वले २१ औँ शताव्दिमा प्रवेश गरिसक्दा पनि हामीले मध्ययुगिन बर्बर युगको अवस्थामा जीवन व्यतित गर्न बाध्य हुनु जस्तो दुर्भाग्यपूर्ण अवस्था अरू के हुन सक्ला ? मुलुक प्राकृतिक साधनस्रोतको हिसाबले सम्पन्न भए पनि प्राप्त साधनस्रोतको दोहन गरेर मुलुकलाई समृद्ध बनाउन नसक्नु र नेपाली जनताको जीवनस्तर उकास्न नसक्नु अत्यन्त दु:खदायी कुरा हो । अहिलेको प्रतिस्पर्धात्मक विश्वमा हामीले प्रतिस्पर्धात्मक सीप हासिल गर्न नसक्नु र आधुनिक दासको रूपमा नेपाली युवाशक्तिले विदेशमा गएर जीवन व्यतित गर्नु जस्तो पीडादायी अवस्था अरू के हुन सक्ला र ? आज हाम्रो सामु राष्ट्रको स्वाधिनता र सार्वभौमिकतालाई रक्षा गर्नुपर्ने चुनौती थपिएको छ भने मुलुकलाई यथास्थितिबाट अग्रगमनतिर लैजानु पर्ने जिम्मेवारी आएको छ ।
मुलुकलाई अधोगतीतिर धकेल्ने प्रवृत्तिहरू– राजनीतिक भ्रष्टाचार, कालाबजारी, तस्करी, प्रशासनिक ढिलासुस्ती जस्ता प्रवृत्तिविरुद्ध संघर्ष छेड्नु पर्ने आवश्यकता भएको छ । अहिले राजनीतिक दलका नेतृत्वले राष्ट्रिय अस्थित्वको सुरक्षा गर्न असक्षम हुनु शान्ति सुरक्षा कायम गर्न नसक्नु, लोकतन्त्रलाई लोककल्याणकारी ढंगले परिचालित गर्न नसक्नु, भ्रष्टाचार रोक्न नसक्नु, राष्ट्रको विकासमा ध्यान दिन नसक्नु जस्तो कारणले उनीहरूको औचित्य र आवश्यकता समाप्त भएको छ । अब नयाँ विचार र सिद्धान्तमा उभिएको राष्ट्रवादी, लोकतान्त्रिक, अग्रगामी प्रगतिशील शक्तिको उदय हुन अत्यन्त जरुरी भइसकेको छ । लोकतन्त्रको परम्परावादी ढाँचा र साम्यवादीहरूको एकमनावादी तथा अधिनायकवादी सोच र चिन्तनलाई परास्त गरेर मुलुकको वर्तमान कष्टदायी अवस्थाबाट निकास र समृद्धीको बाटोमा अग्रसर गराउन, अन्तर्राष्ट्रिय जगतमा मुलुकलाई प्रतिस्पर्धी बनाउन सक्ने र नेपाली जनतालाई एउटा समृद्ध र क्षमतावान राष्ट्रको नागरिकको रूपमा गर्वका साथ उभ्याउन सक्ने एउटा नयाँ र वैज्ञानिक सिद्धान्तको खोजी हुन जरुरी छ । समुद्रसँग कतैबाट नजोडिएको भू–परिवेष्टित मुलुक नेपाल प्राकृतिक साधन स्रोतको दृष्टिकोणले अत्यन्त धनी राष्ट्र हो । पटकपटकको एकिकरण र विखण्डनबाट गुँज्रदै आएको यस मुलुकको वर्तमान अवस्था अत्यन्त दर्दनाक बनेको छ । सनातन कालदेखि अस्तित्वमा रहेको यस मुलुकको सत्ययुगमा सत्यवती, द्वापरयुगमा, मुक्ती सोपान, त्रेतायुगमा तपोभूमी र कलीयुगमा नेपाल पुरी रहेको कुरा स्कन्ध पुराणमा उल्लेख छ ।
बौद्ध ग्रन्थ मूल सर्वास्तिवाद विनय संग्रहमा संग्रहित उपाख्यान अनुसार इ.पु. ६५० तिर नेपालमा सभ्यताको विकास भएको र राष्ट्रको रूपमा त्यतिबेलै देखि यसको अस्तित्व स्थापित भएको मानिन्छ । कौशल राजा विदुढबले शाक्य गणराज्यलाई ध्वस्त गरिदिँदा यस गणराज्यका नागरिकहरू यत्र तत्र पलायन हुँदा त्यसमध्येका कतिपय नागरिकहरू नेपाल राज्यमा सरण लिन पुगेका थिए भन्ने उल्लेख भएबाट नेपाल राज्यको पौराणिक हैसियतलाई प्रमाणित गर्दछ । गौतम बुद्धको जीवनकालमा नै अस्तित्वमा रहेको नेपालको किराँत राज्य, भेडाको ऊन, जडीबुटी तथा अन्य कच्चा पदार्थहरूको व्यापार केन्द्र बनिसकेको थियो । यसको चार सय वर्षपछि लेखिएको कौटिल्यको अर्थशास्त्र नामक ग्रन्थका अनुसार त्यतिबेला नेपालबाट हालको उत्तर भारतमा पर्ने पाटली पुत्रमा बिक्री हुन जाने सामानमा मिहिन सुन्दर रंगीन तथा बुट्टेदार अनेकाँै प्रकारका कपडाहरू, उनी कपडा, भिंगिसी आठ पार्टे धमृराठी, अपसारक, एकपाटे राडीहरूको उल्लेख गरिएको छ, यतीमात्र होइन छालाका सामान र जडीबुटी समेत तत्कालीन नेपालबाट त्यतिबेला मगधराज्य भनिने पटनामा विक्री वितरणमा लाने कुरा इतिहासले बोलेको छ । यसबाट नेपाल राष्ट्र परापूर्वकाल देखि नै एउटा सबल राष्ट्र थियो भन्ने प्रष्ट हुन्छ । उद्योग र व्यवसायमा नेपाल त्यतिबेला देखि नै ख्याती प्राप्त भएको मान्न सकिन्छ । राष्ट्र भनेको भौगोलिक सीमा भित्रको भू–भागमात्र होइन त्यस राष्ट्रको सभ्यता, संस्कार, संस्कृती, परम्परा सबै चिजको संयोजित रूप नै राष्ट्र हो । त्यसमध्ये कुनै एउटा चिजको कमी हुँदा पनि राष्ट्र राष्ट्रको रूपमा नरहन सक्छ । तर, नेपाल माथि अहिले जाती, धर्म, संस्कृति, सभ्यता सबैतिरबाट प्रहार भइरहेको छ । यस्तो अवस्थामा नेपाल राष्ट्रको अस्तित्वमा यो गंभीर संकट आइपरेको छ । यो हरेक नेपाली नागरिकले मनन् गर्नुपर्ने गंभीर विषय हो ।
सन् १९५० को सुरु मै नेपाल भूमीलाई जातिय युद्धमा कसरी फसाउने भन्ने योजना निर्माण भएको कुरा अमेरिकी गुप्तचर संस्था सिआइएका पूर्वअधिकारी जोन केनेथन्याउसद्वारा लिखित पुस्तक ‘शीत युद्धका टुहुरा– अमेरिकी र तिब्बतीहरूको संघर्ष’ मा प्रष्ट पारेका छन् । उनले लेखेका छन् । सि.आई.ए. ले हिमाली क्षेत्र माथि आँखा गाडेको सन् १९५० को सुरु मै हो । नेपाल तिब्बतसहित क्षेत्रमा युद्ध, लोभ र व्यापारद्वारा कब्जा जमाउन सकिन्न । यसका लागि स्थानिय जातीलाई विभाजित गर्नु पर्दछ भन्ने मैले काठमाडौंमा लेखेको प्रतिवेदन अहिले पनि सम्झन्छु । धन्न हाम्रा सि.आइ.ए. अधिकृतले चलाखीपूर्ण तरिकाले राष्ट्र संघमा आईएलओ १६९ धारा घुसाउन सफलता पाए । मैले अवकास प्राप्त जीवनमा आफ्नो युवाकालको विश्लेषणले विश्वलाई कर्याप्पै पार्न आँटेको देखेपछि धेरै रात हर्षका आँसुसँगै बिताए । हुन पनि पूर्वी युरोपमा त्यही जातियताको सूत्र आधा दशक मै सफल भयो र सोभियत ध्रुव ध्वस्त भयो । सन् १९९७ मा ७४ वर्षको उमेरमा म काठमाडौंमा गएँ । तिब्बती सम्पर्क केन्द्र खुलेको रहेछ । मेरो तीनदशक अघिको जातीय स्वतन्त्रताको शत्रु नेपाल तिब्बत र भारतमा प्रयोग भइरहेको रहेछ । मैले के ठानँे भने जब हाम्रा सि.आई.ए.का अधिकृतले राष्ट्र संघमा १६९ लाई सजिलै प्रवेश गराउन सके हिमालय पर्वत, मालालाई फेयर बैंक (सि.आई.ए.को मुख्यालय) ले तताउने छ । म अब जीवनको उत्तराद्र्धमा पुगी सकेको छु । तैपनि, मलाई गर्व छ कि, हाम्रो देश अमेरिकाका कट्टर विरोधी वामपन्थीहरू मेरो सिआईएको सूत्र घोकेर तेस्रो विश्वमा जातीय स्वायत्तताको नारा लगाउन बाध्य छन् । मृत्युपछि पनि (एसु) प्रभुको माध्यमबाट म तिनीहरूलाई धन्यवाद दिइरहनेछु ।
यदि जातिय द्वन्द्वले भारतको राष्ट्रिय अस्तित्वलाई खतरा नपुग्ने हो भने नेपाल र तिब्बतको सवालमा जोन केनेथको सिद्धान्त सँग भारत पनि सहमत हुन सक्दछ । किनभने नेपाललाई अस्थिरतामा फँसाएर सधैँ गरिबीमा राख्ने र तिब्बतलाई फुटाएर चीनलाई कमजोर बनाउने रणनीति भारतको पनि हो । नेपाल, बर्मा, पाकिस्तान, बङ्गलादेश, भुटान, भारतसँग तिब्बतकै माध्यमबाट चीनको सिधा सीमा जोडिएको छ । यदि तिब्बत चीनबाट छुट्ने हो भने भौगोलिक रूपमा चीनको उक्त देशहरूसँगको सम्बन्ध टुट्नेछ । यसो भयो भने यस क्षेत्रमा भारतलाई चुनौती दिने अर्को शक्ति हुने छैन र भारतको दक्षिण एसियामा एकलौटी एकाधिकार र वर्चस्व कायम रहनेछ । त्यसैले जोनकेनेथको नेपाल नीति प्रति भारतको पनि मौन समर्थन रहेको देखिन्छ । नेपालको वर्तमान राजनीतिमा देखापरेको संघीयता र जातिय आत्म निर्णय सहितको प्रादेशिक राज्यको आन्दोलनको नक्सा आजभन्दा ६० वर्ष अघि नै सि.आई.ए. ले कोरी सकेको कुरा सि.आई.ए. को पूर्व अधिकारी जोनकेनेथ न्याउसको वकपत्रले प्रष्ट पारेको छ । अहिले नेपालको राजनीतिमा एकल जातीय पहिचान सहितको संघीय प्रणालीको वकालत गर्ने नेताहरू पनि कुनै न कुनै रूपमा डलरको खेतीसँग जोडिएको देखिन्छ । जनताले नयाँ नेपाल निर्माण गर्न संविधान जारी गर्ने जिम्मेवारी सुम्पेर पठाएका सभासद् र तिनका दलका नेतृत्व जनताले दिएको समयभन्दा दोब्बर समय लगाएर पनि नयाँ संविधान दिन नसकेको यथार्थलाई चटक्कै विर्सेर फेरि पनि तिनै विषयको वकालत गर्दै वर्तमान राजनीतिक दलका नेतृत्व समय नष्ट गरिरहेका छन् । राष्ट्रलाई समस्याबाट निकास दिन नसकेको सत्यलाई मनन् गरेर आफ्नो कमजोरीलाई स्वीकार गरेर जनतासँग माफी माग्न छाडेर लाजसरम पचाएर जो चोर उसैको ठूलो स्वरको शैलीमा फेरि पनि नेपाली जनतासामु चटके कुरा गरिरहेका छन् ।
बिरामीको रोग पहिचान गर्न नसक्ने र रोग पहिचान गरेर औषधि दिन नसक्ने डाक्टरलाई बिरामीले किन डाक्टर मान्ने ? अहिले नेपाली राजनीतिक दलका नेतृत्व म्याद सकिएको औषधि जस्तो भइसकेका छन् । अब, विद्यमान राजनीतिक नेतृत्वले नेपालको वर्तमान संकटबाट पार लगाउने कुनै नैतिक हैसियत राख्दैन । अहिले मुलुकले भोगिरहेको सबै समस्याको जन्म यही राजनीतिक नेतृत्वको असफलताको कारण उत्पन्न भएको हो । घाट मेटिएको पेच किल्लाले फेरि काम गर्न नसके जस्तै नेपालको वर्तमान राजनीतिक नेतृत्वले अब मुलुकलाई यो संकटबाट पार लाउन सम्भव छैन । अब, नेपालको राजनीति नयाँ शिराबाट अघि बढ्नुपर्छ । मुलुक निरन्तर असफलताको दिशातिर तीब्रगतिमा बढिरहेको छ । यदि मुलुकलाई यो अवस्थाबाट मुक्त नगर्ने हो भने आगामी कुनै कालखण्डमा नेपाल भन्ने मुलुक विश्व मानचित्रबाटै लुप्त हुने खतरा टड्कारो देखिन्छ । त्यसैले अब प्रत्येक नेपाली जनताले आफ्नो सम्पूर्ण व्यक्तिगत स्वार्थलाई त्यागेर राष्ट्रियताको पक्षमा आफूलाई उभ्याउनु जरुरी भइसकेको छ । राष्ट्रवादी आन्दोलनको नाममा मुलुकलाई मण्डलेकरण गर्ने र अन्धराष्ट्रवादी चरित्रद्वारा मुलुकलाई उग्रवामपन्थीकरण गर्ने खतरालाई परास्त गर्नुपर्ने अबको देशमुक्तीपूर्ण आन्दोलनको उत्तरदायित्व हो भन्ने पनि बुझ्नु जरुरी छ । नत्र, राष्ट्रियताका लागि गरिने आन्दोलनलाई दक्षिण पन्थी अतीवाद र उग्रवामपन्थी अवसरवादीले गलत स्वार्थपूर्तिका लागि उपयोग गरिदिन सक्दछ । यदि यसो भयो भने इतिहासले कसैलाई माफी दिने छैन ।
प्रतिक्रिया