एमालेद्धारा प्रमुख शहरमा शक्ति प्रदर्शन

काठमाडौं, १९ असोज । विपक्षी दल नेकपा एमालेले कामचलाउ सरकार विरुद्ध राजधानीलगायत मुलुकका प्रमुख शहरहरुमा प्रदर्शन गरेको छ ।
उल्लेख्य समर्थक र जनसहभागितामा एमालेले महँगी, भ्रष्टाचार, अनियमितता र असुरक्षाका विरुद्ध प्रदर्शन गरेको हो । जनजाति नेताहरुले एक दिन पहिला एमाले छाडे पनि त्यसको प्रभाव नपरेको एमालेले दाबी गरेको छ । सभामा परिणत हुनु अघि एमालेले काठमाडौंका विभिन्न स्थानको परिक्रमा गरेको थियो ।
काठमाडौंको रत्नपार्कमा आयोजित सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष झलनाथ खनालले वर्तमान सरकारको बहिर्गमन नहुँदा सम्म आन्दोलन नरोकिने बताए । उनले सरकारको लापरबाहीका कारण समग्र जनताले समस्या भोग्नु परेको भन्दै आन्दोलनको आवश्यक्ता परेको जनाए ।
उनले भने, ‘वर्तमान भ्रष्ट सरकारलाई आन्दोलनको भरमा सडकबाट बर्खास्त गर्छौ ।’
जनजाति नेताहरुले पार्टी छाडेकोमा असन्तुष्ट खनालले केही नेताहरु पुनः एमालेमा फिर्ता हुने बताए । उनले एमालेबाट गएका केही जनजाति नेताहरुका कारण पार्टीलाई खासै असर नपरेको उल्लेख गरे ।
एमाले सचिव शंकर पोखरेलले सहमतिका लागि एमाओवादी नेतृत्वको वर्तमान सरकार बाधक रहेको बताए । उनले प्रधानमन्त्री भट्टराईलाई तत्काल पद त्याग गरेर सहमतिमा आउन सुझाव दिए ।
उता, बुटवलमा एमालेका समर्थक र नेताहरुले बजारको परिक्रमा गरेका छन् । जुलुसमा एमालेका विभिन्न २२ वटा जनवर्गीय संगठनका कार्यकर्ताहरु सहभागी रहेको थियो ।
सभामा पोलिटव्यूरो सदस्य छविलाल विश्वकर्माले भ्रष्टहरुलाई काखी च्याप्ने र अपराधीलाई संरक्षण गरेर प्रधानमन्त्री भट्टराईले आफ्नो विद्वता प्रदर्शन गरिरहेको आरोप लगाए ।

प्रतिक्रिया