‘न्युज रुम’ र वरिष्ठको कलम

पत्रकार बबिता बस्नेतले गत १३ भदौमा घटना र विचारमा लेखेको ‘महिला पत्रकार र यौनहिंसाको कुरा’ लेखबाट धेरै पत्रकार महिलाहरूको गम्भीर ध्यानाकर्षण भएको छ । उहाँले भने जसरी साँच्चै अहिले ‘न्युज रुमहरू’ सुरक्षित छन् ? प्रश्नले उहाँमाथि होइन, नेपाली पत्रकारितामा नै तिखो प्रहार गरेको छ । ‘केही नभई त्यसै यस्ता कुरा आए भन्न मिल्दैन तर जसरी यौनशोषणमा परेका भनेर महिलाको नाम बाहिर ल्याइयो त्यो भने गलत भयो । हल्लामा ल्याइएजस्तो सञ्चारमाध्यमका ‘न्युज रुमहरू’ असुरक्षित पनि छैनन्’ लेखबाट साभार यो पंक्ति आफैमा विरोधाभाष छ । जो पत्रकार महिलाहरू न्युजरुमभित्रैबाट चरम यौनहिंसामा परेका छन् उनीहरूका लागि यो भनाइ सान्दर्भिक होला ? सबै न्युजरुम असुरक्षित नहोलान् तर जुन सञ्चारमाध्यममा काम गर्दा महिलाहरू असुरक्षित महसुस गरिरहेका छन्, उनीहरू आन्तरिक छानबिन र न्यायका लागि कानुनी प्रक्रिया अवलम्बन गरिरहेका छन् । उनका लागि वरिष्ठ तहमा रहेकी बस्नेतको कलमले न्याय गर्न सकेन । यस्ता पीडितको संख्या कमै होला तर उनीहरूको लागि त सय प्रतिशत नै हो ।
जतिबेला यो पंक्तिकार पत्रकार बबिता बस्नेत, निर्मला शर्मालगायत नाम चलेका महिला पत्रकारहरूलाई आदर्शको रूपमा लिन्थ्यो । र, व्यावसायिक दक्षताका लागि उहाँहरूको सहयोग पनि नपाइएको होइन । समय धेरै भएको छैन । तर उहाँहरूका अहिलेका कतिपय तर्क र विश्लेषण यस्ता लाग्छन्– या त कल्पनामा लेखिरहनुभएको छ या भनसुनको भरमा । यो पंक्तिकारको उमेरजति पत्रकारितामा उहाँको योगदान होला र यसको तारिफ गर्नैपर्छ । साँचो यो हो कि उहाँ लामो समयदेखि सम्पादक तहको पत्रकार हो । जो न्युजरुममा विरलै छिर्छ । अहिलेका न्युजरुमदेखि क्यान्टिनसम्म पुरुष पत्रकारको वर्चस्व छ । केही व्यावसायिक क्षमताभन्दा आफ्नो सौन्दर्य र जोवनको भरमा पेसामा टिकिरहन चाहने पत्रकार महिलाले बस्नेतकै आचरणमाथि नकारात्मक टिप्पणी गर्दा ठाडै असहमति जनाउँदै प्रतिवाद गर्ने यही पंक्तिकार हो । आफू कार्यरत न्युजरुमभित्रको वातावरणको विषयमा बाहिर जतिसुकै जान्ने व्यक्तिले गरेको टिप्पणी कमजोर र तथ्यहीन लाग्नु स्वाभाविकै हो । त्यसैले आफ्ना पालाको न्युजरुमको कल्पना गरेर अहिलेका विषयवस्तुमा गरेका विश्लेषण अपूरा हुन्छन् । अहिले हिंसा र शोषणका विभिन्न रूप छन् । कर्तव्य, जिम्मेवारी, आदेशपालना, आज्ञाकारी, असल कर्मचारीको रूपमा पत्रकार पनि विभिन्न सन्दर्भमा हिंसाको सिकार भएका छन् । वरिष्ठको दर्जामा पर्ने लेखकलाई मैले सिकाउनुपर्दैन ।
बस्नेतको कलमप्रति किन यति पूर्वाग्रह ? भन्ने पनि लाग्न सक्छ । उहाँ नीतिनिर्माण तहको, सेवा, सुविधा, अनुभवलगायतले उच्चतहको पत्रकार हो । हामी रिपोर्टर जसका बारेमा उहाँ टिप्पणी गर्नुहुन्छ, त्यसमा मात्र गाम्भीर्यता हो । उहाँ ठान्नुहुन्छ कि सञ्चारगृहभित्रको हिंसाको विषय बाहिर नआओस् किनकि यसले पत्रकार महिलाको संख्या घट्न सक्छ । मिडियाकै मानिसबाट महिला पत्रकार सुरक्षित छैनन् भनेर कुराहरू बाहिर आउँदा अनावश्यक आरोप लाग्ने जोखिम हुन्छ रे † दूषित कुरालाई छोपेर राख्ने अनि सुगन्धको अपेक्षा गर्नु सान्दर्भिक होला ? पहिला आफू सुध्रिने अनि आफू रहेको क्षेत्र सुधार्ने त्यसपछि मात्र अरू क्षेत्र सुधारका लागि आवाज उठाउनुपर्ने वास्तविकता बाहिर ल्याउँदा मिडियाकर्मीलाई के को लाज ? सञ्चारक्षेत्रभित्र थुप्रै अवसर छन् । यहाँका जटिलता र चुनौतीलाई नबुझेर रहरको भरमा पेसामा प्रवेश गर्ने र वरिष्ठ भनाउँदाहरूले यहाँको वास्तविकता नबताएर टिकाइराख्न खोजेर कति संख्या बढ्ला ? यसरी संख्या बढाउनु मूर्खतासिवाय अरू केही हुन सक्दैन । हो, हरेक परिवारले आफ्ना छोरी–बुहारी, दिदी–बहिनी, श्रीमतीलाई सबै कुराले सुरक्षित क्षेत्रमा काम गर्न पठाउन चाहन्छ । जुन ठाउँमा काम गर्ने वातावरण काम गर्नलायक नै हुँदैन, क्षमताका आधारमा कामको मूल्याङ्कन हुँदैन, आफ्नै सहकर्मीबाट यौन दुव्र्यवहारमा परिन्छ, त्यस्तो ठाउँमा कामको लागि परिवारको प्रोत्साहन नपाइएला । तर, पेसाको आडमा हुने हिंसा, दुव्र्यवहारलगायतमा जानकार नभएका व्यक्तिको प्रवेश गराएर मिडियामा महिलाको संख्या बढाउन चाहँदा उनीहरूलाई नै हिंसाको सिकार बनाउनु हो किनकि सबैभन्दा बढी हिंसामा नयाँ प्रवेश गर्ने या अर्को सञ्चारगृहबाट आएका महिलाहरू भएका छन् ।
सञ्चार क्षेत्रभित्रका हिंसा र विकृति बाहिर नल्याउन व्यक्तिले जति ढाकछोप गरे पनि विभिन्न पत्रपत्रिकामा आएका समाचारले सूचित गराएका छन् । साँघु र जनआस्था साप्ताहिकले प्रत्येक अंकमा पत्रकार र पत्रकारितासँग सम्बन्धित विषयलाई समाचारको स्थान दिएका छन् । यो स्वागतयोग्य सुरुआत हो । घटनाका बारेमा सत्यतथ्य बाहिर ल्याउन र पीडितलाई न्याय दिलाउन गरिएको पहलबाट सम्बन्धित पक्ष नै पीडित भइरहेको बारे सबै सञ्चारमाध्यम जिम्मेवार हुनैपर्छ । अन्यथा पछिल्ला समयमा सञ्चार क्षेत्रभित्रका विषयले पनि सञ्चारमाध्यममा स्थान पाउनुले यहाँभित्रको वास्तविकता बुझ्न सहज भएको छ । पत्रकारिताभित्रका विकृति बाहिर ल्याउँदा इमानदार र असल व्यक्तिलाई के को डर ? अरूलाई सभ्यताको पाठ सिकाउने भूमिकामा रहेकालाई आफू सभ्य बन्न किन हिच्किचाहट ? चाहे न्युजरुम होऊन् चाहे साँझका मदपार्टीबाट कोही न कोही शारीरिक तथा मानसिक हिंसाबाट प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा पीडित हुनुपरेको सत्य हो । केही समयअघिको पत्रकार महासंघको बैठकमा भएको छलफल र आएको निष्कर्ष साँघु साप्ताहिकमा प्रकाशन भएको थियो । प्रकाशित समाचारअनुसार साँच्चै महासंघले नेपाली पत्रकारितामा हुने गरेका महिला हिंसाका विषयप्रति गम्भीर छलफल गरेर हिंसा भएकै छैनन्, यसमा गम्भीर आपत्ति प्रकट गर्नेलगायतका जुन निर्णय लियो त्यसलाई विभिन्न कार्यालयमा परेका उजुरीका चाङले पनि गतिलो जवाफ दिएको छ । कान्तिपुरलगायतका मिडियामा महिला हिंसाका कारण कारबाहीको भागीदार हुनुपरेको र जागिरबाट राजीनामा गर्नुपरेको तातो यथार्थले पनि महासंघको निर्णयलाई हावा खुवाएको छ । पत्रकारिताका कारणले महिलाहिंसा भएको होइन । कुनै पेसा गर्दैमा कोही हिंसामा पर्ने भन्ने कुरा पनि हुँदैन तर पेसामा रहेका व्यक्तिको आचरण र स्वभावजन्य कमजोरीले कोही हिंसामा परेको छ भने त्यो कुरा स्विकार्न के को लाज ?
देश र जनताको आचरण र व्यवहारमा समेत सचेत र खबरदारी गर्ने क्षेत्र आफू कति स्वस्थ छ ? सोच्नुुपर्ने समय यही हो । स्थान त्यतिबेलासम्म असुरक्षित हुन्छ, जबसम्म त्यहाँ कार्यरत व्यक्तिले आफू सुरक्षित महसुस गर्न सक्दैन । यसमा व्यक्तिको संस्कार, बुझाइको स्तर, ज्ञानको तह, उसको जीवनशैलीलगायतका कुरा जोडिन्छन् । तर, व्यक्तिको महसुसको कुरालाई सजिलै टिप्पणी नगरौँ । यो उसको व्यक्तिगत मामिला हो । मिडियाको इज्जत र बदनामसँग जोडिएका विशिष्ट समस्याहरू विशेष प्रकारले योजना बनाएर सम्बोधन गर्नुपर्छ । महिलाहरू पत्रकारितामा आउनु भनेको उसको समग्र जीवन आउनु हो अर्थात् उनीहरूको प्रेम, विवाह, घर, बच्चा, शिक्षा, परिवार सबै सँगै आउनु हो । सजिलो बेलामा महिलाका क्षमता र योगदान सामूहिक रूपबाट लिने र समस्या परेका बेला यो उसको व्यक्तिगत सम्बन्धको कुरा हो समाधान गर भन्न मिल्दैन । महिलाहरूको प्राकृतिक दायित्व र महिला भएकै कारण भोग्नुपर्ने समस्या मिडिया हाउसबाटै हल गरिनुपर्छ र पेसामा टिकाइराख्न दीर्घकालीन योजना बनाइनुपर्छ । यद्यपि, पत्रकार महिलाहरूले आफूलाई विषय तथा घटनामा अद्यावधिक गराइराख्ने, विभिन्न विषयमा विचार र विमर्श गर्नयोग्य व्यक्तिका रूपमा तयार गर्न आवश्यक मिहिनेत गर्नुपर्ने र कुशल पत्रकारका रूपमा स्थापन गराउने कुरा निर्विवाद छ ।

प्रतिक्रिया