मानिसका प्रारम्भिक आवश्यकता मध्येमा स्वास्थ्य सबैभन्दा संवेदनशील र महत्त्वपूर्ण मानिन्छ । साथै सामाजिक संरचना बलियो हुनका लागि पनि हरेक नागरिक स्वस्थ रहनु आवश्यक हुन्छ । त्यसैले भनिन्छ पनि स्वस्थ शरीरमा स्वस्थ दिमागको बास हुन्छ र मात्र स्वस्थ समाजको परिकल्पना गर्न सकिन्छ । स्वास्थ्य र शिक्षा क्षेत्रलाई मजबुत पार्नका लागि सरकारी तथा नीजि क्षेत्रबाट लाखाँै–लाख खर्च गरिदँै आएको छ । विशेषगरी स्वास्थ्यको क्षेत्रमा विभिन्न स्तरबाट पर्याप्त लगानी हुँदै आए पनि ती सबै प्रत्यक्ष देखिने र सिमित रोगमा मात्र भएको पाइन्छ । यधपि, अधिकांश मानिसलाई सताई रहेको दाँत तथा मुखसम्बन्धी रोगका लागि भने सरकारी वा निजी कुनै पनि क्षेत्रबाट दुर्गम तथा ग्रामीण भेगमा पर्याप्त लगानीका लागि पहल भएको पार्इंदैन तर विश्वका धेरैजसो मुलुकका अधिकांश मानिस दाँत तथा मुखसम्बन्धी रोगबाट पिडित रहने गरेका पाइन्छन् ।
हाम्रो देश नेपालमा पनि ग्रामीण या सहरी क्षेत्रका व्यक्तिहरू दाँत तथा मुखसम्बन्धी कुनै न कुनै समस्याबाट पिडित भएको पाइन्छ । सहरी क्षेत्रमा यस्तो समस्या समाधानका लागि प्रसस्त स्वास्थ्य संस्था वा अस्पतालमा गएर उपचार सम्भव भए पनि ग्रामीण भेगमा दाँतसम्बन्धी रोगबाट पिडित भएर उपचारको अभावमा मानिस धेरैतिर भौंतारी रहेका पाइन्छन् । हाम्रो देशका अधिकांश ग्रामीण भेगमा स्वास्थ्यसम्बन्धी विभिन्न चेतनामूलक कार्यक्रमका लागि अत्याधिक रकम परिचालन गरिए पनि जनताको प्रत्क्षय स्वास्थ्यसम्बन्धी सरोकार राख्ने दाँत तथा मुखको स्वास्थ्यको बारेमा चेतनामूलक कार्यक्रम संचालन नहुँदा प्राय: व्यक्तिहरू दाँत तथा मुखसम्बन्धी विभिन्न समस्याबाट पिडित छन् । दुर्गम तथा ग्रामीण भेगमा बसोबास गर्ने अधिकांश नेपाली दिन रात कृषि तथा पशुपालन गरेर जीविकोपार्जन गरिरहेने हुँदा तिनीहरू मध्येमा धेरैजसोले स्वास्थ्यसम्बन्धी कुनै पनि ज्ञान हासिल गर्न नसकेको अवस्था छ । त्यस्तै आवश्यक मात्रामा उपचारका लागि स्वास्थ्य संस्थाहरूले ग्रामीण भेगमा सेवा पुर्याएको पनि पाईदैन । साधारण रोगको उपचारका लागि समेत घण्टाँै हिँडेर सदरमुकामस्थित स्वास्थ्य संस्थामा आउनु पर्ने बाध्यता कायमै रहेको छ । एकातिर गरिबीका कारणले आर्थिक अवस्था कमजोर भएकाहरू उपचार गर्न नसकी अकालमै मृत्युको मुखमा परिरहेका छन् भने अर्कातिर शिक्षा, स्वास्थ्य र चेतनाको अभावले अन्धविश्वासी मान्यतालाई अंगालिएको पाइन्छ ।
एकाइसौँ शताब्दीको वैज्ञानिक प्रविधिको विपरित अझै पनि दाँत निकाल्न वा उपचार गर्नु परेमा पुरानै प्रविधि अँगाली रहेका पनि पाइन्छ । जस्तै: दाँत निकाल्नु परेमा फलामको एक प्रकारको च्याप्ने औजारको प्रयोग गरी हात गोडा समातेर अत्यन्त कष्टकर तरिकालले दाँत निकालिन्छ । जसबाट बिरामीको मृत्यु भएका घटनाहरू पनि बेलाबेलामा सुनिन्छन् । त्यस्तै किरा लागि संक्रमण भई दाँत दुखेको अवस्थामा धामी झाँक्रिकोमा गई झार–फुक गर्ने गरिएको पनि पाइन्छ । यसका अलावा कतिपय कारणले दाँत तथा मुखको हेरचाह गर्न नसकी दाँतमा किरा लाग्ने, टुक्रने दाँत बांगिने, गीजा पाक्ने, रगत आउने, मुख गन्हाउने जस्ता असंख्य समस्याहरू प्रसस्तै देखा पर्छन् । यस्ता विभिन्न दाँत तथा मुखसम्बन्धी समस्याको पहिचान गरी ग्रामीण भेगका मानिसहरूमा दाँत तथा मुखसम्बन्धी समस्या समाधानका लागि विभिन्न चेतनामूलक कार्यक्रमका साथै संचारमाध्यममा लेख र रचनाहरूका माध्यमबाट केहि हदसम्म जानकारी तथा सचेत गराउन सकिन्छ ।
(लेखक दन्त स्वास्थ्यकर्मी तथा राष्ट्रिय नमुना डेण्टल हस्पिटल प्रालिका अध्यक्ष हुन्)
प्रतिक्रिया