पत्रकार ‘तारा’ रहेनन्

काठमाडौं, २३ असोज । न्यूज २४ टेलिभिजनमा कार्यरत पत्रकार तारा रेग्मीको आज हृदयघातका कारण निधन भएको छ ।
दाङ तुल्सीपुर निवासी २६ वर्षाका रेग्मीको काठमाडौंको लैनचौरस्थित निवासमा हृदयघातबाट निधन भएको हो । उनको पार्थीव शरीरलाई गृह जिल्ला दाङ लगिएको छ ।
हृदयघत पछि ओछ्यानमै ढलेका पत्रकार रेग्मीलाई उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज पुराएलगत्तै चिकित्सकले मृत्त घोषणा गरेको परिवारजनले जनाएका छन् । श्वासप्रश्वासमा समस्या भएपछि रेग्मी चिच्याएका थिए ।
बाबु सेवकराम रेग्मी र आमा टीका रेग्मीको कोखबाट विक्रम संवत २०४३ सालमा दाङको तुल्सीपुर नगरपालिका–६ मा जन्मीएका रेग्मी न्यूज २४ टेलिभिजनमा स्थापनाकालदेखि नै कार्यरत थिए । परिवारमा एक्ला छोरा रेग्मीका एक दिदी र दुई बहिनी छन् ।
यसैबीच, उनको निधनबाट दाङ–काठमाडौं पत्रकार समाजले दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । समाजका महासचिव विमल योगीले शोक वक्तव्य जारी गरेर अल्पआयूमै भएको उनको निधनले नेपाली पत्रकारितको क्षेत्रलाई ठूलो क्षति भएको जनाएका छन् ।
त्यसै गरेर नेपाल पत्रकार महासंघ न्यूज २४ टेलिभिजन शाखा, एबीसी टेलिभिजन शाखा, माउन्टेन टेलिभिजन शाखा, रिपोर्टर्स क्लव नेपाललगायत विभिन्न संघ/संगठनले रेग्मीप्रति श्रद्धाञ्जली दिएका छन् ।

प्रतिक्रिया