प्रथम ओलम्पियन भूपेन्द्र रहेनन्

काठमाडौ, ६  असोज । नेपालको प्रथम ओलम्पियन टोलीका अन्तिम सदस्य भूपेन्द्र सिलवालको बिहीबार राति निधन भएको छ । ललितपुर विशंखुनारायण गाविस–८ मान्डाँडाका स्थायी बासिन्दा ७८ वर्षीय भूपेन्द्र केही दिनअघि छाउनीस्थित नेपाल आर्मी अस्पतालमा भर्ना गरिएका थिए । क्यान्सरपीडित भूपेन्द्रको पेटको शल्यक्रिया गरी ट्युमर फालिएको थियो तर शल्यक्रियापछि इन्फेक्सन फैलिएर उनी होसमा नआई चिरनिद्रामा पुगेका थिए ।
दिवंगत भूपेन्द्रको शुक्रबार नै हिन्दू संस्कारअनुसार दाह–संस्कार गरियो । राष्ट्रिय खेलकुदपरिषद्को हातामा उनीप्रति श्रद्धाञ्जली अर्पण गरियो । नेपाली खेल अधिकारी, खेलाडी, प्रशिक्षक ,कर्मचारी, आफन्त, परिवार र अन्य शुभेच्छुकले फूलमाला, अबिर र पुष्पगुच्छा चढाइ भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरे ।
विभिन्न संघ/सस्था र खेलकुदसँग सम्बन्धित व्यक्तिले उनको निधन नेपाली खेलकुदको अपूरणीय क्षति भएको ठहर गर्दै समवेदना व्यक्त गरेका छन् । राष्ट्रिय खेलकुद परिषद्, नेपाल खेलकुद पत्रकार मञ्च, लोकतान्त्रिक खेलकुद पत्रकार संघ र दक्षिण एसियाली खेलकुद पत्रकार संघलगायतले उनीप्रति समवेदना व्यक्त गर्दै विज्ञप्ति प्रकाशित गरेका छन् ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामा र युवा तथा खेलकुद मन्त्रालयका सचिव सुशील घिमिरेले खेलकुद परिषद्मै उनीप्रति श्रद्धाञ्जली व्यक्त गरे भने नेपाल ओलम्पिक कमिटीका अध्यक्ष ध्रुबबहादुर प्रधान, महासचिव जीवनराम श्रेष्ठ र अन्य पदाधिकारीले पनि उनीप्रति श्रद्धाञ्जली व्यक्त गरे । नेपाल ओलम्पियन संघले उनको किरिया खर्चबापत १० हजार रुपियाँ प्रदान गरेको छ ।
सिलवालले सन् १९६४ मा जापानको टोकियोमा भएको १८आँै गृष्मकालीन ओलम्पिकमा नेपालका तर्फबाट म्याराथनमा सहभागिता जनाएका थिए । उनीसहित त्यस ओलम्पिकमा नेपालको तर्फबाट दुई धावक र चार मुक्केबाज सहभागी थिए । भूपेन्द्रको निधनपछि पहिलोपटक ओलम्पिकमा सहभगी नेपाली टोलीका कोही पनि जीवित रहेका छैनन् । टोकियो ओलम्पिकमा सहभागिता जनाएका बक्सरहरू नामसिंह थापा, ओमप्रसाद पुन र रामप्रसाद गुरुङ र अर्का म्याराथन धावक गंगा थापाको निधन भइसकेको छ । ओलम्पिकभन्दा पहिले उनी सन् १९५८ को टोकियो एसियाली खेलकुदमा सहभागी थिए  । त्यसै एसियाली खेलकुदमा खाली खुट्टा दौडिएका कारण उनी सधैँभरि चर्चामा रहे । दौडँदै गर्दा जापानी महिलाले उनका गोडामा पानी हालिदिएकी थिइन् । त्यस एसियाली खेलकुदमा कुदेका ६० जनामध्ये भूपेन्द्र र नरबहादुर गुरुङ खाली खुट्टा दौडिएका थिए । भूपेन्द्रले त्यस एसियाडमा साताँै स्थान पाएका थिए ।
एसियाली खेलकुदमा सातौँ स्थान पाएका कारण भूपेन्द्रले ओलम्पिक सहभागिताको अवसर पाएका हुन् । सेनाको गोरख गणमा कार्यरत भूपेन्द्र एसियाली सहभागितापछि नै ७५ दिन विदामा बसेका थिए । त्यसको एक वर्षपछि उनलाई जनरल नर शमशेरले सेनाको जागिर छाड्न भनेका थिए । जागिर छाडे पनि तत्कालीन सदस्यसचिव खड्गविक्रम शाहले भूपेन्द्रप्रति कुनै चासो दिएनन् ।
नजिकै गोदावरी मार्बल इन्डस्ट्रिज स्थापित थियो । उनी ढुंगा कुट्ने काम गर्थे । पछि सुशील शमशेर राखेप सदस्यसचिव भएपछि उनलाई दौडने गरी बोलाइयो । उनैले तयार गरेको रुट पूरा गरेर भूपेन्द्र ओलम्पिकका लागि छनोट भए । ओलम्पिकमा पिँडुला फर्किएपछि उनले दुई किलोमिटर बाँकी रहँदा दौड त्यागे । उनीसँगै सहभागी गंगाबहादुरले पनि दौड त्यागे । इथियोपियाका बिकिलाले त्यो दौड जितेका थिए ।
स्व.भूपेन्द्रले केही साताअघि लन्डन ओलम्पिक हेरेर आएका थिए । ४८ वर्षअघिको ओलम्पिक र ४८ वर्षपछिको ओलम्पिकमा दुई भिन्न हैसियतले उपस्थित भएर अनुभव बटुलेको एक महिना पनि नहँुदै उनको जीवनलीला सकिएको छज्ञ । उनीसहित एउटा टोलीले नेपाललाई ओलम्पिक मुभमेन्टमा सहभागी गराएको ४८ वर्षपछि भूपेन्द्रमा केही निराशा पनि देखिएको थियो जुन कुरा उनीसँग पछिल्लो समय भलाकुसारी गर्नेले महसुस गर्थे ।
‘ओलम्पियनहरूको कहिलेकाहीँ भेटघाट हँुदा उहाँ रमाइलो र ठट्टा गर्ने खालको हुनुहुन्थ्यो । आफैँमा केही निराश पनि हुनुहुन्थ्यो अन्तिम समय,’ ओलम्पियन संगीना वैद्य भन्छिन्, ‘उहाँले हामीलाई सधैँ खेलकुदमा केही गर्न प्रेरणा दिनुहुन्थ्यो । उहाँको निधनले नेपाली खेलकुदले एउटा अभिभावक गुमाएको छ ।’ यसैगरी नेपाल खेलकुद पत्रकार मञ्चले उनलाई केही महिनाअघि ‘पल्सर लाइफ टाइम अचिभमेन्ट अवार्ड’बाट सम्मानित गरेको थियो ।
नजिकबाट चिन्नेहरू उनलाई मिलनसार, हठी, प्रस्ट वक्ता र मिजासिला पाउँथे । ‘उनको विशेषता भनेको सबैलाई दु:खमा साथ दिने र कसैलाई दु:ख पर्‍यो भने सहयोग गर्नुपर्छ भन्ने खालको थियो,’ गोदावरीका ६३ वर्षीय गाउँले शम्भु घिमिरे उनका बारेमा भन्छन् । आफ्नो बसोबास रहेको गोदावरी क्षेत्रमा खेलकुद क्षेत्रसँग सम्बन्धित कोही व्यक्ति भेट्दा उनी औधी खुसी हुने गर्दथे । भूपेन्द्रको नजिकै हुर्केका राष्ट्रिय टोलीका पूर्वस्ट्राइकर जीवेश पाण्डे भन्छन्, ‘म फुटलबर भएपछि उनी खुसी थिए । मसँग भेट्दा उनलाई एउटै क्षेत्रका भएका कारण अलि बढी खुसी हुन्थे, जुन उनको प्रस्तुतिबाट पनि प्रस्ट देखिन्थ्यो ।’ जीवेशसँगै गोदावरीकै पुलिस क्लबका पूर्वस्प्रिन्टर गणेश तामाङबारे पनि उनी अत्याधिक चासो लिने गर्थे । प्राय: बिहान ट्र×याकमा पुग्दा पनि भूपेन्द्र गणेशको गतिबारे चासो लिइहाल्थे ।

प्रतिक्रिया