किन हुँदै छ नेपालको अधोगति ?

नेपालको अधोगतिको जिम्मेवारी अब कसले लिन्छ ? २०६३ सालपछि सत्ताकब्जा गरेका नेपाली कांग्रेस, नेकपा (एमाले), एनेकपा (माओवादी) हरू देशको अधोगतिको जिम्मेवारी लिन चाहँदैनन् । आफूहरूलाई संसद्वादी ठान्ने कांग्रेस, एमालेहरूले देशको संवेदनशीलता नबुझी माओवादीको छातामुनि विदेशीको इसारामा हिँडेकाले आफू त फसे नै सँगै मुलुक र जनतालाई पनि फसाए । २०६२ सालअघि भारतीय गुप्तचर संस्थाको संरक्षणमा अँध्यारोमा लुकेर बसेका माओवादी २०६२ सालपछि उज्यालोमा आए । भूमिगत अवस्थामा भारतीय गुप्तचर संस्थाबाट २०५९ सालपछि तालिम र सुरक्षाका साथ रहेको बेला नांगै नाचे पनि कसैलाई पत्तो हुँदैनथ्यो । २०६३ सालपछि राजासँग सम्झौता गरेर उज्यालोमा आएपछि माओवादी कहाँबाट संचालित रहेछन् भन्ने कुरा सबै छर्लंग हुँदै गयो । उल्यालोमा आउन सजिलो हुन्छ । तर उज्यालोमा आएपछि जे मनमा लाग्यो त्यही गर्न थाल्यो भने त्यो खतरनाक हुन्छ । माओवादी पलाप्पिएर जे पनि गर्न थालेपछि माओवादीको हालत नांगियो– विचारविनाको लुटाहा गैरजिम्मेवार पार्टी भएर । कांग्रेस र एमालेहरू ठूलो भाग खान माओवादीको काँध चढेर उज्यालोबाट अँध्यारोतर्फ लागेकाले त्यो आत्मघाती भएको छ । माओवादीको बाटो समातेकाले उनीहरू गन्तव्यहीन भएका छन् । तर, अझै उनीहरूले आफ्ना गल्ती सुधार्न खोजेका छैनन् ।
माओवादीका नेता प्रचण्ड र बाबुराम भट्टराईहरू भारतीयले उचालेको पत्ता पाएर यतिका वर्षपछि माओवादी फुटेको छ । तर, फुटेका माओवादी पनि अन्योलमा छन् । माओवादी फुटे पनि जुटे पनि नेपालको पहिचान, एकता र सार्वभौमसत्ता बचाउनेवाला छैनन् । भारतीय निर्देशनमा माओवादीले हिजो विद्रोहको स्वाँङ गरेर १७ हजारभन्दा बढी नेपाली जनता, प्रहरी र सेनाको प्रयोजनहीन हत्या गरे, बैंक लुटे, विकास–निर्माणका पूर्वाधार भत्काए, जलाए, नष्ट गरे । सार्वभौम नेपालको पहिचान र एकता समाप्त गर्न जनतालाई छक्याएर किन माओवादीले विदेशीको निर्देशनमा धर्मनिरपेक्ष, गणतन्त्र र जातीय आधारको संघीयता रोजे ? यो रहस्यमय कुरा अहिले खुलेको छ । नेपाललाई धर्मसंकटमा नपारी विदेशी र क्रिस्चियनहरूबाट सत्ता र पैसा पाउन नसकिने भएकाले माओवादीले देशद्रोहकै बाटो रोजेको हुनसक्छ । यस्तो अराजक राष्ट्रघाती बाटोको समर्थन गर्दै कांग्रेस, एमालेहरू किन माओवादीसँग मिल्न पुगे ? के कागलाई नुहाएर सेतो हुन्छ ? कांग्रेस र एमालेले देशको संवेदनशीलता बुझ्न नसकेकाले अहिले आपैँm अँध्यारोमा बामे सर्दै छन् । यो उनीहरूको ठूलो गल्ती हो ।
२०६३ वैशाख ११ गते राजासँग सम्झौता गरेर आन्दोलन रोकिएपछि त्यो सम्झौतालाई धोका नदिएर प्रजातान्त्रिक बाटो नछाडेको भए कांग्रेस, एमाले र माओवादीहरू समेतले यस्तो बदनाम हुनुपर्ने थिएन । भारतीय गुप्तचर संस्थाको आड र संरक्षणमा दिल्लीमा सम्पन्न १२ बुँदे सहमतिले नै संसदीय पार्टीहरू फसे । यी सबै कुकर्मको स्रष्टा डा. बाबुराम भट्टराई थिए । बाबुरामलाई नेपालका पहिचानहरू समाप्त पार्न धेरै पहिलादेखि भारतीय गुप्तचर संस्थाले प्रयोग गरेको रहेछ । भारतीय गुप्तचर संस्थाकै जोडमा उनी प्रधानमन्त्री बनेको एक वर्ष पूरा भयो । उनी प्रधानमन्त्री बनेका दिनदेखि नेपालका पहिचान, मान्यता र एकतालाई भत्काउँदै जसरी हुन्छ नेपाललाई क्रिस्चियनकरण गर्ने पक्षमा छन् । संविधानसभा उनी आपैँmले भंग गरेर सत्तामा अझै प्रधानमन्त्रीको कुर्सीमा टाँसिएर बसेका छन् । २०६२ सालदेखि माओवादीहरू अँध्यारोबाट उज्यालोमा प्रवेश गरेका र कांग्रेस र एमाले उल्यालोबाट अँध्यारोमा प्रवेश गरेका बेलादेखि यी सबै आन्दोलनकारी नेताहरू भीरमा फलेको कुभिन्डोजस्ता बनेका छन् । माओवादीका प्रचण्डको हालत लोग्नेले छाडेकी आइमाईको जस्तो भएको छ । रन्थनिएर कहिले एउटा कुरा बोल्छन्, भोलिपल्ट त्यसको खण्डन गर्छन् । उनले अर्बौं रकम हात पार्न सक्लान् तर त्यसबाट के गर्न सक्लान् र ? उता माओवादी फुटे पनि मोहन वैद्य र सिपी गजुरेलहरूको भविष्यको यकिन गर्न अहिलेसम्म सकेका छैनन् । उनीहरूको प्रस्तावित गोलमेच सम्मेलनले एउटा झिँगा मार्न सक्दैन । उनीहरूले पनि संघीयता, धर्मनिरपेक्ष र गणतन्त्रलाई आफ्नो एजेन्डा बनाएकाले प्रचण्ड र बाबुरामभन्दा विचारमा भिन्नता नदेखिएकाले यिनीहरूको फरक विचार प्रचण्ड र बाबुरामसँग खास देखिँदैन । त्यस्तै, कांग्रेसी नेता र एमालेहरू दाँत झरेका बाघजस्ता भएका छन् । राष्ट्रियता र प्रजातान्त्रिक बाटोलाई धमिल्याएकाले २०६३ सालपछिका नेताहरू जनताको नजरमा गिरेका छन् ।
माओवादी नेताहरू हत्यारा, अपहरणकारी, लुटेरालाई बोकेर हिँड्छन् । एमाले, कांग्रेसका जनजातिका केही छेपारे प्रवृत्तिका जनजातिहरू क्रिस्चियनको पारामा लागेर पार्टी छाड्न घुर्की लाउँदै छन् । जसले जति सफाइ दिन खोजे पनि यी सबै एउटै डयाङका मुला हुन् । हिजो जंगलमा रहँदा माओवादीलाई जति सजिलो थियो, अब प्रचण्ड, बाबुराम र मोहन वैद्यहरूलाई त्यस्तो सजिलो छैन । माओवादीको काँधमा चढेर सत्तामा पुगेका कांग्रेस र एमाले पनि झन् ठूलो संकटमा छन् । चीनका कम्युनिस्ट नेता माओत्सेतुङ सम्राज्यवादी शक्तिका विरुद्ध लड्दै अँध्यारोबाट उज्यालोमा फर्केर चीनलाई विश्वसामु चिनाउन सफल भए । अहिले चीनमा खुल्ला उदार नीति अवलम्बनको बाटो त्यसरी नै दिगो बनेको छ । तर, नेपालमा माओवादी, कांग्रेस, एमाले वा मधेसी जुन भने पनि सबै विदेशीका खेतालाजस्ता भएकाले नेपालको यो अधोगति भएको हो । पञ्चायत डुबाउने सूर्यबहादुर थापा हुन् भने बहुदलीय व्यवस्थालाई भ्रष्ट बनाएर डुबाउने गिरिजाप्रसाद कोइराला नै हुन् । गिरिजाको प्रवृत्ति बुझ्दा–बुझ्दै एमाले पनि त्यही भौडीमा फसेर बदनाम भयो । तर, २०४८ सालपछि राजनीतिक बाटो बिराएकाले २०४६ सालपछिका संसदीय भनिएका नेताहरूले आफ्ना सबै विश्वसनीयता गुमाइसकेका छन् । माओवादीलाई चिनेर पनि बुझ पचाउँदै काँधमा काँध मिलाएर हिँड्नु नै कांग्रेस र एमालेको ठूलो भूल थियो । ‘सय दिनको साधु एकपटकको चोर भनेझैँ अहिले कांंग्रेस, एमालेका नेताहरू जति नै चम्केर सहमतिको नाटक मञ्चन गरे पनि जनताले पत्याउनेवाला छैनन् । यिनीहरूको अहंकार बढेर देशको शिर निहुरिएको छ । पदको लालसा र पैसा नखाई कोही यसरी फस्न पुग्छजस्तो लाग्दैन । पैसा खाएर आमा बेच्नेहरूको स्थान कहीँ हुँदैन । वास्तवमा २०६३ सालपछिका अधिकांश नेताहरू कहाँबाट परिचालित छन्, कोबाट कति पैसा खाएर काम गर्छन् भन्ने कुरा सबैको सामु छर्लंग हुँदै छ ।
हो, काम गर्दै जाँदा गल्ती पनि हुन्छन् । गल्ती महसुस गरेर समयमै सुधार गर्नसक्ने क्षमता नेतृत्व पक्षमा हुनुपर्छ । तर, २०६३ सालपछि सत्तासीन भएकाहरू गल्ती महसुस गर्ने पक्षमा छैनन् । विदेशीहरू चाहन्छन्– नेपालमा जसले डाँका मार्न सक्छ, जोसँग गुन्डा छन्, जोसँग लुट्नसक्ने कार्यकर्ता छन्, उनीहरूलाई नेतृत्व तहमा पुर्‍याउँछन् र त्यस्ताहरूलाई नै प्रोत्साहन गर्छन् । त्यही घानमा हाम्रा सबै नेताहरू परे । यिनै २०४७ सालको संविधानका निर्माताहरू नै संविधानसभाबाट संविधान बनाउने भनेर कुर्लिए । धारामा पानी छँदाछँदै यिनीहरूले इनार खने । इनार प्रदूषणले भरियो । समयमा परिस्थितिको मूल्यांकन गर्न नसक्नेहरू यसरी आपैँm भासमा फसेका छन् । आखिरी संविधान नबनाई यिनीहरूले नै संविधानसभा भंग गराए । अहिले देश संविधानविहीन छ । संविधानसभाको विघटनपछि त्यसबाट निर्वाचित प्रधानमन्त्री, राष्ट्रपति सबैको हैसियत समाप्त भएको छ । र, अन्तरिम संविधानको औचित्य पनि समाप्त भएको छ । यस परिस्थितिमा देशलाई अझै भड्खालोमा पुर्‍याउन यिनीहरू अझै कहिले मरेको अन्तरिम संविधान ब्युँताउने, कहिले सहमतिको आधारमा अर्को मन्त्रिपरिषद् गठन गर्ने, कहिले नयाँ संविधानसभाको निर्वाचन गराउने भन्छन् । अन्तरिम संविधानको कुनै पनि धारामा माथि उल्लेखित प्रावधानहरू उल्लेख छैनन् । त्यसो भएकाले देशलाई निकास दिन २०४७ सालको संविधानलाई आधार बनाएर हिँड्नुबाहेक हामीसामु अरू कुनै विकल्प छैन । यसैबाट देश बाँच्न सक्छ ।

प्रतिक्रिया