अस्ट्रेलियाको सहज जित

कोलम्बो, ४ भदौ । आयरल्यान्डलाई सात विकेटले पराजित गर्दै अस्ट्रेलियाले श्रीलंकामा जारी चौथो आइसिसी टी–ट्वान्टी विश्वकपमा बुधबार सानदार सुरुआत गरेको छ । समूह–बी अन्तर्गत सुखद् नतिजा निकाल्ने क्रममा अस्ट्रेलियाले हरेक पक्षमा राम्रो प्रदर्शन गर्‍यो । सेन वाट्सनले अलराउन्ड प्रदर्शन गरे ।
टस जिती पहिला ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा
१ सय २१ रन मात्र जोड्न सक्यो । अस्ट्रेलियाले १५.१ ओभरमा मात्र तीन विकेट गुमाउँदै प्राप्तलक्ष्य पूरा गर्‍यो । विजयी टोलीका लागि प्रारम्भिक ब्याट्सम्यानद्वय वाट्सनले ५१ तथा डेभिड वार्नरले २६ रन जोडे । त्यस्तै क्यामरुन ह्वाइटले २२ र माइकल हसीले १० रन बनाए ।
ट्ेरन्ट जोनसनबाट रनआउट सिकार हुनुअघि ३० बलको सामना गरेका वाट्सनले ३० बलमा पाँच चौका र तीन छक्का प्रहार गरे । उनले वार्नरसँग ६१ रनको साझेदारी गरी अस्ट्रेलियालाई गतिलो सुरुआत दिलाएका थिए । जर्ज डक्रेलको बलमा केभिन ओ’ब्रायनद्वारा क्याचआउट हुनुअघि वार्नरले २३ बल खेल्दै चार चौका प्रहार गरेका थिए । अस्ट्रेलियाले १० अतिरिक्त रन पाएको थियो ।
यसअघि वाट्सनको तीन तथा मिचेल स्टार्कको दुई विकेटको सफलतापछि आयरल्यान्डले निर्धारित २० ओभरमा १ सय २१ रन मात्र जोड्न सक्यो । वाट्सनले चार ओभर बलिङ गरी २६ रन मात्र खर्चिएका थिए । त्यति नै ओभर बलिङ गरेका स्टार्कले २० रन खर्चिए । सुरुआती ३३ रन जोड्दा नै चार विकेट गुमाइसकेको आयरल्यान्डका लागि केभिन ओ’ब्रायनले सर्वाधिक ३५ रनको इनिङ खेले । त्यस्तै निआल ओ’ब्रायनले २० र एड जोयसले १६ रन जोडे । एलेक्स कुसाकले १५ रन बनाए ।

जिम्बावेविरुद्ध मेन्डिसको जादू
प्रतियोगिताको पहिलो दिन मंगलबार राति भएको खेलमा जिम्बावेलाई ८२ रनले पराजित गर्दै आयोजक श्रीलंकाले सानदार सुरुआत गर्‍यो । १ सय ८३ रनको लक्ष्य पछयाएको जिम्बावे अजन्था मेन्डिसले
४–०–८–६ को उत्कृष्ट बलिङ गरेपछि सस्तैमा समेटिएको थियो ।
जीवन मेन्डिसले २४ रन खर्चेर तीन विकेट लिएका थिए । जिम्बावेका लागि मासाकाजाले सर्वाधिक २० रन बनाएका थिए । त्यसअघि श्रीलंकाका लागि कुमारा संगाकाराले ४४ र जीवन मेन्डिसले नटआउट ४३ रन बनाएका थिए । एजेन्सी

प्रतिक्रिया