इंग्ल्यान्ड र दक्षिण अफ्रिकाको जित

कोलम्बो, ७ असोज । विपक्षलाई बलियो चुनौती दिन सक्ने टोलीका रूपमा हेरिएको अफगानिस्तानलाई ११६ रनले पराजित गर्दै इंग्ल्यान्डले आइसिसी
टी–ट्वान्टी विश्वकपमा सानदार सुरुआत गरेको छ । शुक्रबार राति भएको खेलमा इंग्ल्यान्डले टस हारी पहिले ब्याटिङ गर्ने क्रममा १९६ रन जोडेको थियो । इंग्ल्यान्डले विशाल लक्ष्य पछयाएको अफगानिस्तानलाई १७.२ ओभरमा ८० रनमा सीमित गर्‍यो ।
पहिलो खेल खेल्ने क्रममा जित हात पारेलगत्तै इंग्ल्यान्डले क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्‍यो । अफगानिस्तान दुई खेल हार्दै बाहिरिएपछि इंग्ल्यान्डसँगै भारतको यात्रा पनि अगाडि बढेको हो । समूहमा भारत र इंग्ल्यान्डबीच आइतबार प्रतिस्पर्धा हुँदै छ ।
इंग्ल्यान्डलाई विशाल योगफलसम्म पुर्‍याउन लुक राइटले ९९, एलेक्स हेल्सले ३१, इओइन मोर्गनले २७ रन बनाए । त्यस्तै, बलिङतर्फ इंग्ल्यान्डका स्टुवार्ट ब्रड, समित पटेल, ग्रिम स्वान र जेड डम्बेचले समान दुई विकेट लिए ।
अफगानिस्तानका सुरुआती सात ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । आठाँै नम्बरमा ब्याटिङ गर्न आउँदै ४४ रन जोडेका गुल्बुद्दिन नैब मात्र अफगानिस्तानको इनिङमा दोहोरो अंक छुने खेलाडी बने । विकेटकिपर मोहम्मद सज्जाद १, कप्तान नरुज मंगल ८, सफिकुल्लाह ०, करिम सदिक ५, अस्घर स्टानिजाई ४, मोहम्मद नाबी १ र समिल्लाह सेन्वारी २ रन जोडी आउट भए ।
अफगानिस्तान कुनै समय २६–८ को स्थितिमा थियो तर नैबले नवौँ विकेटका लागि ४४ रनको साझेदारी गरी अत्यन्तै खराब इनिङबाट अफगानिस्तानलाई जोगाए । साविक विजेता इंग्ल्यान्डले आकर्षक ब्याटिङ प्रदर्शन गर्‍यो । पहिलो विकेटका रूपमा विकेटकिपर क्रेग किजवेटरलाई शून्यमै गुमाए पनि त्यसपछि इंग्ल्यान्ड कहिले संकटमा देखिएन । ५५ बलको सामना गरेका राइटले ८ चौका र ६ छक्का प्रहार गरे । तेस्रो नम्बरमा ब्याटिङ गर्ने क्रममा राइट अविजित रहे ।
राइट म्यान अफ द म्याच भए । उनले दोस्रो विकेटका लागि हेल्ससँग ६९ र तेस्रो विकेटका लागि मोर्गनसँग ७२ रनको साझेदारी गरेका थिए । यसअघि भारतसँग पनि पराजित भएको अफगानिस्तान लगातार दुई हारपछि समूहचरणबाटै बाहिरिएको छ । भारतलाई कडा चुनौती दिएको अफगानिस्तान पहिलो खेलमा जस्तै गरी दोस्रो खेलमा इंग्ल्यान्डविरुद्ध प्रस्तुत हुन सकेन ।
शनिबार राति नै भएको अर्को खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई पराजित गर्‍यो । वर्षाका कारण सात ओभरमा घटाइएको खेलमा दक्षिण अफ्रिका ३२ रनले विजयी भयो र समूहविजेता बन्दै क्वार्टरफाइनल प्रवेश गर्‍यो । हारका बाबजुद श्रीलंका समूह उपविजेताका रूपमा अघिल्लो चरण प्रवेश गर्न सफल भयो ।
७९ रनको लक्ष्य पछयाएको श्रीलंकाले निर्धारित सात ओभरमा पाँच विकेटको क्षतिमा ४६ रन जोडयो । श्रीलंकाका लागि कुमार संगाकारा र दिल्सान मुनावेराले समान १३ रनको योगदान गरे । यी दुई खेलाडीले मात्र श्रीलंकाको इनिङमा दोहोरो अंक छुन सके । माहेला जयावद्र्धने ४, तिलकरत्ने दिल्सान ० र थिसारा परेरा १ रनमा आउट भए । बलिङतर्फ डेल स्टेनले दुई तथा ज्याक कालिस र एलबी मोर्केलले समान एक विकेट लिए । यसअघि टस जिती पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले करिब ११ को प्रतिओभर रन औसतमा ब्याटिङ गर्‍यो । एब डी भिलियर्सले १३ बल खेल्दै एक चौका र दुई छक्काको मद्दतमा ३० रन जोडे । त्यस्तै नौ बल सामना गरेका हसिम अमलाले तीन चौकाको मद्दतमा १६ रन बनाए । ज्याँ पल डुमिनीले पाँच बल खेल्दै एक चौका र एक छक्काको मद्दतमा १२ रनको छोटो तर आकर्षक इनिङ खेले । यसअघि यी दुवै टोलीले जिम्बावेलाई पराजित गरेपछि एक खेलअगावै दुवै टोलीको क्वार्टरफाइनल यात्रा पक्का भएको थियो ।
प्रतियोगिताअन्तर्गत आइतबार राति न्युजिल्यान्ड र पाकिस्तान तथा भारत र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । पाकिस्तान पहिलो खेलमा भिड्न लागेको हो । एजेन्सी

प्रतिक्रिया