भिसा गर्ल र लेटर देशभर जय होस् र हेलो प्रकृति राजधानीमा

काठमाडौं, १९  असोज । आजबाट चार नेपाली चलचित्र भिसा गर्ल, जय होस्, लेटर र हेलो प्रकृति सार्वजनिक प्रदर्शन हुँदै छन् । देशैभर एकैचोटि प्रदर्शन हुनलागेका भिसा गर्ल र लेटर बिल्कुलै नयाँ चलचित्र हुन् भने जय होस् र हेलो प्रकृति मोफसलको प्रदर्शनपछि उपत्यका भित्रिन लागेका हुन् । भिसा गर्ल नवनिर्देशक प्रचण्डमान श्रेष्ठले निर्देशन गरेका हुन् भने लेटर सिक्किमेली निर्देशक साम्तेन भुटियाको निर्देशनमा तयार भएको छ । जय होस् डा. घनश्याम खतिवडाको निर्देशनमा तयार भएको हो । हेलो प्रकृतिका निर्देशक सुनील पाण्डेले हुन् ।
लेटरमार्फत नायक उत्तम प्रधान लामो समयपछि चलचित्रमा फर्किएका छन् । नवनायिका एनी जिम्बा, विशाल चाम्ली, नीति राई, अनुप ठटाल, अरुण रेग्मीलगायत कलाकार पनि मुख्य भूमिकामा छन् । अनुप ठटालको निर्माण
रहेको चलचित्रमा अनन्त थपलियाको सम्पादन र सागर थापाको छायांकन छ ।
सिजी इन्टरटेनमेन्टको प्रस्तुति रहेको भिसा गर्लमा विनय श्रेष्ठ, ऋचा शर्मा, कर्मा शाक्य, रिमा विश्वकर्मा, रेमनदास श्रेष्ठ, सलोनी राजभण्डारी आदिको मुख्य भूमिका छ । निर्देशक श्रेष्ठकै लेखन रहेको चलचित्रमा कालिप्रसाद बाँस्कोटाका र कल्याण सिंहको संगीत, लोकेश वज्राचार्यको सम्पादन, रेनेसा वान्तवा राईको नृत्यनिर्देशन छ भने शिवराम श्रेष्ठ र सञ्जय लामाले संयुक्त रूपमा छायांकन गरेका छन् । युवाको विदेशमोहको विषयलाई चलचित्रको कथा बनाइएको छ ।
आजैबाट उपत्यकामा प्रदर्शन हुनलागेको जय होस्मा निर्देशक खतिवडा र सुध्रन धितालको निर्माण रहेको छ । हिन्दी चलचित्र प्रदर्शनमा रोक लागेको समय पारेर उपत्यका भित्रिएको चलचित्रमा राजेश हमाल, विराज भट्ट सौजन्य सुब्बा, सुमिना घिमिरे, नवीन श्रेष्ठ, कृष्ण भट्टलगायत कलाकार मुख्य भूमिकामा छन् । चलचित्रमा निर्देशक खतिवडाकै लेखन, शम्भुजित बाँस्कोटाको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, पुनम राईको नृत्यनिर्देशन रहेको छ ।
सन्देशमूलक चलचित्र हेलो प्रकृतिमा अनिल थापा, सुमिना घिमिरे, सुशील पोखरेललगायत कलाकार छन् । शिवम् अधिकारीको लेखन रहेको चलचित्रमा भूपेन्द्र रायमाझीको संगीत र रामशरण उप्रेतीको छायांकन छ । यो चलचित्र पनि हिन्दी चलचित्रमा रोक लागेको मौका छोपेर उपत्यका भित्रिएको हो ।

प्रतिक्रिया