अलेक्जेन्डर फेमिनीलाई उपाधि

इलाम, १४ असोज । रुसी ग्रान्डमास्टर अलेक्जेन्डर फोमिनीले शनिबार इलाममा सम्पन्न रामप्रसाद स्मृति बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन् । अन्तिमचरणमा राजन पुरीलाई हराउँदै उनी आठ अंकसहित पहिलो भएका हुन् । उनी प्रतियोगिताको दसौँ चरणसम्म अपराजित थिए । उनीसहित ५ खेलाडीको समान ८ अंक भए पनि वुगल्स टाइब्रेक प्रणालीअनुसार उनले पहिलो स्थान हासिल गरेका हुन् । नवौँ चरणसम्म उत्कृष्ट प्रदर्शन गरेका नेपाली खेलाडी अन्तिम चरणमा चुक्दा शीर्ष चार स्थानमा कुनै पनि नेपाली रहेनन् । नवौँ चरणसम्म आठ अंक नै भएका भारतका दिलिप दास दोस्रो र बंगलादेशका फिडेमास्टर इस्लाम अमानुल हक तेस्रो भए । त्यत्ति नै अंक भएका अस्ट्रेलियाका अन्तर्राष्ट्रिय मास्टर अलेक्जेन्डर बल चौथो तथा नेपालका सुजेन्द्र श्रेष्ठ पाँचौँ भए । नवौँ चरणसम्म उत्कृष्ट प्रदर्शन गरेका नेपाली खेलाडी १०औँ चरणमा भने असफल रहे ।
एक दिनअघिसम्म शीर्षस्थानमा रहेका बल र फोमिनीको पहिलो बोर्डमा, दोस्रो बोर्डमा इस्लाम र अनिल राजवाहक तथा तेस्रो बोर्डमा राजन र निरज बराबरी भएपछि अन्तिमचरणमा १२ जना खेलाडी समान सात अंकसहित खेलेका थिए । नवौँ चरणमा कृष्ण थापाले मनकुमार गुरुङ, मदनकृष्ण कायस्थले सुमन श्रेष्ठ, सुजेन्द्रले हिमांश हर्ष, आर्यनले कविराज देवजित, सौरभ आनन्दले नीलाद्री भट्टाचार्यलाई पराजित गरेका थिए भने दिलिप दासले आशुतोष कुमारलाई हराएका थिए । चेस खेलमा दुर्लभ किसिमले अन्तिमचरणमा १२ जना खेलाडी समान अंक लिएर खेलेका थिए ।
अन्तिमचरणमा राजनले फोमिनीसँग नाइट इन्डिङमा हारेका थिए । यस प्रतियोगिताको सुरुआती नौ चरणमा भने कृष्ण थापा, निराज निरौला र राजन पुरीले सानदार प्रदर्शन गरे । अन्तिमचरणमा माथिल्लो १० बोर्डमा गैरनेपालीलाई पराजित गर्नेसँग अंक जोड्ने नेपाली मनकुमार गुरुङ मात्र रहे । उनले भारतीय विजय कुमारलाई पराजित गरे । नवौँ चरणसम्म उत्कृष्ट प्रदर्शन गरेका अनिल पनि अन्तिमचरणमा आफूभन्दा कम रेटिङका आर्यनसँग बराबरीमा रोकिए । प्रतियोगितामा ७.५ अंक भएका अनिल राजवाहक सातौँ तथा आर्यन आठौँ भए ।
प्रतियोगितामा निरजले उत्कृष्ट पूर्वाञ्चलको पुरस्कार पाए । प्रतियोगितामा समग्रमा नेपालीका लागि राम्रो रहेको थियो । उत्कृष्ट प्रदर्शनको क्रममा कृष्ण थापा र निरज निरौलाले ग्रान्डमास्टर फोमिनीसँग बराबरी गरे भने राजन सुवेदीले आइएम बललाई हराए ।
गजुरमुखी निर्माण कम्पनीको मुख्य प्रायोजन र नेपाल निर्माण व्यवसायी महासंघ काठमाडौंको सहप्रायोजनमा सम्पन्न प्रतियोगिता गजुरमुखी कन्स्ट्रक्सनका पूर्वप्रमुख दिवंगत रामप्रसाद गौतमको स्मृतिमा इलाम जिल्ला बुद्धिचाल संघ र गजुरमुखी चेस क्लबको आयोजनामा सञ्चालन भएको हो । विजेता खेलाडीलाई रामप्रसाद गौतमकी पत्नी दिव्येश्वरी गौतमलगायतले पुरस्कार वितरण गरे । पहिलो हुनेले ६० हजार, दोस्रोले ४० हजार तथा तेस्रोले २५ हजार रुपियाँ पाउन सफल भए । चौथो र पाँचौँ हुनेले क्रमश: १५ र १० हजार रुपियाँ प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट २० स्थानमा पर्ने तथा विभिन्न उमेरसमूहका गरी ४० खेलाडीले नगद पुरस्कार पाएका थिए । दोस्रो पुरस्कारको प्रायोजन स्थानीय डम्बर खड्का र तेस्रोको प्रायोजन नेपाल बुद्धिचाल संघका अध्यक्ष राजेशहरि जोशीले गरेका हुन् ।
सौरभले यू–१४ तथा निरजले पूर्वाञ्चलतर्फको पहिलो स्थान हासिल गरेकाले मदनकृष्ण कायस्थले नवौँ तथा राजन पुरीले १०औँ तर्फको पुरस्कार पाए । एघारौँ स्थानमा रहेका कृष्ण थापाले रेटिङसमूहतर्फको पुुरस्कार पाए ।
८ असोजबाट सञ्चालित प्रतियोगितामा ७ देशका १ सय ३९ खेलाडीको सहभागिता थियो ।

प्रतिक्रिया