रवीन्द्र मिश्रलाई बेलायतस्थित नेपाली समुदायले विभिन्न ढंगले चिन्दछन् । पहिलो बिबिसी नेपाली सेवाका रवीन्द्र, दोस्रो हेल्प नेपाल नामक कल्याणकारी संस्थाका संस्थापक रवीन्द्र, तेस्रो फर्किएका रवीन्द्र । सामान्यतया मानिसका दुई प्रकारका परिचय हुने गर्छन् । व्यक्तिगत र पेसागत । व्यक्तिगत मान्छे कहाँ जन्म्यो, कहाँ हुर्कियो भन्ने जस्ता जन्मकुण्डली र उसले गर्ने पेसा, जीबिकोपार्जनका निम्ति बनाएको क्यारियर । तर, रवीन्द्र मिश्रको बेलायतमा व्यक्तिगत जन्मकुण्डली बाहेक चारवटा परिचय छन् । यो कसरी सम्भव भयो ? यो प्रश्नको उत्तर खोज्नुभन्दा विषयबस्तुतिर लाग्नु उपयुक्त हुनेछ ।
बिबिसी नेपाली सेवाका रवीन्द्र मिश्र, बिबिसी नेपाली सेवाले रवीन्द्र मिश्रलाई विश्वभर रहेका नेपालीहरूबीच पुर्यायो । मानिस जति चर्चित हुँदै जान्छ त्यति उसका प्रशंसक र आलोचक पनि थपिँदै जान्छन् । उनका आलोचकले उनलाई मन नपर्ने मान्छेसँग अन्तर्वार्ता लिँदा ओठ कमाउन्नन्, उनको जिब्रो लर्खराउन्नन्, मानसम्मान सबै बिर्सिन्छन्, भनेर आलोचना पनि गर्छन् । मानिस उच्च विवेकशील र चिन्तनशील प्राणी हो । त्यसैले उसमा स्वभावैले मन पराउने र मन नपराउने, कम वा बढी मन पराउने स्वभाव हुन्छ । त्यसमा पनि पत्रकारिता पेसा अपनाएका व्यक्ति सधँै गुलिया भैरहन सक्तैनन् । उनीहरू तिता, पिरा, खरा र चर्का स्वभावका हुने गर्छन् । रवीन्द्रले मात्र होइन हरेक पत्रकारले आफ्नो पत्रकारिताको कर्तव्य पालन गर्दै जिम्मेवारी बहन गर्न सक्नुपर्छ । जनतालाई राजनीतिबारे सु–सूचित गर्नु, विषयवस्तुलाई छलफलमा ल्याउनु उसको जिम्मेवारी हो । व्यक्तिको अधिकारको रक्षा गर्नु, कर्तव्यबोध गराउनु र कुराकानी गर्ने क्रममा उसको रक्षाकवच बन्नु पत्रकारको कर्तव्य हो ।
जसरी अन्य विज्ञान जस्तै सामाजिक विज्ञान, स्वास्थ्य विज्ञान, प्रविधि आदिको अनुसन्धान र विकास हुँदै जान्छ । त्यसरी नै पत्रकारिताको पनि अध्ययन र विकास हुँदै गएको छ । सोह्रौँ एवं सत्रौँ शताब्दीको कुरा गर्ने हो भने पत्रकारिता आदेशात्मक थियो । कसैले आदेश दिन्थ्यो र त्यो सार्वजनिक हुन्थ्यो । सरकारले जनताका कुरा पनि सुन्नुपर्छ भन्ने थाहा न जनतालाई थियो नत सरकारलाई । तर, उन्नाइसौँ शताब्दीको मध्यतिर जब पत्रकारितामा उदारवादी सिद्धान्तको विकास भयो त्यतिबेलादेखि राजनीतिक स्वतन्त्रता र शिक्षाको विकास सँगसँगै यसको पनि विकास भयो र पत्रकारिता जनताको छलफलका लागि उपयोगी बन्नुपर्ने आवश्यकताको महसुस गरियो । तैपनि, अझै यो जनताको सहयोगी हुनुभन्दा सरकारलाई मात्र सहयोग गर्ने यन्त्रका रूपमा विकसित हुँदै आयो । अझै पनि पत्रकारले कुनै राजनीतिज्ञसँग कुराकानी गर्दा आफूलाई सानो पार्नु, आवश्यकताभन्दा बढी नरम हुनुपर्ने अवस्था थियो । जसका कारण सार्वजनिक रूपमा ल्याउनुपर्ने कुरा खोतल्न सहज थिएन । तर, जब म्याक कुवालीको मास मिडिया कम्युनिकेसन बारेको सोध सार्वजनिक भयो त्यसपछि मात्र पत्रकारहरूलाई राज्य विकास र राज्यको स्थायित्वका लागि सञ्चार सकारात्मक हुनुपर्छ, राजनीति सँगसँगै उभिन र राजनीतिलाई टेवा पुर्याउन सक्नुपर्छ, व्यक्तिवादिता बिरुद्ध सामाजिक संलग्नता हुनुपर्छ, समग्रमा पत्रकार एक मध्यस्तकर्ता हुनुपर्छ भन्ने कुराको ज्ञान भयो । यद्यपि पत्रकारितामा त्यस्तो कुनै सत्रुता हँुदैन जस्तै तरकारी पकाउँदा हाल्नुपर्ने मरमसला र नुन खुर्सानीको मात्रा भनिए जस्तो । यो त देश, काल, परिस्थिति, राज्य व्यवस्था, राजनीतिक स्थायित्व, मुलुकको आर्थिक अवस्था, उत्पादन र वितरणको सिद्धान्तमा बढी आधारित हुन्छ ।
केही समयअघिको कुरा हो, मेरा एकजना मित्रले अन्य साथीलगायत मलाई पनि चियापानका निम्ति निम्त्याएका थिए । संयोगवस त्यसको एक दिन अघि रवीन्द्र मिश्रले न्युज २४ का प्रेम बानियाँद्वारा पूर्वराजा ज्ञानेन्द्रसँग गरेको कुराकानी झन्डै दस मिनेट बिबिसी नेपाली सेवाबाट प्रसारण गरेका थिए । त्यसपछि लगत्तै उनले लगातार माधब नेपाल, कृष्ण सिटौलालगायत तीन नेताहरूसँग कुराकानी गर्दै राजतन्त्रबारे खरोसँग सोधेका थिए । जहाँ केही मान्छे जम्मा हुन्छन् त्यहाँ कुराकानी गर्न एउटा बिषयबस्तु चाहिन्छ । त्यसैले होला जम्मा भएका मध्ये एक जनाले उक्त प्रसारणको प्रसंग उठाउँदै मसँग प्रश्न गरे ‘हैन रवीन्द्र मिश्र किन राजाबादी ?’ मैले उत्तर भेट्न सक्ने कुरै भएन । यदि, उनिहरूलाई त्यस्तो लाग्छ भने यो प्रश्न रवीन्द्र मिश्रलाई पो सोध्नु पर्छ भन्ने जवाफ दिने बारे सोचिरहेको थिएँ । त्यसैबीच, अर्का व्यक्तिले थपे ‘राजतन्त्र मरिसके पछि पनि यो नाटक किन फेरि ?’ दोस्रो प्रश्नको उत्तर भेटाउन मलाई कुनै गाह्रो भएन । त्यतिबेलाको बसाइको परिस्थिति शब्द उच्चारण गरेर चित्त बुझाउन सक्ने अवस्था नभएको र व्यावहारिक एवं प्रयोगात्मक शैली अपनाउनुपर्ने बुझ्न मलाई कत्ति गाह्रो परेन र म बसिरहेको ठाउँबाट जुरुक्क उठेर प्रश्नकर्ता साथीलाई हात तान्दै उनको करेसाबारीतिर लगेँ । उनलाई त्यहाँ उम्रेका झार पतिंगर देखाउँदै भनेँ ल हेर्नुस यो तपाईंको करेसाबारी हो प्रकृतिले यहाँ थुप्रै झार बिरुवा उमार्दछ, तीमध्ये तपाईंले नचिन्ने वा तपाईंको विचारमा तपाईंलाई काम नलाग्ने जति उखेलेर फाल्नु हुन्छ । त्यस्तै हामी पत्रकारले पनि विभिन्न विषयवस्तु तपाईं, पाठक एवं श्रोताबीच छरिदिन्छौँ । यसरी छर्ने क्रममा सकभर बहुसंख्यक समुदायको चासोका विषयवस्तु खोज्ने प्रयास भने अवश्य गर्दछौँ । सायद अहिले नेपालीको मनभित्र एउटा अनौठो मनोविज्ञानको विकास भएको छ, त्यो हो कतै अहिलेको यो लोकतन्त्रभन्दा राजतन्त्र त ठीक थिएन ? कमसेकम त्यतिबेला यति धेरै राजा थिएनन्, यति धेरै मनपरीतन्त्र थिएन भन्ने एक प्रकारको प्रश्न पलाएको छ । सायद यसैको उत्तर खोज्ने प्रयास थियो रवीन्द्र मिश्रको त्यो कुराकानी । मैले यति भन्दाभन्दै अर्का मित्रले थपे ‘हैन राजतन्त्र त मरिसक्यो तर पनि यसबारे किन यति धेरै चर्चा आइरहनुपर्ने ?’
मैले मित्रलाई शान्त हुन आग्रह गर्दै सुरु गरेँ राजतन्त्र मरेको छैन र यो मर्नेवाला पनि छैन । हो, यदि तपाईंले नेपालमा अहिले राजतन्त्र सत्तामा छैन भन्नुहुन्छ भने म सहमत हुने छु । उनले जंगिदै भने ‘ए त्यसो भए तपाईं पनि राजतन्त्र बिउताउँन चाहनुहुन्छ ?’
होइन मैले त्यसो भनिरहेको छैन बरु तपाईंनै त्यसो भन्दै हुनुहुन्छ । यदि मलाई दुई मिनेट समय दिनुहुन्छ भने मात्र कुरा सुरु गर्ने छु मैले भनेँ । ‘दुई मिनेट मात्र होइन चार मिनेट पाउनुहुन्छ कमसे कम कसैले त यो मरिसकेको राजतन्त्रलाई बिउताउँन खोज्नेका विरुद्ध कलम चलाउनु पर्यो नि’ उनले भने ।
मैले तर्क गरेँ, राजतन्त्र एउटा सिद्धान्त हो जस्तै माक्र्सवाद, पुँजीवाद भने जस्तै एउटा वाद हो । यो संसारको राजनीतिक प्रणालीको पुरानो आदिम साम्यवादी काल पछि विश्वमा प्रत्यक्ष ब्यबहारमा आएको राजनीतिक सिद्धान्त हो । राजतन्त्र सामन्तवादी कालमा विश्वभर हाबी भयो । जब, विश्वका विभिन्न मुलुकहरूमा औद्योगिक क्रान्ति सुरु हुन थाल्यो, लगभग सोह्राँै, सत्रौँ शताब्दीदेखि यता राजतन्त्र सत्ताबाट बाहिरिन थालेको इतिहास भेटिन्छ । त्यस यता सुरु भएको पुँजीवादी राजनीतिक सिद्धान्तको विकाससँगै राजतन्त्रको जोडदार बिरोध हुन थाल्यो । यसरी जोडदार बिरोध हुने क्रममा विश्वका कयौँ राजारजौटा मारिए र केही फेरी पुनस्थापना पनि भए । यहि बेलायतमै पनि १९४९ मा राजा चाल्र्स प्रथमलाई अचानोमा राखेर घाँटी रेटियो । तर, लगभग बाह्र बर्षपछि बेलायतमा फेरि राजतन्त्र स्थापना भयो र त्यो राजतन्त्रले आजसम्म राज्य गरिरहेको छ । विश्वका विभिन्न मुलुकमा राजतन्त्रात्मक सत्ता नभएपनि त्यहाँका पुराना राजा रजौटाका सन्तानहरूलाई राजकीय सम्मान दिएर राखेका छन् । १९९० यता पुँजीवादीहरूले संसारबाट अब समाजवाद खत्तम भएको, अब यो नबिउँझिने गरी मरेको भनेर प्रचार प्रसार गरे । तर, त्यो सत्य थिएन । सिद्धान्त र वाद कहिल्यै मर्दैन । राजतन्त्र पनि एउटा सिद्धान्त हो, एउटा वाद हो । तत्कालीक अवस्थामा यो सत्तामा छ कि छैन भन्ने अलग प्रश्न हो । मैले अघि नै भनिसकेँ तपाईं हामी देशका जनता देशरूपी बगँैचाका माली हौँ । हाम्रो बगँैचामा उम्रेका कुन बिरुवा वा कुन झारको संरक्षण गर्ने वा कुन बिरुवा उखलेर फाल्ने हाम्रो चाहनाको कुरा हो । जुन बिरुवा तपाईंलाई उपयोगी लाग्छ त्यो बिरुवालाई हुर्कन दिनुस् जुन बिरुवा उपयोगी लाग्दैन उखलेर फाल्नुस् तर तपाईंलाई मन नपर्दैमा बिरुवा फेरि फेरि उम्रन छोड्ने छैन । यस्तै समाचार वा अन्तर्वाताहरू कुन तपाईंलाई मन पर्छ ग्रहण गर्नुस् मन पर्दैन फिल्टर गरेर फालिदिनुस् ।
रवीन्द्र मिश्रले तीन बर्ष अघि एक दशकभन्दा बढीको बेलायतको बसाई छोडेर नेपाल फर्किन लागेको कुरा विभिन्न समाचार माध्यमद्वारा सार्वजनिक गरेका थिए । फर्किने बेलामा उनले पुराना वेलायतबासी नेपालीहरूलाई ‘कुरा मात्र बढी गर्ने तर देशका लागि भने केही काम नगर्ने’ भनी राम्रैसँग कटाक्ष पनि गरेका थिए । त्यतिबेला उनले हेल्प नेपाल नामक उनैले सुरुवात गरेको कल्याणकारी संस्थाका लागि बढी समय दिने घोषणा गरेका थिए । उनको यो घोषणाका कारण केही बेलायतबासी नेपालीहरूले रवीन्द्रले बिबिसी छाडेको भन्ने बुझेका रहेछन् । तर, त्यसो रहेनछ । उनी बिबिसी नेपाली सेवाका लागि नेपालबाट काम गर्न फर्केका रहेछन् । १९९९मा उनले बेलायतबाटै सुरु गरेको भए पनि हेल्प नेपाल नेटवर्कलाई नेपालबाट उनले अझ क्रियाशील बनाए । हेल्प नेपाल नेटवर्क नेपालका लागि महिनाको एक डलर कोष विश्वका विभिन्न देशमा बस्ने नेपालीहरूको सबभन्दा ठूलो परोपकारी संजाल हो । यो विदेशी दाताको संस्था होइन । यसले संसारभरिका नेपाली व्यक्तिहरू र संस्थाबाट कोष संकलन गरेर गाउँ/गाउँमा समुदायलाई सहयोग पुग्ने शिक्षा, स्वास्थ्य र आपत्कालीन राहतको क्षेत्रमा काम गर्दछ । नेपालीका लागि नेपालीले गरौँ भन्ने यसको नारा हो । हेल्प नेपाल वास्तवमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट दसाँै लाख डलर सहयोग संकलन गर्ने क्षमता राख्दछ तर यसको मुख्य लक्ष्य नेपाली व्यक्ति र नेपाली संस्थाको साथ लिएर नेपालीहरूको मनमा परोपकारी भावना वृद्धि गर्नु रहेको छ । त्यसैले यसले विदेशीहरूसँग सहयोगको अपेक्षा राख्दैन । नेपालीहरूबाटै नेपालीहरूकै खुट्टामा उभिइरहेको छ ।
प्रतिक्रिया