भारतविरोधी माओवादी गतिविधि नियन्त्रण गर्नुपर्छ

काठमाडौं, १३ असोज । सत्ताधारी एमाओवादी र मधेसी मोर्चाले नेकपा–माओवादीले भारतविरोधी आन्दोलन थालेर दुई देशबीचको सम्बन्ध बिगार्न खोजेको निष्कर्ष निकालेका छन् ।

उनीहरूले प्रधानमन्त्री डा. बाबुराम भट्टराईसमक्ष कानुनविपरीत भइरहेका यस्ता गतिविधि नियन्त्रण गर्न मागसमेत गरेका छन् । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बसेको एमाओवादी र मोर्चाको बैठकले नेकपा–माओवादीका गलत क्रियाकलाप तत्काल नियन्त्रण गर्न माग गरेका हुन् । जवाफमा प्रधानमन्त्री डा. भट्टराईले संविधान र कानुनविपरीत कार्य गर्ने जो–कोहीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन् ।
नेकपा–माओवादीले बिहीबारदेखि भारतीय नम्बर प्लेटका सवारीसाधन नेपालमा चल्न नदिने आन्दोलन थालेको हो । उसले नेपालप्रति नकारात्मक सन्देश फैलाउने, सांस्कृतिक विकृति फैलाउने हिन्दी सिनेमाको प्रदर्शनमा पनि रोक लगाउने घोषणा गरेको छ ।
एमाओवादी र मोर्चाले भने नेकपा–माओवादीको आन्दोलनले मित्रराष्ट्र भारतलाई चिढयाउने र पारस्परिक सम्बन्ध बिगार्ने ठहर गरेको छ । उनीहरूले त्यस्ता गतिविधि गर्नेलाई कारबाही गर्न सरकारसित माग गरेका छन् ।
बैठकपछि सद्भावना पार्टीका नेता लक्ष्मणलाल कर्णले भारतलाई चिढयाउने गतिविधि नियन्त्रण गर्न प्रधानमन्त्रीलाई आग्रह गरिएको जानकारी दिए । प्रधानमन्त्रीले कानुनविपरीत काम गर्ने अधिकार कसैलाई नभएकाले त्यस्ता गतिविधि गर्ने सबैलाई कानुनी दायरामा ल्याउने आश्वासन दिएको नेता कर्णले बताए । यसअघि बसेको मधेसी मोर्चाको बैठकले पनि नेकपा–माओवादीका गतिविधि भारतविरोधी भएको निष्कर्ष निकाल्दै नियन्त्रण गर्न सरकारसित माग गरेको थियो ।
एमाओवादी र मोर्चाको बैठकले सहमतिका लागि अन्य राजनीतिक दलसितको छलफल जारी राख्ने र अधिकतम लचिलो भएर प्रस्तुत हुने निर्णयसमेत गरेको छ । विपक्षी दलहरूले सरकारविरुद्ध आन्दोलनको तयारी गरेका बेला दुई दल बैठकले लचकता अपनाउने निर्णय गरेको हो ।

प्रतिक्रिया