रोकिनुको साटो फैलिँदै छ डेंगु

काठमाडौं, १२ असोज । विगत दुई महिनादेखि चितवन, बारा, पर्सा, नवलपरासी, कैलाली, रूपन्देहीलगायत तराईका जिल्लामा फैलिएको डेंगु रोग अझै नियन्त्रणमा आउन सकेको छैन । डेंगु नियन्त्रणका लागि सरकारी पहल पर्याप्त हुन नसक्दा डेंगुको समस्या बढ्दै गएको चिकित्सकहरू बताउँछन् ।
वर्षात्को समाप्तिसँगै डेंगुको समस्या रोकिने विश्वासमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कर्मचारी पनि बिरामी थपिन थालेपछि चिन्तित बनेका छन् । ‘विगतको तुलनामा यस वर्ष डेंगुको समस्या धेरै नियन्त्रणमा आएको छ,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. विश्वराज खनालले भने, ‘तापनि, यो वर्ष साउन र भदौको तुलनामा असोजमा समस्या बढी देखिन थालेको छ ।’ उनका अनुसार वर्षात् सकिए पनि खाल्डाखुल्डीमा पानी जमेका कारण डेंगु फैलिइरहेको छ ।
लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोग बढ्दै गएपछि चिकित्सकहरूले नियन्त्रणभन्दा पनि प्रकोपका रूपमा देखापर्ने चिन्ता व्यक्त गर्दै महाशाखालाई सतर्कता अपनाउन सुझाव दिइरहेका छन् । महाशाखाले पनि चिकित्सकको सुझावबमोजिम डेंगुको जोखिम क्षेत्रमा औषधि तथा जनशक्तिको पूर्णतयारी गरेको जनाएको छ । रोगले प्रकोपको रूप नलेओस् भनेर चिकित्सकसहितको प्राविधिक टोली तयारी अवस्थामा राखिएको डा. खनालले बताए ।
डेंगुका बिरामी धेरैजसो जिल्लाबाट टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा रिफर भएर आएका छन् । अस्पतालका अनुसार यो वर्ष साउनमा ९ जना र भदौमा पनि ९ जनाको रगत परीक्षण गर्दा डेंगुको संक्रमण भेटिएको छ भने असोजको पहिलो साता नै ६ जनामा डेंगु देखिएकाले यो महिनाभर अघिल्ला दुई महिनाको तुलनामा बढी बिरामी आउने देखिन्छ ।
डेंगु रोग विशेषज्ञ डा. वासुदेव पाण्डेले तराईका जिल्लामा डेंगुका बिरामीको संख्यामा वृद्धि भइरहेको जानकारी आइरहेको बताए । तराईका जिल्लमा उपचार गर्दागर्दै जटिल भएका बिरामीमात्र टेकु आउने भएकाले यहाँको तथ्यांक कम भएको डा. पाण्डेको भनाइ छ । ‘दैनिक रोगीका संख्या बढिरहेको छ,’ उनले भने, ‘अब पनि आवश्यक कदम नचाल्ने हो भने यसले ठूलै समस्या निम्त्याउन सक्छ ।’ उनका अनुसार यस वर्ष डेंगु रोगीको संख्या एक सयभन्दा बढी देखिएको छ ।
गर्मी बढी हुने तराईका जिल्लामा देखिएको एडिस एजिपटाइप जातको पोथी लामखुट्टे अहिले काठमाडौं र अन्य केही पहाडी जिल्लामा पनि देखापर्न थालेको जानकारी उनले दिए । घरमा रहेको सफापानी, गमला, टायर मर्मत केन्द्र, एयर कन्डिसनजस्ता स्थानमा एडिस प्रजातिको लामखुट्टे बस्ने भएकाले यसप्रति सचेत रहनुपर्ने डा. खनालको भनाइ छ । मन्त्रालयबाट मात्र रोग नियन्त्रण गर्न नसकिने उल्लेख गर्दै उनले भने, ‘सहरका सबै लामखुट्टे सखाप पार्न सकिँदैन, लामखुट्टेभन्दा पनि यसले फुल पार्ने र बस्ने ठाउँ नै नष्ट पारिनुपर्छ ।’
डा. पाण्डेका अनुसार २० देखि ३० डिग्री तापक्रममा एडिस जातको लामखुट्टे रहने भएकाले अझै एकदेखि दुई महिनासम्म डेंगुको समस्या देखिने सम्भावना छ । सफापानीमा बस्ने पोथीजातको लामखुट्टेले टोकेपछि अप्रत्यासित रूपमा ज्वरो आउने, शरीरमा रगतको मात्रा कम हुनेजस्ता लक्षण देखापर्दछन् ।

प्रतिक्रिया