सिमानामा छैन सीमा सुरक्षा क्याम्प

भैरहवा, १७ असोज । नेपाल–भारत सीमा नाकामा नेपालको सीमा सुरक्षाका लागि राखिएका सीमा सुरक्षा बल सिमानाभन्दा धेरै टाढा छन् । सीमाभन्दा टाढा भएका कारण सिमानामा हुने चोरीतस्करी तथा अर्को देशले गर्ने सीमा मिच्याइँलाई रोक्न नेपाली सुरक्षा फौजलाई समस्या परेको छ ।

नेपाल सरकारको अदूरदर्शीताका कारण यस्तो हुन गएको हो । पश्चिम तराईको
नेपाल–भारत सीमा क्षेत्रमा राखिएका सीमा सुरक्षा बल पनि नेपालको अन्य क्षेत्रमा जस्तै सिमानाभन्दा धेरै टाढा छन् । सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण गर्नका लागि खटाइएको सशस्त्र प्रहरी सीमा सुरक्षा बल सीमा क्षेत्रमा नराखी सीमाभन्दा निकै टाढा रहँदा धेरै समस्या निम्तिएको छ । भारतले भने दसगजालाई नै छोएर सीमा सुरक्षा बल राखेको छ ।
पश्चिम तराईको रूपन्देही, नवलपरासी तथा कपिलवस्तुलगायत तराईको जिल्लामा दसगजाबाट पन्ध्रदेखि बीस किलोमिटर टाढा सीमा सुरक्षा बेस क्याम्प राखिएका कारण सशस्त्र प्रहरी बललाई सीमा अपराध नियन्त्रण गर्न अप्ठयारो भएको सशस्त्र प्रहरी सीमा सुरक्षामा बसेका प्रहरीको गुनासो छ ।
रूपन्देहीको सीमा नाकामा सशस्त्र प्रहरी बेस क्याम्प राख्न आवश्यकता हुँदा पनि सशस्त्र प्रहरी ब्यारेक फरक–फरक स्थानमा स्थापना भएको हुँदा सीमा क्षेत्र पुग्न आधादेखि एक घन्टा लाग्ने गरेको छ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय रूपन्देहीका एसपी भीमबहादुर थापाले नामअनुसार सिमानामै बेस राख्न नसकिएको बताए । उनले भने, ‘सीमा प्रहरी बल सिमानामा नै हुनुपर्ने हो तर विविध कारणवश सिमानाभन्दा धेरै टाढा बसेर काम गर्नुपर्दा कार्यसम्पादनमा असहज भएको छ ।’
सिमानामा हुने अपराध नियन्त्रण गर्नसमेत सीमा प्रहरी सिमानाभन्दा टाढा हुँदा अफ्ठयारो भएको छ । दुई वर्षअघि रूपन्देहीको सीमा क्षेत्र आमा गाविसको आमा गाउँका प्रेम चौहानलाई तराई जनतान्त्रिक समूहका कार्यकर्ताले घरमा घेरा हालेर राति ८ बजे बम र गोली प्रहार गरेर गम्भीर घाइते बनाउँदा घटनाको भोलिपल्ट बिहान ८ बजे मात्र सीमाभन्दा १८ किमि टाढा रहेको सीमा सुरक्षा मसिनाको सशस्त्र प्रहरी घटनास्थल पुगेको पीडितको आरोप थियो ।
भनिएकै ठाउँमा छैनन् चौकी
रूपन्दहीको पश्चिमको आमा गाविसमा हुनुपर्ने कालिदह सीमा सुरक्षाको लागि खटाइएको सीमा सुरक्षा बल कालिदहमा नभएर सीमाभन्दा १८ किमि टाढा मसिनामा राखिएको छ । पूर्वको पजरकट्टीमा हुनुपर्ने पजरकट्टी सशस्त्र प्रहरी बल सीमा सुरक्षा बेस क्याम्प सीमाभन्दा १५ किमि टाढा केरवानीको बिर्तामा रहेको छ । दक्षिणमा रहेको करौता सीमामा हुनुपर्ने सशस्त्र प्रहरी बल सीमा सुरक्षा बेस क्याम्प सीमाभन्दा ८ किमि टाढा दुई मुहानघाटमा रहेको छ । बोगडी गाविसमा रहनुपर्ने सीमा सुरक्षा सशस्त्र प्रहरी बेस क्याम्प सीमाभन्दा ५ किमि टाढा रहेको छ । रायपुरमा रहनुपर्ने सशस्त्र प्रहरी बल सीमा सुरक्षा बेस क्याम्प पुर्निकोट भने सीमाभन्दा २ किमि टाढा रहेको छ । कदमहवा सीमामा हुनुपर्ने सशस्त्र बेस क्याम्प सीमाभन्दा ६ किमि टाढा मझगाँवाको कृषि भवनमा राखिएको छ ।
सरकारी कागजमा एक ठाउँ उल्लेख गर्ने तर कामचाहिँ अर्को ठाउँबाट भइरहेको छ । सिमानामा नै राख्ने भनेर नाम सीमा क्षेत्रअनुसारकै क्याम्प बनाए पनि सीमाभन्दा टाढा सुरक्षा क्याम्प बस्दा सीमा क्षेत्रमा हुने चोरीतस्करी तथा अपराध नियन्त्रण एवं वैदेशिक हस्तक्षेपमा नेपाल निरीह बन्नुपरेको स्थानीय बताउँछन् ।
सशस्त्र प्रहरी बलका पश्चिमाञ्चल प्रमुख डिआइजी प्रेमकुमार शाही भौतिक पूर्वाधार नहुँदा सीमा नाकामा सशस्त्र प्रहरी क्याम्प राख्न नसकिएको बताउँछन् । प्रहरीहरूलाई साइकलबाट भए पनि गस्ती गराएर जनतालाई राहत दिने काम भइरहेको उनले बताए ।
रूपन्देहीका सिडिओ हरिकृष्ण पौडेलले जग्गा अभावका कारण बेस क्याम्प टाढा राख्न बाध्य भएको बताए । उनले रूपन्देहीका तीन छोटी भन्सार खुलाउनका लागि अर्थमन्त्री वर्षमान पुनलाई प्रतिवेदन बुझाएको र यस जिल्लामा रहेका सशस्त्र प्रहरी बेस क्याम्पलाई एउटा मोटरसाइकल उपलब्ध गराउनका लागि मन्त्रालयमा पहल गरिएको बताए ।

प्रतिक्रिया