संघीयताको संख्यामा कुरा नमिले निर्वाचन

काठमाडौं, ३ साउन । एकीकृत माओवादी र मधेसी मोर्चाले संविधानका विवादित विषय अन्तर्गतका संघीयता राज्यको नाम र संख्यामा सहमति नहुँदा संविधानसभा पुनःस्थापना गर्न नसकिने निष्कर्ष निकालेका छन् ।
उनीहरुले विषयगत समितिको सुझाव अनुसार प्रमुख दलहरुका बीच सहमति हुन नसके नयाँ निर्वाचनमै जानुपर्ने जनाएका हुन् । उनीहरुले संविधानसभा पुनःस्थापना यथाअवस्थामा गर्न सम्भव नहरेको बताउँदै नयाँ निर्वाचनका लागि वातावरण बनाउने बताए ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको एमाओवादी र मधेसी मोर्चाको बैठकले विवादित विषयमा सहमति नजुट्दा सम्म संविधानसभा पुनःस्थापना गर्न नसकिने निर्णय गरेको नेताहरुले बताएका छन् ।
संविधानका विवादित विषयमा सहमति खोज्ने क्रममा संघीयताको संख्यामा दस देखि १४ प्रदेश सम्म हुनुपर्ने अडान दोहराउने उनीहरुले सहमति गरेका छन् ।
संविधानसभा अन्तर्गतको राज्य पुनःर्संरचना समबन्धी विषयगत समितिको प्रतिवेदनलाई आधार मानेर संघीय राज्यको संख्या निर्धारण गर्नुपर्ने एमाओवादी र मधेसी मोर्चाको माग छ ।
एमाओवादी र मधेसी मोर्चाको निर्णयसँगै प्रमुख दलहरुका बीच मुलुकलाई छिट्टै निकास दिने भन्ने सहमतिमा असर पर्ने भएको छ ।

प्रतिक्रिया