हिन्दुस्तानको अँध्यारो पाटो

अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीले जनाएअनुसार भारतका करिब ३५ हजार गरिबले आफूलाई मूलधारको विकासमा उपेक्षा गरेको भन्दै ग्वालियरदेखि राजधानी दिल्लीसम्म तीन सय ५० किमि दूरीको पैदल यात्रा सुरु गरेका छन् । यो यात्रा अक्टोबरको अन्त्यसम्म दिल्ली पुगेर टुंगिनेछ । आयोजकका अनुसार करिब ३५ हजार व्यक्तिबाट सुरु हुने यो यात्रामा दिल्ली पुग्दासम्म एक लाखको सहभागिता हुनेछ । यस्तै यात्रा सन् ००७ मा पनि आयोजना गरिएको थियो । त्यतिबेला २५ हजार गरिब भारतीय नागरिक जमिनमा हकको माग राख्दै दिल्ली पुगेका थिए । भारत चाँडै विश्व महाशक्ति राष्ट्र बन्ने छाँटका साथ अघि बढ्दै छ भन्ने चर्चा चुलीमा पुगेको बेला यो समाचार आएको हो । कुनै पनि मुलुक समृद्ध बन्दै जानु आफैँमा उज्यालो पाटो हो तर त्यो कति सन्तुलित छ भन्ने तथ्यले त्यसको महत्ता देखाउँछ । के यो उज्यालोजत्तिकै समग्र भारत टल्किन सकेको छ त ? यसको जवाफ विषयको उठानले नै दिइसकेको छ । भारत समृद्धिको उचाई छुँदै छ भने ऊ कुन अवस्थामा हुनुपथ्र्यो र अहिले कुन अवस्थामा छ भन्नेबारे माथि उल्लेखित यात्रासँग जोड्दै हेर्ने प्रयास यस लेखमा गरिनेछ ।
प्रसंग अगाडि बढाऔं भारतीय मूलका लेखक मार्क टलीको पुस्तक ‘ननस्टप इन्डिया’ बाट । यस पुस्तकको समीक्षा मात्रै पढ्दा पनि भारतबारे धेरै तथ्यहरू भेट्न सकिन्छ । टलीले आफ्नो पुस्तकमा भारतीयहरूको गरिबी, त्यसमाथि राज्यको उदासीनता, भ्रष्टाचार, धर्मान्धता, जातिय र वर्गिय विभेद, उग्र वामपन्थी भड्काव, भोटको राजनीति आदि सनसनीपूर्ण विषयमाथि लेखेर व्याप्त भ्रम चिरिदिएका छन् । भारतमा मध्यम वर्गको उदयको गति वेगवान भए पनि त्यहाँ गरिबको संख्या त्योभन्दा कता हो कता भीमकाय रहेको तथ्य र ती गरिब जनताका मर्मस्पर्शी जीविकाको व्याख्या गरिएको छ पुस्तकमा ।
अक्सफोर्ड विश्वविद्यालयले त सन् २०१० मा सार्वजनिक गरिसकेकै छ कि यदि प्रतिदिन एक डलरभन्दा कम आय गर्नेलाई गरिब मान्ने हो भने भारतका ४२ प्रतिशत जनता गरिबीको रेखामुनि हुनेछन् । जब, धनी र गरिबबीचको खाडल बढ्दै जान्छ र दिनानुदिन गरिबको संख्या बढ्दै जान्छ त्यहाँ देखाउने दाँतको कुनै अर्थ रहँदैन । भारतले आफ्ना नागरिकको गरिबीप्रति आँखा चिम्लिनु भनेको त्यहाँ छुवाछूत छैन भनेजस्तै हो । केही वर्षअघि उसले भारतमा छुवाछूत अन्त्य भइसकेको भन्दै यसलाई अन्तर्राष्ट्रिय मुद्दा बनाउनबाट रोकेको तथ्य सुन्न/पढ्नमा आएको थियो । त्यसो त गएको फागुनमा आएको समाचारमा भँगेरा टाउके अक्षरमा छापामा आएको थियो— ‘२३ करोड भारतीय भोकै ।’ संयुक्त राष्टसंघीय एजेन्सी खाद्यान्न र कृषि संगठनको तथ्यांक हो यो । भारतमा समग्र विश्वको ८२ करोड भोकामध्ये अनुमानित एक तिहाई रहेका छन् । २०१२ को तथ्यांकअनुसार भारतको जनसंख्या एक अर्ब २२ करोड दुई लाख छ । भनेपछि एक अर्ब बाहेकका जनताले खान पाएका रहेनछन् । भारतमा झण्डै २१ प्रतिशत जनसंख्याले पर्याप्त खान पाएका छैनन्, पाँच वर्षमुनिका ४४ प्रतिशत बालबालिकाको वजन आवश्यक मापदण्डभन्दा कम छ । यसले भारतलाई विश्वकै सर्वाधिक भोकमरीको मुलुक भएको देखाएको छ । इन्टरनेसनल फुड पोलिसी रिसर्च इन्सिच्युटका अनुसार भोकमरीको पाटोबाट भारतलाई अन्य विश्वसँग तुलना गर्दा कंगो, चाड, इथियोपिया, बुरुन्डीभन्दा उत्तम रहेछ भने अफ्रिकी मुलक सुडान, उत्तर कोरिया र दक्षिण एसियाकै अन्य दुई छिमेकी पाकिस्तान र नेपालभन्दा खराब रहेछ । त्यस्तै ग्लोबल हंगर सूचकांकमा भारत सर्वाधिक खराब ८० मुलुकमा ६७ औँ स्थानमा परेको छ । विशाल आर्थिक वृद्धिका बाबजुद भारत चरम गरिबी, भोकमरी, रोग, शिक्षाको अभावका अघिल्तिर निरीह देखिनुले के देखाउँछ भने त्यहाँ विकास त भयो तर असन्तुलित । यदि यो अवस्था दिनानुदिन बढ्दै गएमा यसले भारतमा सामाजिक तनाव बढाउने र अन्तत: आर्थिक वृद्धिको गतिमा नै तगारो तेर्सिने सम्भावना औंल्याइरहेका छन् विज्ञहरूले ।
सार्वजनिक भएका उल्लिखित तथ्यांकहरू आफैँ बोल्छन् भारत कुन अवस्थामा छ भन्ने त । यद्यपि भारतले नेपाललगायत विभिन्न मुलुकलाई आर्थिक, शैक्षिक, स्वास्थ्य आदि विभिन्न क्षेत्रमा सहयोग गर्ने गरेको छ । जब, आफ्नै देशका जनता भोकै छन् भने अरूलाई दिनुको खास अर्थ रहँदैन । हो दैवी संकटका बेला जतिसुकै गरिब मुलुकले पनि सहयोगको हात बढाउँछन्, जस्तो जापानमा आएको सुनामी पीडितहरूलाई गरिब मुलुक नेपालले पनि सक्दो सहयोग गरेको थियो । तर, भारतले नेपाललगायत दक्षिण एसियाली मुलुकहरूलाई जेजति दिइरहेको छ त्यसले न त उसको सम्पन्नताको झलक दिन सक्छ न त दानवीरताको नै । ध्वंसात्मक हातहतियारमा भारतले जति फड्को मार्दै गयो ऊ जनताको सन्तुलित उत्थानमा त्यति नै पछि पर्दै गएको देखिन्छ । दक्षिण एसियामा पाकिस्तानसँगै भारत पनि अणु अस्त्र मुलुक हो । यो सम्पन्नता पाकिस्तान र खास गरी चीनसँगको शक्ति सन्तुलनका लागि देखिन्छ । ऊसँग विश्वमै तेस्रो ठूलो संख्यामा छ सेना । ठूला हातहतियारको खलियो लाइरहेछ । सैनिक खर्च ३१ अर्ब ९० करोड अमेरिकी डलर छ जुन विश्वमै पाँचौ ठूलो हो । जुन देश गरिबीमा नेपालभन्दा पनि पछि देखिएको छ उसले किन यतिविधि खर्च लडाइँको तयारीका लागि गर्नुपर्ने ? लडाइँले कसको भलो गरेको छ ? आततायी शस्त्रअस्त्र न त उत्तर कोरियाले राख्नु उचित छ न अमेरिकाले, न रुसले, न भारतले न त चीनले नै । पछिल्ला दिनहरूमा भारत विश्वमै सबैभन्दा बढी हतियार आयातकर्ता मुलुक बनेको तथ्यलाई ती करोडौँ भोकाहरूको नजिक राख्दा एउटा समृद्ध राष्ट्रको झलक कत्ति पनि देखिन्न । ऊ आगामी पाँच वर्षमा ५० अर्ब अमेरिकी डरलभन्दा बढी रकम आफ्नो सशस्त्र बलको आधुनिकीकरणका लागि खर्चने तयारीमा रहेछ । भारत के ठान्छ भने (लीलबहादुर क्षेत्रीको उपन्यास बह्मपुत्रको छेउछाउमा उल्लेख भएअनुसार) आफू प्रतिरक्षा शक्ति कमजोर भएको मौकामा चीनले गरेको हमलामा पराजित हुन परेकाले त्यस्ता दिनहरूविरुद्ध इँटको जवाफ पत्थरले दिन सकियोस् भन्ने तयारी आवश्यक छ । सपयसापेक्ष र प्रतिस्पर्धी मुलुकहरूको अनुपातमै शक्ति सञ्चय गर्नु समयको माग हुन सक्छ । तर, जनताको समृद्धिलाई पनि उत्तिकै ध्यान नदिनुले कुनै पनि मुलुकलाई वास्तविक रूपमा सम्पन्न पार्न सक्दैन । यदि विश्वमा शान्ति र समृद्धि चाहने हो भने भारत र चीनले पनि अमेरिका र रुसजस्ता वर्तमान र निवर्तमान महाशक्ति राष्ट्रलाई अणुअस्त्र नष्ट गराउन पहल गर्नुपर्छ नकि उनीहरूजस्तै हुने । अनि भारत अरू देशबाट आÏनो भूमिमाथि भएको मिचाइ सहन सक्दैन भने उसले पनि आफूभन्दा साना र कमजोर मुलुकका माटोमाथि लोभ गर्नु हुँदैन भन्नेतर्फ ध्यान दिनुपर्ने हो । ब्रिटिश साम्राज्यले बुटले कुल्चिएर सयौँ वर्ष गुजारेको मुलुकले यसो गर्छ भने उसले आफूमाथि विगतमा भएको थिचोमिचोलाई अनुमोदन गरेको ठहर्न सक्छ । मर्कामा परेकाले नै अर्काको बेथा बुझ्नुपर्ने हो ।
हामीले सिक्नुपर्छ जापानबाट । ऊ विश्वयुद्ध अघिसम्म साम्राज्य विस्तारमा लालायित थियो । तर, दोस्रो विश्वयुद्ध जापानका लागि फलदायी भएन । ऊमाथि अमेरिकाले दुइटा दैत्य खसालेर लाखौँ जनताको जिजीविषामाथि गीर खेल्यो । त्यहीँबाट विश्व महाशक्ति भएको अमेरिकाले आफूलाई विश्वको रेफ्री ठान्ने व्यवहार कायमै राखेको छ । यसले अमेरिकालाई फलेको वृक्ष ठहर्‍याउँछ भन्ने लाग्दैन । हामीले त्यो धानको बालामात्र ठाडो देखेका छौँ जुन फोस्रो छ । सारमा यस्तै फोस्रो बन्ने सोचले न त विश्वको हित गर्छ न त ऊ स्वयंकै । यस्तो विचारले निर्देशित हुनु विश्वकै लागि लाभदायी छैन । राष्ट्रपतिले बाइबल छोएर सपथ खाने मुलुक अमेरिकालाई प्रेम र शान्तिको बारेमा भनिरहन नपर्ने हो । प्रेम, क्षमा, निस्वार्थ सहयोग र सहनशीलता जिससको सन्देश हो भने यसलाई अलिकति मात्रै पनि पालना गरिदिए कति राम्रो हुने थियो । वसुधैव कुटुम्बकम् बारे त साधुुहरूको देश भनेर चिनिने भारतलाई कसले सुनाइरहनु पर्ला र ? वास्तवमा जनताको जीवनस्तर उकासेर सुखी बनाउनु समृद्धिको सुचक हो । पहिले टन्न अघाएको भारत खोजिरहेछन् त्यहाँका भोका जनताहरू । यदि जनता जनार्दन ठान्ने हो भने विश्वकै सबैभन्दा ठूलो प्रजातान्त्रिक मुलुक भारतले यतातिर दृष्टि पुर्‍याओस् ।

प्रतिक्रिया