व्यापारी अपहरणमा सशस्त्र प्रहरीका चारको संलग्नता

काठमाडौं, ३ असोज । सशस्त्र प्रहरी बलका तीन हवल्दार र एक जवान व्यापारी अपहरणमा संलग्न भएको पाइएको छ । व्यापारी अपहरण अभियोगमा भक्तपुरको दुवाकोटस्थित सशस्त्र प्रहरी बलको गुहयेश्वरी गणका चार प्रहरीसहित सातजना पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले २९ वर्षीय सशस्त्र प्रहरी हवल्दार गिरबहादुर पाण्डे, ३४ वर्षीय सशस्त्र प्रहरी सहायक हवल्दार रामबहादुर खत्री, ३४ वर्षीय सशस्त्र प्रहरी सहायक हवल्दार हरिकुमार थापा र २१ वर्षीय सशस्त्र प्रहरी जवान खेमराज गुरुङलाई पक्राउ गरेको हो । उनीहरूसँगै पक्राउ परेकामा २८ वर्षीय नीरज थापा, अनिल मिश्र र २३ वर्षीय युुगल पौडेल छन् । उनीहरूविरुद्ध २४ भदौमा खिचापोखरीस्थित पिपल्स प्लाजानजिकैबाट व्यापारी मालचन्द्र अग्रवाललाई अपहरण गरेको अभियोग लागेको छ । उनीहरूले अपहरणलगतै अज्ञातस्थलमा लगी अग्रवालका परिवारजनसँग फिरौती रकम मागेका थिए । तीन घन्टा अपहरणमा परेका अग्रवालका परिवारले दुई लाख फिरौती दिएपछि अग्रवाल मुक्त भएका थिए ।
‘उनीहरूले अग्रवाललाई आँखामा पट्टी बाँधीनजिकैको स्थानमा लगेर बन्धक बनाए अनि त्यही स्थानबाट परिवारका सदस्यलाई फोन गरी दुई लाख रुपियाँ लिएको पाइयो,’ सिआइबीका डिएसपी दिनेश आचार्यले भने ।
हवल्दार पाण्डे प्युठानको धर्मावती–४ का, सहायक हवल्दार खत्री दोलखा डाँडाखर्क–७ का, थापा रामेछाप सुकाजोर–६ पात्लेबेँसीका, गुरुङ ओखलढुंगा रावादोलु–३ बुक्तेलका तथा थापा र पौडेल गोंगबुका र मिश्र लमजुङ कुन्छा–३ का हुन् ।
फिरौती बुझाएर अग्रवाल अपहरणमुक्त भएको सूचना पाएलगतै सिआइबीले अनुसन्धान थालेको थियो । प्रहरीले पहिलो चरणमा गुरुङलाई पक्राउ गरेको थियो । गुरुङ पक्राउ परेपछि समूहमा रहेका अन्यको पनि संलग्नता खुलेको थियो । अनुसन्धानका क्रममा एक हवल्दार र दुई सहायक हवल्दार गणभित्रै रहेको खुलेपछि थप अनुसन्धानका लागि गणले प्रहरीलाई बुझाएको थियो ।
प्रहरीका अनुसार उनीहरूले यसअघि पनि दर्जनभन्दा बढी व्यापारीलाई धम्की दिई रकम असुलेका थिए । १० भदौपछि मात्रै उनीहरूले तीनभन्दा धेरै स्थानबाट रकम असुलेका थिए । उक्त अवधिमा मात्रै उनीहरूले व्यापारीलाई धम्की दिएर तथा बन्धक बनाएर २५ लाख रुपियाँ असुलेको पाइएको जानकारी डिएसपी आचार्यले दिए । उनले भने, ‘पैसा कमाउन सजिलो ‘एक्सेस’ हुने भएपछि उनीहरू यस्तो धन्दामा लागेको देखिन्छ ।’
प्रहरीका अनुसार थापाले काठमाडौंका व्यापारीको सूचना संकलन गरी पाण्डे समूहलाई दिन्थे । त्यही सूचनाका आधारमा उनीहरूले सशस्त्र प्रहरी बलको परिचयपत्र देखाउँदै धम्काउने, बन्धक बनाउने र रकम असुल्ने गर्थे । व्यापारीबाट असुल भएको रकमको आधा हिस्सा प्रहरी आपैँm राख्थे, आधा थापाका समूहलाई दिन्थे । डिएसपी आचार्यले भने, ‘थापाको समूह र हवल्दार पाण्डेको समूहबीच असुलउपर भएको रकम आधा–आधा गर्ने सहमति थियो ।’ उनीहरूलाई अपहरण तथा शरीर बन्धक ऐनअन्तर्गत आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं लगिएको छ ।

प्रतिक्रिया