स्वागतम् महँगी

‘यो धमिलो माहोलमा सरकारको अक्षमताको परिणाम उपभोक्ताले भोग्नु नै छ । हामी साना व्यापारीको त बिजोगै भएको छ । सरकार न इन्धन दिन्छ, न बत्ती, न त सफा सडक दिन्छ, न फुटपाथ नै, न किसानलाई मल–बीउ दिन्छ, न त उत्पादनको बजार, दिन्छ त एउटै टेन्सन ।’ बागबजारका एकजना साना व्यापारी चिढ्चिढाउँदै थिए ।
उनी भन्दै थिए– एकातिर हामी उपभोक्तासँग सिधै सम्पर्कमा आउने कारण उपभोक्ताहरू ठग भन्ठान्छन् । अर्कोतर्फ सरकार कर राजस्वको सनेसोले हामीलाई नै च्याप्छ । त्यसमा पनि पार्टी र जनवर्गीय संगठनका चन्दा आतंक फेरि फैलिएको छ ।
साना व्यवसायीका पनि चर्का समस्या होलान् । ठूलाका कुरा त ठूलै ठाउँबाट मिलिराख्या छ, मिल्ला पनि । तर, हाम्रोजस्तो विशिष्ट परिस्थितिमा सबैभन्दा बढी न्यून आय भएका उपभोक्ताहरूको हालत झन्–झन् खराब हुँदै छ । सरकारले त्यो वा यो बहानामा आपूर्ति प्रणाली सहज बनाउन नसक्दा र बजारमा अनुगमन र हस्तक्षेप गर्न नसक्दा पीडित त साना उपभोक्ता नै हुने भए ।
अहिले सोह्र श्राद्ध चलेको छ । नेपालीका ठूला चाड दसैँ–तिहार मुखैमा छ । उपल्ला राजनीतिकर्ताले मुलुकको संक्रमणकाल तन्काको तन्कायै छन् । भाउ बेसाहा पशुपतिनाथको बसाह झँै टसमस नगरी उत्तरोत्तर प्रगति उन्मुख छ । अनि उपभोक्तालाई महँगाइ नबेहोरी साध्यै छैन । तिज–पञ्चमीको ज्वरो झर्न नपाउँदै, सोह्र श्राद्धको आरम्भसँगै नेपाली उपभोक्ताले महँगी झेल्दै छ । बजार उत्ताउलिँदै छ, आम–आय चाउरिँदै छ । अनि साहु नगुहारेर गर्ने नै के ?
फेरि अर्को पाटो हेर्ने हो भने, समकालीन समाज फजुल खर्च र तडकभड्किलो बन्दै गइरहेको छ । चाडबाडलाई आºनो आमद औकातअनुसार व्यवस्थापन गर्ने, घाँटी हेरेर हाड निल्ने कहावत समाजले बिर्संदै छ । त्यसले ‘साहु, (ऋण) शरणम् गच्छामी’ गरेर वाइह्यात ढर्रा देखाउन उद्यत छ । समकालमा उदाएका केही नवधनाढ्यलाई यस्ता महँगीले फरक नपारे पनि समाजमा विकृतिको किलो झन्–झन् धसिँदै छ । यसले नागरिकलाई अप्ठ्यारो पारे पनि अनागरिक विन्दास छ ।
देशमा ब्रह्मलुट मच्चाउने मन्त्री, राजनेता, तस्कर र कालाबजारिया नै अनागरिकका उदाहरण बन्दै छन् । उनीहरूको किनमेल नजिकमा दिवार मार्ग र टाढामा लासमेगासमा होला । तर, यही राजधानीमा ठूलो हिस्सा भृकुटीमण्डपको सुरुङमा पस्ने आँट पनि गरिरहेको छैन । किनकि आसन्न चाडबाडको चाङ उसलाई ऋण बोकाउन आउँदै छ ।
आपूर्ति मन्त्रालय सीमित उपभोक्ताको एमआरपी तोक्छ, त्यो आसन, इन्द्रचोक, मंगलबजार बेखबर छ । त्योभन्दा पनि बढी सरकार र यसको यन्त्र निष्क्रिय प्राय: छ । यो कस्तो देश हो ? जहाँ न पर्याप्त रोजगारी छ, न रोजगार भएकाले बाँच्न पुग्ने रकम पाउँछन् । अनि शारीरिक रूपले र शैक्षिक योग्यताले बलिया युवाहरूको भिड अमेरिकी डिभी, एजुकेसनल कन्सल्टेन्ट र मेनपावर कम्पनीको नलागेर कता जाओस् ? अर्कोतर्फ आºनै माटोमा दु:ख गर्न चाहनेको मनोविज्ञान पनि भासिँदै गएको छ ।
नेपाल राष्ट्र बैंकको पछिल्लो सर्वेक्षणअनुसार खाद्य र गैरखाद्य वस्तुमा भएको भाउ वृद्धिका कारण मुद्रास्फीति बढेर दोहोरो अंक (झन्डै १२ प्रतिशत) पुगिसक्यो । यो क्रम अझ उन्नत हुँदै छ । त्यो पनि चाडबाडको मुखैमा । यसो हुँदा सचेत समुदाय मनमनै बटारिएर चुपचाप साँध्दै छ । खै सडकमा राज्य उपस्थितिको माग गरेको ?
अर्कोतर्फ लेटेस्ट आइफोन र नानो सिमको प्रतीक्षा गर्ने फेसबुक जेनेरेसन, स्टाटसमा २–४ शब्द महँगीविरुद्ध लेखर ‘मैले महँगीविरुद्ध आवाज उठाए नि † भन्दै उन्मुक्ति खोज्दै छ, दायित्व पूरा गरेको भ्रममा छ ।
चाडबाडको ऐन मौकामा २–४ ठाउँमा छापा मारेर कालाबजारिया र २–४ पोका भन्सारका सामान समातेर ठूलै काज गरेको प्रचारमा आत्मरति लिने सरकारी यन्त्र, त्यसपछि कुम्भकर्ण निद्रामा फर्कने गर्छ । जुन कुरा कालाबजारियालाई राम्ररी थाहा छ । त्यसैले ऊ मन्त्री र राजनेताको घरमा भेटी चढाएर उन्मुक्त छ ।
भ्रष्टाचारमा शून्य सहनशीलताको गफ गर्ने प्रधानमन्त्री डाक्टर साहेव नेत्री श्रीमतीमार्फत रोगडा भरिएको ब्रिफकेस थन्क्याएको थन्क्याएकै छन् । बजारमा यस्तै चर्चा छ । १५–१७ लाख रुपैयाँ खर्च गरेर दुर्गम गाउँको दलितको घरमा ‘भान्सा’ गरेका डाक्टर प्रधानमन्त्रीलाई महँगीको के मतलब ? अब त उनी पनि सम्भ्रान्त भइसके नि । शेर्पा मोटरबाट चर्चित भएका डाक्टर प्रधानमन्त्रीको दसँै–तिहार त राम्रै होला । तर, आम जनताको रित्तो खल्तीले आसन्न चाडबाडको भार बहन गर्न नसक्ने पक्का छ । ऊ थप ऋणको धापमा डुब्दै छ । ऊ झन गरिब हुँदै गएपछि अर्को नयाँ शक्तिले हतियार थमाउने छ । र, फेरि अर्को विद्रोहको तयारी नगर्ला भन्न सकिँदैन ।
विगतको सशस्त्र विद्रोहले भत्काएको सामाजिक र सांस्कृतिक, सद्भाव थिग्रिन नपाउँदै थप बिग्रहमा समाज संक्रमण गर्दै छ । हामी आर्थिक रूपले विशृंखल र सांस्कृतिक रूपले चण्डाल समाज निर्माण गर्दै छौँ ।
यही मेसोमा काठमाडौं खाल्डोको काँठमा प्रचलित एउटा टुक्का जोड्न मन लाग्यो ।
सोह्र–सराद् सोह्र दिन
नौरथा नौ दिन
खाना पिना तीन दिन
घुमघाम पाँच दिन
त्यसपछि
साहु आउँछन्
दिनका दिन’
अस्तु †

प्रतिक्रिया