पत्रकार झाद्वारा पत्रिकाविरुद्ध मुद्दा दायर

रौतहट, १६ असोज । गौरबाट एक सातादेखि दैनिक रूपमा प्रकाशित गौर एक्सप्रेस पत्रिकाले आफ्नो चरित्रहत्या गर्ने भ्रामक समाचार प्रकाशन गरेको भन्दै रौतहटका पत्रकार प्रभातकुमार झाले स्थानीय पत्रिकाविरुद्ध जिल्ला अदालत गौरमा मुद्दा दायर गरेका छन् ।

व्यक्तिगत कारणले काठमाडांै गएका बेला भ्रामक तथा तथ्यहीन झुठो समाचार प्रकाशन गरेको तथा सोबारे बुझ्न खोज्दा उल्टै ज्यान मार्ने धम्की दिएको भन्ने खबरका कारण आफ्नो मानहानि भएको भन्दै पत्रकार झाले मुद्दा दर्ता गराएका हुन् । ‘विनाकारण ज्यानमार्ने धम्की दिएको भन्दै अपशब्द लेखी समाचार प्रकाशन गर्दै आइरहेकोमा पत्रिकाविरुद्ध रौतहट जिल्ला अदालतमा गाली बेइज्जती ऐनअन्तर्गत मुद्दा दायर गरेको छु,’ झाले बताए । ८ असोजदेखि दैनिक रूपमा प्रकाशन हुँदै आएको गौर एक्सप्रेस दैनिकले यहाँका पत्रकार तस्करी, चोरी, डकैती, भूमिगत समूहसँग साँठगाँठ राखेर अकुत रकम कमाई भरणपोषण गरिरहेको र उनीहरूलाई सामाजिक बहिष्कार गर्न आग्रह गरेर समाचार प्रकाशन गरेपछि नेपाल पत्रकार महासंघ रौतहट शाखालगायत अन्नपूर्ण पोस्टका पत्रकार झाको ध्यानाकर्षण भएको हो ।
यता नेपाल पत्रकार महासंघ शाखा रौतहटले पनि सोही विषयमा संगठन बदनाम गराउन खोजेको भन्दै मंगलबार मुद्दा दायर गर्ने तयारी गरेको छ । ‘मर्यादाविपरीत विनाप्रमाण तथानाम गाली बेइज्जतीको शैलीमा झुठो समाचार प्रकाशन गरेकोमा हाम्रो आपत्ति छ,’ हामी कानुनी उपचारका लागि सम्मानित जिल्ला अदालत जाँदै छौँ,’ महासंघका शाखा अध्यक्ष शैलेन्द्र गुप्ताले बताए । पत्रिकाले नेपाल पत्रकार महासंघलाई पनि संस्थागतरूपमा बदनाम गरेकाले महासंघको आकस्मिक बैठकले रौतहटका दुई पत्रिकाविरुद्ध कानुनी उपचारका लागि रौतहट जिल्ला अदालतमा मानहानि तथा गाली बेइज्जतीको मुद्दा दायर गर्ने तथा पत्रिकाविरुद्ध नेपाल प्रेस काउन्सिलमा उजुरी दर्ता गराउने निर्णय भएको अध्यक्ष गुप्ताले बताए ।

प्रतिक्रिया