मापदण्डविपरीत खोटो संकलन

जाजरकोट, १९ असोज । सरकारकी निकायको बेवास्तका कारण जिल्लाका ५० भन्दा बढी सामुदायिक वनबाट अवैधरूपमा खोटो संकलन जारी छ । अवैध खोटो संकलन गरेर निकासी गर्न थालिएपछि जिल्लालाई लाखौँको घाटा भइरहेको छ भने उपभोक्ताहरू मारमा परेका छन् ।
जिल्लाका पुन्मा, भुर, कार्कीगाउँ, झाप्रा, ढिमे, दशेरा, पजारु, सीमा, जुंगाथापाचौर, खगेनकोट, लहँ, गर्खाकोट, थालारैकर, साल्मा, डाँडागाउँ, सक्लालगायतका गाविसमा रहेका ५० भन्दा बढी सामुदायिक वनमा मापदण्डविपरीत खोटो संकलन जारी छ । तर, जिल्ला वन कार्यालय भने सूचना पाएर पनि मौन बसेको छ । अवैध खोटो सकंलनले सामुदायिक वनहरू नाङ्गो पाखामा परिणत भइरहेका छन् भने करोडौँ राजस्व छली भइरहेको छ । सल्लीको बोटबाट खोटो निकाल्दा सल्फ्युरिक एसिड बढीमा २० प्रतिशतसम्म प्रयोग गर्न भनिएको भए पनि त्यसको प्रयोग बढी नै पाइएको स्वयं जिल्ला वन कार्यालयले पनि स्वीकार गरेको छ ।
यसैगरी पचास बिरुवामा पाँच माउ विरुवा छोड्ने, खोटो संकलनकार्यका लागि सामुदायिक वन समितिसँग सम्झौता गरी वातावरण अध्ययन प्रतिवेदन (आइई) तयार पारी क्षेत्रीय वन निर्देशनालयमा बुझाउनुपर्नेमा उक्त कार्यसमेत नगरिएको पाइएको छ । एउटा रूखमा एउटा मात्र घाउ लगाएर खोटो झिक्नुपर्नेमा एउटै रूखमा दुई/तीनवटा घाउ लगाइएको छ । ठेकेदारहरूको मनपरी कार्य र सम्बन्धित निकायको बेवास्ताका कारण वन विनास भइरहेको कार्कीगाउँ–३, का लालबहादुर महतराले बताए । उन्ले भने, ‘यसमा कसैले चासो दिएको छैन, न वन समिति न वन कार्यालय । अनि ठेकेदारको मनपरी चलिहाल्छ नी ।’  यसले गर्दा ठेकेदारहरू मोटाउँदै जाने र उपभोक्ताहरू दुब्लाउँदै जाने काम भइरहेको महतराको भनाइ छ ।
सम्बन्धित रेन्जपोस्टमा वनका कर्मचारी नबस्ने भएपछि ठेकेदारहरूलाई झनै हौसला मिलेको स्थानीयको बताउँछन् । वन समितिका केही टाठाबाठा व्यक्तिहरू कमिसनको खेलमा लागेर ठेकेदारहरूसँग मिलेर गैरकानुनी कार्य गरिरहेको स्थानीय बताउँछन् । वन समितिका व्यक्ति र वनका कर्मचारीहरू नै यसमा संलग्न भएको र लाखौँ रकम हिनामिना भइरहेको उनीहरूको दाबी छ । सीमा रेन्जपोस्टका रेन्जर राजेन्द्र तिमिल्सिनासहित वन रक्षकहरूले अधिंकाश समय सदरमुकाममै बिताउने गरेका छन् तर उनीहरूलाई कार्यालयले एकपटक पनि कारबाही गर्न सकेको छैन । ठेकेदारहरूले मापदण्डविपरीत कार्य गर्न थालेपछि केही सामुदायिक वनले भने खोटो संकलनमा रोक लगाएका छन् । प्रतिबन्धित रसायनको प्रयोग हुन थालेपछि खोटो संकलनमा प्रतिबन्ध लगाइएको मालिका सामुदायिक वन समिति ढिमेका अध्यक्ष कृष्णबहादुर थापाले बताए । यता बंगलामुखी रोजिन एन्ड टर्पिनटाइन इन्डस्ट्रिज प्रालिका ठेकेदार शुक्रराज चौधरीले भने आफूहरूले मापदण्डविपरीतका कुनै पनि कार्य नगरेको दाबी गरे । उनले यस विषयमा जिल्ला वन कार्यालयमा बुझ्न अनुरोध गर्दै आफू बजारमा भएको भन्दै पन्छिन खोजे ।
हाल जाजरकोटबाट स्वस्तिक रोजिन एन्ड टर्पिनटाइन इन्डस्ट्रिज प्रालि चनौटा कपिलवस्तु, बंगलामुखी रोजिन एन्ड टर्पिनटाइन इन्डस्ट्रिज प्रालि गनापुर–२, बाँके र मनकामना रोजिन एन्ड केमिकल इन्डस्ट्रिज प्रालि गनापुर–७, बाँकेले खोटो संकलनकार्य गरिरहेका छन् । स्वस्तिक र बंगलामुखी कम्पनीले १० वर्षपहिलेदेखि काम गरिरहेका छन् भने मनकामना कम्पनीले यस वर्षबाट खोटो संकलनको अनुमति लिएको हो । बंगलामुखीले दुई हजार दुई सय एवं स्वस्तिकले आठ/आठ सय मेट्रिक टन खोटो वार्षिक निकासी गर्ने अनुमति पाए पनि त्यसभन्दा बढी निकासी गरिरहेका छन् ।
वन समितिसँग सम्झौता गरी क्षेत्रीय वनबाट अनुमति लिएपछि उनीहरूले काम गरिरहेकाले यसमा आफूहरूले केही गर्न नसक्ने जिल्ला वन कार्यालय जाजरकोटका निमित्त प्रमुख रेन्जर, एजाज अहमद अन्सारीको प्रतिक्रिया छ ।

प्रतिक्रिया